नाउपालाई अर्को झट्का, बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अर्को झट्का लागेको छ। पार्टीका बाँके अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाँच दिनअघिमात्र कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए।
अहिले चन्तराम पुरानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले चन्तरामलाई पार्टीमा भित्र्याएका हुन्। चन्तराम गत २०७९ को संसदीय निर्वाचनमा बाँके क्षेत्र ३(१)बाट चुनाव पनि लडेका थिए। उनले ९, ५४७ मत ल्याएर तेस्रो बनेका थिए।
पछिल्लो समय नाउपाका नेता-कार्यकर्ताहरू पार्टी नेतृत्वप्रति असन्तुष्ट छन्। पार्टी संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच चलेको टकरावका कारण नेता-कार्यकर्ताहरूमा असन्तुष्टि छाएको हो। हालैमत्र पार्टीका केन्द्रीय सचिव ललित तम्राकारले पनि पार्टीबाट अलग भएको घोषणा गरेका थिए।
Facebook Comment