नाउपालाई माओवादीमा समाहित गर्न रेशम चौधरीलाई प्रचण्डको आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको बताएका छन्। थारु मुक्ति मोर्चाको सम्मेलनलाई उद्‍घाटन गर्दै उनले संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उक्त कुरा उल्लेख भएको भन्दै नेपालको राजनीतिक परिवर्तनमा थारू समुदायले ऐतिहासिक बलिदानी गरेको बताए।

थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारू आयोगको व्यवस्था, थारूलाई मधेसी क्लष्टरबाट छुट्याउने, थारू समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थारू समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गरे।

‘थारू समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो। अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर थारू समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने। थारू समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रूपान्तरणको दिशामा अघि बढेकाले थारू समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे।

टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारूको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको बताए। उनले विगतमा माओवादीमा रहेर हालः अन्य दलमा पुगेका थारू अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारू अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गरे।

पहिलेको तुलनामा जिल्लामा कमैया कमलरी प्रथा कम भए पनि पहुँचवालाहरूले अहिले पनि कमलरी राख्ने गरेको उल्लेख गर्दै उनले सामन्तवादको अवशेषको रूपमा रहेको यो प्रथालाई पूरै उन्मुलन गर्न थारू समुदायबाटै सशक्त संघर्ष आवश्यक रहेको बताए। दाङका स्वर्गद्वारी गुठी पीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा प्रक्रिया अघि बढाएकै बेला सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको र हालः यसलाई अघि बढाउनुको साटो सरकारले किसानमाथि दमन प्रक्रिया सुरु गरेको आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले आफूले केही दिनअघि संसदको विशेष सम्बोधनबाट पनि आग्रह गरेको र यसमा हुने सडक संघर्षमा पार्टीको सहयो रहने प्रतिबद्धता व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *