थारू आयोगका कार्यवाहक अध्यक्ष र सदस्यविरुद्ध अर्का सदस्य शान्ती मोदीले प्रहरीमा बुझाइन् जाहेरी

थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य भोलाराम चौधरीविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। आयोगकी सदस्य शान्ती मोदीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दिएकी हुन्।
हस्ताक्षर कीर्ते गरेको भन्दै आयोगकी सदस्य मोदीले मुलुकी अपराध संहिता २०७४ परिच्छेद-२५ दफा २७६ बमोजिम उनीहरुविरुद्धको जाहेरी परिसरमा बुझाएकी हुन्।

घटना के हो?
आयोगको सातौं वार्षिक प्रतिवेदन प्रकाशनका निम्ति २०८२ असोज ५ गते बसेको बैठकमा सदस्य मोदीले फरक मत राखेकी थिइन्। तर, त्यसका बावजुद प्रकाशनबारे जानकारी पनि नदिएको र कार्यवाहक अध्यक्ष र सदस्यको सहमति र मिलेमत्तोमा आयोगको भनाइ खण्ड (१०औं)मा आफ्नो हस्ताक्षर कीर्ते गरी मुद्रण गरिएको जाहेरीमा उल्लेख छ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद-२५ दफा २७६ को उपदफा (१) बमोजिमको समेत अपराध गरेकाले संहिताको सोही दफाको उपदफा (३) को देहाय (ग) बमोजिमको सजाय दिन माग गरिएको छ।

यस विषयमा आयोगकी सदस्य मोदीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको पुष्टि गरिन्। ‘हो, मेरो हस्ताक्षर कीर्ते भएको पाएपछि मैले काठमाडौं प्रहरी परिसरमा जाहेरी बुझाएकी हुँ,’ थारुवानसँग भनिन्। उनले परिसरका प्रवक्ता पवनकुमार भट्टराईलाई जाहेरी बुझाएको बताइन्।

सदस्य मोदीले ५ असोजको बैठकमा थारू आयोग ऐन २०७४ दफा १३ (३) बमोजिम बैठक नबसी मिति र दर्ता नं र चलानी नं समेत नलेखी आदेशात्मक ढंगबाट सोही ऐनको उपदफा (२) र (९) को उल्लंघन गरेको भन्दै ‘नोट अफ डीसेन्ट’ लेखेकी थिइन्। उनले आयोगका सञ्चालन भएका केही कार्यक्रमलाई पनि अवैध भएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएकी थिइन्।

‘त्यति सचेत गराउँदा पनि उहाँहरू गैरकानुनी कार्य गर्नबाट पछि हट्नु भएन। बाध्य भएर मैले जाहेरीको बाटो रोजेको हुँ,’ उनले भनिन्। यद्यपि जाहेरीबारे प्रहरीले अनुसन्धान गरेरमात्रै प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।
यस विषयमा आयोगका सदस्य भोलाराम चौधरीसँग बुझ्दा ‘जाहेरी दिएर राम्रै गर्नुभयो’ भन्ने प्रतिक्रिया दिनुभयो। ‘अब कानुनी प्रक्रिया अघि बढ्छ होला। कानुनी रूपमा को बलियो छौं, अब थाहा हुन्छ होला नि त,’ उनले भने। यस विषयमा बुझ्न खोज्दा कार्यवाहक अध्यक्ष सुवोध सिंह थारूको फोन भने उठेन।




One thought on “थारू आयोगका कार्यवाहक अध्यक्ष र सदस्यविरुद्ध अर्का सदस्य शान्ती मोदीले प्रहरीमा बुझाइन् जाहेरी

  1. Forging a signature is considered a form of fraud. It involves deceiving others by falsely representing someone’s authorization or consent, which is illegal and can result in various legal consequences, including fines and imprisonment.So Both can be imprisoned if it’s proof.

Leave a Reply to Hem Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *