सरकारको बचाउमा उत्रिइन् नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाइ भएको भन्दै छिटै पार्टी एकता हुने बताइन्।
पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर रहेकाले उनी काठमाडौं फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गरिने उनले बताइन्। अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको बताइन्।
सदनमा गृहमन्त्रीले नै जवाफ दिइसकेको अवस्थामा वर्तमान सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको उनले बताइन्। यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो।
यसैबीच उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रेशम चौधरी पक्राउमा राज्यको कुनै पूर्वाग्रह नभएको स्पष्ट पारेको उनले बताइन्। प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै रञ्जिताले नागरिकसँग भनेकी छिन्, ‘रेशमजी पक्राउमा राज्यको कुनै पूर्वाग्रह छैन। त्यो एउटा व्यक्तिको गल्तीले गर्दा घटेको घटना हो।’
रञ्जिताले पनि सरकार आफूहरूकै समर्थनमा रहेको बताइन्। ‘कुनै एक व्यक्तिको कारणले नै त्यो घटना घटेको हो। त्यसमा कसैले कसैलाई दोष दिन नमिल्ला। गल्ती गर्ने व्यक्ति अहिले थुनामा छ,’ उनले भनिन्।
Facebook Comment