ओलीविरुद्ध बोलेपछि एमालेबाट निकालिए द्वारिकालाल चौधरी

नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीको नीति र नेतृत्वप्रति अनास्था फैलाएको भन्दै प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ । हालै सम्पन्न प्रदेश कमिटीको नवौं पूर्ण बैठकले चौधरीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै ६ महिनाका लागि पार्टी सदस्यतासमेत निलम्बन गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको आरोप चौधरीमाथि छ । पटक-पटक सम्झाउँदा समेत उनले आफ्नो कार्यशैलीमा सुधार नल्याएपछि कारबाही गर्नुपरेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले अन्य नेताहरूमाथि पनि अनुशासनात्मक कारबाही अघि बढाएको छ । सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै बद्री विशाल पोखरेल र काशीनाथ दंगाललाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

उनीहरूले ‘जेनजी’आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गरेको प्रदेश कमिटीले ठहर गरेको छ । पार्टीका प्रदेश सल्लाहकार सदस्य मनोरथ तिवारीलाई पनि सल्लाहकारबाट हटाइएको छ । ‘जेनजी’ आन्दोलनमा सहभागी भएको र नेताहरूको घरमा ढुङ्गामुढा गरेको भिडियो सार्वजनिक भएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । तर, स्पष्टीकरण नदिएपछि उनलाई निलम्बन गरिएको अध्यक्ष खतिवडाले बताए ।




One thought on “ओलीविरुद्ध बोलेपछि एमालेबाट निकालिए द्वारिकालाल चौधरी

Leave a Reply to Jay prakash chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *