राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी, बहुमूल्य पौराणिक गरगहना चोरियो

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार रुपैयाँ चोरी भएको हो।

‘घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले भने, ‘घरमा कोही नभएका बेला चोरी भएको भन्दै राज्यमन्त्रीज्युकी दिदीले निवेदन दिनु भएको छ।’

राज्यमन्त्री चौधरीले गत वैशाख ७ गतेदेखि घर खालीजस्तै भएको बताए। पछाडिको झ्याल फोडेर चोरी भएको उनले बताए। ‘वैशाख ७ गतेदेखि घर खाली थियो। हिजो दिदी घर सफा गर्न भनेर जानुभएको थियो। अनि बल्ल पो थाहा भयो, चोरी भएछ भनेर,’ उनले भने।
उनका अनुसार बहुमूल्य परम्परागत गहनाहरू चोरी भएको छ। ‘पुर्खाले साँचेर राखेका वर्षौं पुराना गरगहना बचाएर राखेका थियौं। सबै चोरले लगेछ,’ उनले भने।
राज्यमन्त्री चौधरीले १५-२० लाख जतिको गरगहना चोरी भएको अनुमान लगाए। जसमा केही सुनचाँदी पनि रहेको उनले बताए।

प्रहरीका अनुसार राज्यमन्त्री चौधरीको घरमा वैशाखदेखि कोही पनि थिएनन्। बर्दगोरिया गाउँपालिका-५ घर भएकी राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारी चौधरीले बुधबार आफू सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी थिइन्। चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *