सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति रुष्ट छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘संसदीय दलको बैठकको बहुमतको निर्णयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं।’

सात जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दल बैठकमा चार जना सांसद उपस्थित थिए। घनश्याम चौधरी, टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी बैठकमा उपस्थित थिए भने कैलाश चौधरी, खुसीराम डगौरा थारु र लक्ष्मणकिशोर चौधरी बैठकमा अनुपस्थित थिए। सरकारलाई पत्र दिने तयारी भइरहेको दलका नेता चौधरीले बताए।

यसअघि नै पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्ति गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *