एथलेटिक्समा अनुजा चौधरीलाई स्वर्ण, लुम्बिनी बन्यो च्याम्पियन

लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा तेस्रो भयो।
१२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले एक एक स्वर्ण जित्यो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तिम दिन सामेबार छात्र/छात्रामा तीन तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। छात्र दुई सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए। उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे। मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए।
सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिइन्। कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बनिन्।
प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ०७.४ सेकेन्ड समय लगाए। कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे। छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भइन्।
छात्र चार गुणा एक सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रह्यो। छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात रहे।
Facebook Comment