रेशम चौधरीको पक्राउले संसदमा हंगामा, एमाले सांसद नै उत्रिए विरोधमा, प्रधानमान्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन्। सांसद चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै विरोध जनाए।
उनले तत्कालै त्यसबारे सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए। ‘हामी नागरिक उन्मुक्ति र जनमत पार्टीको एकताको तयारीमा थियौँ। तर एक्कासी हाम्रो नेता रेशम चौधरीलाई पक्राउ गरेर अपहरणको शैलीमा डिल्लीबजार पुर्याइयो। सर्वोच्च अदालत आफैँले फर्जी पत्रका कारण उक्त घटना भएको भनिसकेको छ,’ उनले भने, ‘तर सरकारले अहिलेसम्म पनि त्यसबारे के भएको हो ? सरकारले के गर्यो भनेर जवाफ दिएको छैन। पत्रपत्रिकामा पनि कतै आएको छैन । यसबारे भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नहुने हो भने हामी सरकारबाट बाहिरिन्छौँ।’
त्यस्तै नाउपा सांसद गंगाराम थारुले थारुहरुमाथि दमन र शोषण भएको बताए। रेशम चौधरीको प्रकाउले सम्मानित सर्वोच्च अदालत, सुरक्षा निकाय र सरकार पनि जवाफदेही हुनुपर्ने उनको माग छ। ‘सर्वोच्चको अनधिकृत पत्रले पहिचानवादी नेता रेशम चौधरी ५ घन्टा जेलमा बन्द हुनपर्यो। न्याय दिने सर्वोच्च अदालत, सुरक्षा दिने प्रहरी प्रशासन र देश चालाउने सरकारले जवाफ दिनुपर्छ। कि महिमानसिंह विष्टको मानसिक अवस्था ठीक नभएको करार गर्नुपर्यो कि सरकारले जवाफ दिनुपर्यो। यस घटनामा मुख्य अरु पनि हुन सक्छन्। यसको निष्कपक्ष छानबिन हुनुपर्छ। छानबिन नभए संसद अवरुद्ध पार्न बाध्य हुनेछौं,’ उनले भने।
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई पक्राउ गरेकोमा राज्यले जितेको महसुस गरेको अनुभूत भएको बताए। ‘रेशम चौधरी र सिकेराउतमाथि जुन व्यवहार भएको छ । त्यो जानेको, देखेकै हो’ उनले भने। यस किसिमको व्यवहारले आफूहरूले कहाँ न्याय पाउने? भन्दै उनले प्रश्न गरे। त्यस्तै सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे।
रास्वपाले माग्यो न्यायिक छानिबन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको पक्राउप्रति न्यायिक छानिबन माग गरेको छ। रास्वपाका सांसद शिव नेपालीले यस्तो माग गरेका हुन्। ‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु’ उनले भने।
एमाले सांसद भन्छन्- कानुनी राज्यको खिल्ली उडायो
नेकपा एमालेका सांसद हेमराज राईले रेशम चौधरीको पक्राउ प्रकरणले कानुनी शासनको खिल्ली उडाएको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीमाथि गैरकानुनी ढंगले पक्राउ गर्ने र पाँच/पाँच घण्टासम्म कारागारमा राख्ने कामले यो देशको कानुनी राज्य र सुशासनको खिल्ली उडाएको छ’, एमाले सांसद राईले भने। यो घटना वा प्रकरणका संलग्न व्यक्तिमाथि छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन उनको माग छ।
सरकारको जवाफदेहीता खै? : अब्दुल खान
जनमत पार्टीका सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग गरे। पार्टीका बीचमा एकता भइरहेका बेा पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको उनको आरोप छ। उनले सरकार अंक गणितमा बलियो देखिए पनि जवाफदेहीतामा शून्य भएको आरोप लगाए।
प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा पक्राउ गरियो : अमेश कुमार
सांसद अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर रेशम चौधरीलाई पक्राउ गरिएको दाबी गरे। कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ। उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’ उनले ती कर्मचारी कुन दलसँग आबद्ध थिए भन्दै प्रश्न गरे।
रेशम चौधरी पक्राउ प्रकरणमा उच्च छानबिन समिति गठन गरी प्रधान मन्त्री र गृह मंत्री मुछिए पदबाट राजिनामा दिनु पर्छ !