सीमामा सरकारको अनावश्यक कडाइ : प्रत्यक्ष मारमा स्थानीय, सदियौंदेखिको सम्बन्धमा पनि चुनौती
नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो सदियौंदेखि विकसित भएको सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्बन्धको अद्वितीय उदाहरण हो। खुला सीमाना, रोटी-बेटी सम्बन्ध र साझा सभ्यता-संस्कृतिले दुई देशलाई एकअर्कासँग गहिरोसँग जोड्दै आएको छ।
दुवै देशबीच १८०० किलोमिटरभन्दा बढी खुला सीमा रहेको छ, जहाँ नागरिकहरू बिना भिसा सहज रूपमा आवत–जावत गर्दै आएका छन्। सीमा क्षेत्रका बासिन्दाबीच वैवाहिक सम्बन्ध (रोटी–बेटी सम्बन्ध) मात्र होइन, चाडपर्व, भाषा, भेषभूषा र परम्परामा समेत समानता पाइन्छ। मिथिला, थारू, अवधी, भोजपुरी लगायतका सांस्कृतिक क्षेत्रहरू दुवैतर्फ फैलिएका छन्, जसले सीमालाई केवल भौगोलिक रेखा मात्र बनाएको छ।
आर्थिक रूपमा पनि नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त निकट छ। नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्रीमा नेपाल धेरै हदसम्म भारतमै निर्भर रहँदै आएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाका लागि भारततर्फका बजारहरू दैनिक उपभोगका वस्तु, रोजगारी र सेवाका प्रमुख स्रोत बनेका छन्। कतिपय नेपालीहरू भारतमा रोजगारीका लागि जाने गरेका छन् भने भारतीय नागरिकहरू पनि नेपालमा व्यापार र सेवामा संलग्न छन्।
यति घनिष्ठ सम्बन्धका बाबजुद पछिल्लो समय सीमा क्षेत्रमा सरकारले कडाइ बढाएपछि अवस्था जटिल बन्दै गएको छ। आवत-जावतमा लगाइएको नियन्त्रण, विशेषगरी सवारीसाधन आवत-जावतमा गरिएको रोकटोकले स्थानीय बासिन्दाको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको छ। जहाँ पहिले सहज रूपमा किनमेल, स्वास्थ्य सेवा, शिक्षा वा पारिवारिक भेटघाटका लागि सीमा पार गरिन्थ्यो, अहिले त्यही प्रक्रिया झन्झटिलो र समयखप्ने बनेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, सीमा वारिपारि आवत-जावतमा समस्या उत्पन्न हुँदा उनीहरूको जीविकोपार्जनमै संकट देखिन थालेको छ। साना व्यापारी, दैनिक ज्यालादारीमा निर्भर कामदार तथा सीमापार सेवा लिने-दिने समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्। कतिपय क्षेत्रमा भारतीय बजार नै ‘लाइफलाइन’ को रूपमा रहेको अवस्थामा त्यसमा अवरोध आउँदा स्थानीय अर्थतन्त्र नै प्रभावित भएको उनीहरूको गुनासो छ।
सामाजिक रूपमा पनि यसको प्रभाव देखिन थालेको छ। विवाह, नातागोता, चाडपर्व तथा पारिवारिक सम्बन्धमा आधारित आवत-जावतमा अवरोध हुँदा मानिसहरूबीच दूरी बढ्ने चिन्ता व्यक्त गरिएको छ। स्थानीय बुद्धिजीवीहरू भन्छन्, ‘राजनीतिक निर्णयले सदियौंदेखि कायम रहेको सामाजिक सम्बन्धलाई कमजोर पार्न नहुने हो।
विशेषज्ञहरूका अनुसार नेपाल-भारत सम्बन्ध बहुआयामिक छ। ती आयामहरू परस्पर गाँसिएका छन्। त्यसैले कुनै एक क्षेत्रमा कडाइ वा असन्तुलन आउँदा यसको प्रभाव अन्य क्षेत्रमा पनि स्वतः पर्न जान्छ। स्थानीय बासिन्दा र सरोकारवालाहरूले सरकारसँग सीमा व्यवस्थापनमा संवेदनशीलता अपनाउन आग्रह गरेका छन्। उनीहरूको भनाइमा, सुरक्षा र व्यवस्थापन आवश्यक भए पनि स्थानीयको जीवनशैली, परम्परागत सम्बन्ध र आर्थिक आवश्यकतालाई ध्यानमा राखेर नीति निर्माण गरिनु अपरिहार्य छ।
Facebook Comment