ओली सरकारबाट बाहिरिने नाउपाको निर्णय, अरुण चौधरीले भोलि राजीनामा दिने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीबाट सरकारमा सहभागी भएका राज्यमन्त्री अरुण कुमार चौधरीले आइतबार राजीनामा दिने बताइन्। बैठकमा नाउपाका चारैजना सांसद उपस्थित थिए।
सुदूरपश्मिच प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको हो। नाउपा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि नै सरकारबाट बाहिरिने बताएका थिए। नाउपा संसदीय दलको बैठकले शुक्रबार नै सुदूरपश्चम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।
बैठकपछि अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशम चौधरीलाई सामाजिक सञ्जालमा नहोच्याउन आग्रह गरेका छन्। उनले रेशम चौधरी नागरिक मुक्ति आन्दोलनको आत्मा भएको उल्लेख गरेकी छन्। ‘हाम्रो संरक्षक रेशम चौधरीज्यू पार्टीको मात्र होइन, नागरिक मुक्ति आन्दोलनको आत्मा हुनुहुन्छ। उहाँलाई कुनै पनि किसिमको होच्याउने शैलीमा प्रस्तुत गर्नु पार्टीको आत्मालाई चोट पुर्याउने कार्य हो। उहाँ हाम्रो प्रेरणा हुनुहुन्छ, हामी उहाँकै मार्गदर्शन, नीति-निर्देशन र दूरदर्शी सोचअनुसार
पार्टीलाई अघि बढाइरहेका छौं,उनले भनेकी छन्।
उनले अब संवादको बाटोबाट अघि बढ्ने उल्लेख गरेकी छन्। अबको हाम्रो बाटो दोषारोपण होइन, संवाद हो। विचलन होइन, विवेक हो। हामी विगतका कमजोरीहरू स्वीकार्छौं, तर भविष्यमा तिनको पुनरावृत्ति हुन नदिने दृढ संकल्प लिन्छौं। सबै कार्यकर्ताको बलिदानको सम्मानसाथ हामी अझ मजबुत भएर एकतामा अघि बढ्नेछौं,’ उनले भनेकी छन्।
Facebook Comment