रेशम चौधरीको पक्राउबारे निष्पक्ष छानबिन गर्न नाउपा अध्यक्ष श्रेष्ठको माग

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ मा रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिन गरिदिन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पार्टीकी अध्यक्ष श्रेष्ठले सरकारसँग उक्त माग गरेकी हुन्।

‘म सरकारमा छु, सत्तापक्षमा छु तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो। प्रश्न गर्नु, प्रतिवादन गर्नु र न्यायको पक्षमा बोल्नु लोकतन्त्रको मर्म हो। सरकारसँग प्रश्न छ कसरी एक निर्वाचित प्रतिनिधि, जननेता एक कार्यक्रमस्थलबाट पक्राउ पर्छन्? कसरी राज्यका संयन्त्रहरूले व्यक्तिको रिसिइबीलाई कानुनभन्दा माथि राख्छन्?,’ श्रेष्ठले भनिन्।

उनले आफू आक्रोश नभई, आग्रह लिएर आएको बताइन्। ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु यो घटनाको गहिरो अध्ययन होस्, यहाँ केबल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ। वैशाख १७ मा भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्,’ उनले भनिन्।

पार्टी सरकारको जवाफको प्रतिक्षामा रहेको अध्यक्ष श्रेष्ठले बताइन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले वैशाख १७ मा पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको थियो। सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्र लिएर गएको प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *