रामानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय अब प्रतिष्ठानमा रूपान्तरण हुने
थारू समुदायका अगुवा तथा थारू कल्याणकारीसभाका संस्थापक सदस्य रमानन्द सिंह थारूको सम्मानमा स्थापना गर्न लागिएको ‘रामानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’लाई प्रतिष्ठानमा रूपान्तरण गरिने भएको छ।
लहानमा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमितिद्वारा आयोजित ‘रामानन्द प्रसाद सिंह थारू भाषा-संस्कृति प्रतिष्ठान’ स्थापनार्थ सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशुकार सिंहले भने, ‘थारू समुदायका नेताहरूको आग्रहअनुसार अब सङ्ग्रहालय मात्र होइन, प्रतिष्ठानकै रूपमा विस्तार गर्ने निर्णय भएको छ। थारू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार दृढ छ।’
यसअघि मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सप्तरीमा ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’ स्थापना गर्ने उल्लेख गरिएको थियो। तर, थारू समुदायका अगुवाले केवल सङ्ग्रहालय नभई दीर्घकालीन अध्ययन, अनुसन्धान, संरक्षण र विस्तारको कार्य गर्न सक्ने प्रतिष्ठान स्थापनाको माग गरेपछि प्रदेश सरकारले त्यसलाई स्वीकार गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले आउँदो प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकमै ‘रामानन्द सिंह थारू भाषा-संस्कृति प्रतिष्ठान’ स्थापनाको निर्णय गर्न मुख्यमन्त्री शतिसकुमार सिंहलाई आग्रह गरेका थिए। प्रतिष्ठान स्थापना गर्नका लागि मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ लाख बजेट विनियोजन गरिसकेको छ।
यद्यपि थारू समुदायका अगुवाहरूले यो रकम परियोजनाका लागि अपुग भएको भन्दै बजेट थप गर्न माग गरेका छन्। थारू कल्याणकारिणी सभा, जिल्ला कार्य समिति, सिरहाका सभापति सत्यनारायण चौधरीले थारू समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र ऐतिहासिक सम्पदाको दिगो संरक्षणका लागि प्रतिष्ठान स्थापना अत्यन्त आवश्यक भएको धारणा व्यक्त गरे।
‘थारू समुदायको योगदानलाई राष्ट्रियस्तरमा स्थापित गर्न र भविष्यका पुस्तालाई आफ्नो मौलिकता, इतिहास र संस्कृति बुझाउन प्रतिष्ठान स्थापना अनिवार्य छ। सङ्ग्रहालयले वस्तुहरू देखाउन सक्छ, तर प्रतिष्ठानले त्यसको अध्ययन, अनुसन्धान र दस्तावेजीकरण गर्छ। त्यसैले हामीले सङ्ग्रहालयभन्दा बढी प्रतिष्ठानको आवश्यकता महसुस गरेका हौं,’ उनले भने। चौधरीका अनुसार प्रतिष्ठानमार्फत थारू भाषाको संरक्षण, लिपिको पुनःस्थापना, मौखिक इतिहासको दस्तावेजीकरण, थारू साहित्य, गीत-संगीत र कलासंस्कृतिको प्रचारप्रसार गर्न सकिनेछ।
सर्हानीय काम