कहिले हुँदैछ नाउपा र जनमतको एकीकरण? यस्तो छ तयारी

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले पार्टी एकताको तयारी सुरु गरेका छन् । नयाँ शक्तिहरूबीच विचारका आधारमा एकता गर्ने भन्दै दुई दलले एकीकरणको प्रक्रिया थालेका हुन् । त्यसैको तयारीस्वरूप जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीबीच मंगलबार काठमाडौंमा भेटघाट भएको छ ।

चौधरीले बिहीबार मात्र यसै विषयमा ४ जना संघीय सांसदहरूसँग कुराकानीसमेत गरेका छन् । यद्यपि पार्टी एकीकरणलगायतका एजेन्डामा छलफल गर्न यही फागुन २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाइएको चौधरीले बताए । पुराना पार्टीहरूप्रति जनता निराश भएको उल्लेख गर्दै चौधरीले भने, ‘मुद्दा मिल्ने नयाँ शक्तिहरू मिलेर जान्छौँ । जनमत मुद्दा मिल्ने,पहिचानको मुद्दा बोकेको पार्टी भएकाले एकताको तयारी गरेका हौँ । पुराना पार्टीहरूप्रति जनता निराश छन् । पार्टी एकीकरण र एजेन्डाबारे केन्द्रीय समिति बैठकले नै निर्णय गर्छ ।’

त्यस्तै जनमतले पनि पार्टी एकतालगायतका विषयमा छलफल गर्न बर्दिबासमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी महासचिव चन्दन सिंहले यही फागुन २५ र २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकतालगायतका विषयमा छलफल गर्ने बताए । ‘पहिचानका मुद्दा र संघीयतालाई बलियो बनाउन दुई पार्टीबीच एकताको तयारी थालिएको हो,’ महासचिव सिंहले भने । थारू, मुस्लिम, मधेशी, दलितलगायतका अधिकार स्थापनाका लागि दुवै पार्टी एकठाउँमा उभिन थालेको उनले बताए । उनले भने, ‘संघीयता र पहिचानको मुद्दा कमजोर बनाउन केही तत्व सल्बलाउन थालेका छन् । त्यसैले पनि मुद्दा मिल्ने र पहिचान पक्षधर शक्ति एकठाउँमा उभिनुपर्ने बेला आएको छ ।’

गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ । लुम्बिनीमा राप्रपाका पनि ४ सांसद छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *