सखिया नाचको सौन्दर्यशास्त्रीय विश्लेषण
शत्रुघन चौधरी
नेपालको रैथाने आदिवासी जनजातिहरूमध्ये थारू समुदाय सांस्कृतिक दृष्टिकोणले अत्यन्तै समृद्ध मानिन्छ। भाषा, कला, सस्कृति, परम्परा र भेषपुषा अत्यन्त पृथक रहेको थारू समुदाय लोक संस्कृतिका लागि अत्यन्त वैभवशाली मानिन्छ। थारू समुदायको जीवनपद्धति पूर्णरूपमा प्रकृति, श्रम, कला र अध्यात्मसँग एकाकार भएको पाइन्छ। यिनकै सुन्दर सम्मिश्रणले उनीहरूको हरेक दैनिक क्रियाकलापलाई उत्सव र सौन्दर्यमय बनाएको हुन्छ।
थारू लोकजीवनमा वर्षैभरि मौसम, प्रहर र चाडपर्व अनुसार फरक-फरक लोकभाका र गीतहरू गाउने विशिष्ट परम्परा छ। उदाहरणका लागि, चैत–वैशाखको सुक्खायाममा ‘सजना’, वर्षात्को समयमा ‘बहला झुल्ना’, जेठको गर्मीमा ‘सजनी’, र वर्षैभरि जुनसुकै समयमा गाइने ‘बरमासा’ लोकप्रिय छन्। दिउँसोको समयमा ‘दिननचवा’, मध्यरातमा गाइने ‘अधरिया’, बिहानपखको ‘विहगरा’, असार–साउनको खेतीपातीमा ‘सिङ्गरु’, अष्टीम्की पर्वमा ‘अष्टमीकी गीत’, भदौ–असोजमा ‘बर्कीमार’, माघको नयाँ वर्षमा ‘ढमार’ र ‘मघौटा’, विवाह उत्सवमा ‘माँगर’ तथा फागु पूर्णिमाको अवसरमा ‘ढुरहेरी’ गीत गाइन्छ। यी र यस्ता खालका मौसम र चाडपर्वको यो चक्रले थारू समुदायको गीत-संगीत र लोकसाहित्यमा समृद्ध रहेको कुरा पुष्टि हुन्छ।
थारू समुदायमा रहेको अनगिन्ती लोक सस्कृतिमध्ये ‘सखिया नाच’ यस समुदायको विशिष्ट, भव्य र जीवन्त सांस्कृतिक धरोहर हो। विशेषगरी पश्चिम तराईका दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा सखिया नाच नाचिन्छ। जसमा परम्परागत कला र सौन्दर्यको अनुपम दृश्य देख्न सकिन्छ। ‘सखिया’ शब्दको उत्पत्ति ब्रजभाषाको ‘सखी आ’ वा ‘सखींआ’ बाट भएको मानिन्छ। जसको अर्थ ‘साथी वा सङ्गीनीहरू आऊ’ भन्ने हुन्छ। थारू समुदायमा महिलाहरूले आफ्ना सङ्गीनीहरूलाई ‘सखी’ भनेर सम्बोधन गर्ने हुनाले साथीहरू मिलेर सामूहिकरूपमा नाचिने भएकाले यसलाई ‘सखिया’ भनिएको हो।
ऐतिहासिक र धार्मिकरूपमा यो नाच थारू समुदायको दैनिकी, जीवनयापन, रहनसहनसँग जोडीएको छ। सखिया गीतमार्फत थारूहरूको जीवनशैली बोलिएको हुन्छ। जुन परापूर्वकालदेखि मौखिकरूपमा गाइँदै आएको छ। यो नाच केवल मनोरञ्जनको साधन मात्र नभई थारू समुदायको इतिहास, सामाजिक समावेशिता र सामूहिक सौन्दर्यको एउटा विशिष्ट उत्सव पनि हो। थारूहरूको पुख्र्यौली पेशा कृषि हो। सखिया नाच पनि कृषिपेशासँग जोडिएको छ। यो कुरा सखिया गीतको भावले पनि दर्शाउँछ। धान रोपाइँ सकिएपछि खेतीपाती राम्रो होस्, महामारी नफैलियोस् र किरा-फट्यांग्राले बालीनाली नष्ट नगरोस् भन्ने उद्देश्यले गरिने ‘हरेरी पूजा’सँगै सखिया नाच सुरु हुन्छ। कतिपय गाउँमा अष्टीम्की वा अटवारी पर्वपछि यसको अभ्यास सुरु हुन्छ। उसो त बडादसैं (डसिया)को आगमनसँगै यो नाच गाउँ-गाउँमा धुमधामका साथ प्रदर्शन गरिन्छ। दसैँ सकिएको केही दिनपछिसम्म पनि सखिया नाच्ने प्रचलन छ।

नाचको चरणबद्ध प्रक्रिया
सखिया नाचको सुरुवात, उठान र समापनको आफ्नै विशिष्ट नियम र प्रक्रिया छ। सखिया नाच सिलसिलाबद्ध, अनुसाशित एवं व्यवस्थित प्रक्रियाबाट अगाडि बढेको हुन्छ। यो नाचलाई मुख्यतः ६ चरणमा विभाजन गरेर हेर्न सकिन्छः
वाद्यवादन फुकुवा र अनुष्ठान: फागु खेलेपछि सबै किसान खेतीपातीमा व्यस्त हुन्छन्, जसका कारण गाउँघरमा केही महिनाक ालागि बाद्यवादन बन्द गरिएको हुन्छ। धान रोपाइँ सकिएपछि गाउँको परम्परागत आध्यात्मिक अगुवा ‘देशबँधिया गुरुवा’ को नेतृत्वमा देवथान ‘मरुवा’मा विशेष पूजा ‘हरेरी पूजा’ गरिन्छ। पूजाको क्रममा गाउँभरिका सबै मादल, मन्जिरा र कस्टार झालजस्ता वाद्यवादनहरू भेला पारेर तान्त्रिक मन्त्रद्वारा पवित्र पारिन्छ। यस पूजामा गुरुवा आफैँ विशेष तालमा नाचेर सुसुवाएपछि वाद्यवादन फुकुवा भएको संकेत मिल्छ र सखिया नाचको औपचारिक बाटो खुल्छ।
सिकारु (अभ्यास) चरण: सुरुवाती दिनहरूमा हरेक बेलुकी गाउँका भलमन्सा वा महटाँवाको घरको आँगनमा युवतीहरू भेला भएर १-२ घण्टा नाच सिक्ने र सिकाउने काम गरिन्छ। यस चरणमा मादले र नर्तकीहरू सामान्य, अनौपचारिक पोशाकमै सहभागी हुन्छन्। सुरुवाती चरण भएकाले सबैजना नाच्नमा अभ्यस्त भैसकेका हुदैनन्, यसकारण यसलाई सिकारु चरण मान्न सकिन्छ।
फर्सीको पातको मन्जिरा: सुरुवाती दिनहरूमा धेरैजसो युवतीहरूसँग धातुको मन्जिरा उपलब्ध नहुने हुनाले महताँवाको घरको छानामा लपक्क बढेको फर्सीको लहराबाट पातहरू टिपेर, त्यसैलाई मन्जिराको रूपमा हातमा लिएर नाच्ने अनौठो र सुन्दर परम्परा छ। यो प्रक्रियाले थारू समुदायको प्रकृतिसँगको सामीप्यता र कलात्मक सिर्जनशीलतालाई दर्साउँछ।
वास्तविक मन्जिरा र गहनाको प्रवेश: केही दिनको अभ्यासपछि नृत्य र गायनमा निपुणता आएपछि धातुको फुन्नादार मन्जिरा तयार पारिन्छ र औपचारिक रूपमा गहना र पोशाक सहितको नाच सुरु हुन्छ।
ढुर झार्ने (घर-घरमा प्रदर्शन): दसैँको महाअष्टमी (ढिकरहरवा) र महानवमी (पिट्रहवा)को रात सखिया टोली गाउँका हरेक घर–घरमा पुगेर रातभर नाच प्रदर्शन गर्छन्। हरेक घरमा गई सखिया नाचेर रमाइलो गरिन्छ, यस प्रक्रियालाई थारू भाषामा ‘ढुर झाने’ भनिन्छ।
अन्तिम समापन: विजयादशमी (टीका)को दिन बेलुकी गाउँका अगुवा ‘बरघर’को आँगनमा पुगेर मादलका २२ वटै ख्वााँठ (ताल) र पैँयाका सबै चालहरू प्रदर्शन गर्दै विशेष पूजापाठ गरी यो नाचको विसर्जन गरिन्छ।
गीतको लय, भाका र कथावस्तु
सखिया गीतको लोकभाका असाधारण रूपमा विशाल र लामो काव्य कोटीमा पर्छ.। यस गीतमा करिब २६५० वटा श्लोकहरू छन्। यो थारू समुदायकै सबैभन्दा लामो समयावधिसम्म चल्ने महाकाव्यात्मक संगीत हो। यी हजारौँ श्लोकहरूमा सृष्टिको गाथासहित थारू लोकजीवनका गाथाहरू समेटिएका छन्। यसमा ग्रामिण परिवेशमा कान्हाको जन्मदेखि वयस्क उमेरमा उनले देखाएका अदभूत् शक्ति र कलाकौशलका बारेमा वर्णन गरिएको छ। null
सखिया गीतको गायन शैलीमा मिठास भरिएको हुन्छ। सामूहिकरूपमा गोलो घेरामा नाच्दा युवतीहरू दुई समूहमा विभाजित हुन्छन्। पहिलो समूहको नेतृत्व ‘मोरहिन्या’ (मुख्य नाइके)ले गर्छिन् भने दोस्रो समूहको नेतृत्व ‘पछ्गिन्या’ (सहायक नाइके)ले गर्छिन्। मोरहिन्याको समूहले गीतको उठान गरेर गाएपछि दोस्रो समूहले त्यसको लय छोप्छन र पालैपालो गीत गाउने क्रम अगाडि बढ्छ। नाचको प्रारम्भमा देवी–देवताहरूको स्तुती गरिने ‘सुमरौती गीत’ गाइन्छ। जसमा पूर्वमा सुरज, पश्चिममा देवी, उत्तरमा हरिकविलास र दक्षिणमा शिउजगरनाथजस्ता चारै किल्लाका देवी–देवताहरूको पुकारा गरिन्छ। यसरी सुम्रौती गीत गाउँदा सखियाको सबै श्लोकहरू कतै नअड्किइकन माला उनेसरी सरसरती आओस् र कसैको स्वर नबिग्रियोस् भनि कामना गरिन्छ।
सौन्दर्यशास्त्रीय अवयवहरू
सखिया नाचको शौन्दर्यशास्त्रीय अवयवहरू त्रिकोणात्मक रहेको पाइन्छ। पहिलो, आंगीक शौन्दर्य हो, जसमा बाजाको तालको पदचापसँगै जिउडाल चलाउने, हाउभाउ देखाउने कला निहित हुन्छ। दोस्रो, दृश्य शौन्दर्य, जसमा मादले र नर्तकीहरूको पहिरन र गरगहनालाई लिन सकिन्छ। तेस्रोमा ध्वन्यात्मक शौन्दर्य रहेको छ। यसमा मादलको विभिन्न तालबाट आकर्षक ध्वनि उत्पन्न हुन्छ। मादल र मन्जिराको ध्वनीले मिठास ल्याउने गर्छ, जसले दर्शक–श्रोतालाई मन्त्रमुग्ध बनाउँछ।
आंगीक सौन्दर्य
सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट सखिया नाचको प्रदर्शनकारी पक्ष अत्यन्तै अनुशासित, सन्तुलित र लयबद्ध हुन्छ। यस नृत्यमा सहभागी नर्तकीहरू (बठिनियाहरू) दुई, चार वा छ वटा सीधा र समानान्तर लाइनमा जोडा संख्यामा उभिन्छन्। लाइनको सबैभन्दा अगाडि समूहको नेतृत्व गर्ने अनुभवी युवती ‘मोरहिन्या’ हुन्छिन्। मोरहिन्याले गीत र मादलको ताललाई पछ्याउँदै जुन पदचाप र हाउभाउ प्रदर्शन गर्छिन्, पछाडिका अन्य युवतीहरूले दुरुस्तै त्यही तालमा हात र गोडाहरू चाल्छन्।
नृत्य चलिरहँदा सबै नर्तकीहरूको हात, गोडा र जीउको चाल एउटै गतिमा चल्छ। सीधा लाइन कति पनि बाङ्गो नहुनु, सबैका आँखाहरू र हातका मुद्राहरू एकैसाथ बदलिनु र जीउको लचकदार चालले गर्दा यो दृश्य कुनै अनुशासित र पोख्त सेनाको बटालियनको कवाज (परेड) भन्दा कम आकर्षक देखिँदैन। गायन र नृत्यको यो आंगिक सन्तुलनले मानव जीवनका संवेगहरूलाई कलात्मकरूपमा अभिव्यक्त गर्छ।
वाद्यवादन र ध्वन्यात्मक सौन्दर्य
यस नाचको मुख्य प्राविधिक शिल्प मादलको विशिष्ट आवाजको चरण अर्थात् ‘ख्वाँठ’ हो। सोही ख्वाँठको तालमा नाचिने शारीरिक चालमा ‘पैँया’को सन्तुलन मिलाइएको हुन्छ। सखिया नाचमा कूल २२ वटा फरक–फरक ख्वााँठ वा तालहरू बजाउने गरिन्छ। यी बाइस ख्वााँठहरूमा विशेषगरी झ्वाङ, घुमैरा एकसरा, घुमैरा दुइसरा, नक्ति बुडी, चोल बुडी मड पिए, मेँरि घुमैना, मुगी लरैना, महोटिया, एक खुट्टे फङछिरुवा, टिन टिनठो, रगेट्वा, कन्ठोख्वा, गोरपासु, कुल्वा फट्कना, धान बैठैना, मघौटा, बन्ढुटिया, उरन्टा, भाटु रामराम, फ्वाङ छिरुवा, गाउँ डुहना र परिउना घुर्कनना पर्छन्।
यी प्रत्येक ख्वााँठको आफ्नै विशिष्ट लय र सोही अनुसार नृत्यको चाल फरक–फरक हुन्छन्। नृत्यको बीच–बीचमा मुख्य मादलेले ‘जौने हाथ जौने गोर’ (जुन हात, त्यही खुट्टा) भन्दै नर्तकीहरूलाई ताल र सुर मिलाउन निर्देशन दिइरहन्छन्। मादलको घन्किँदो गम्भीर आवाज, धातुको फुन्नादार मन्जिराको ‘छुनछुन’ ध्वनि र युवतीहरूको स्वरको त्रिवेणीले दर्शकलाई मन्त्रमुग्ध बनाउने ध्वन्यात्मक सौन्दर्य पैदा गर्छ।
दृश्य सौन्दर्य (पहिरन र गहना)
दसैँको समयमा सखिया नाचको दृश्य सौन्दर्य चरम उत्कर्षमा पुग्छ। नर्तकी युवतीहरू परम्परागत सेतो फरिया (लेहङ्गा), रातो चोली र टाउकोमा रातो रिबन वा झोबन्ना बाँधेर सजिन्छन्, उनीहरूले शिरदेखि पाउसम्म थारू बुट्टा र शिल्पका अनुपम चाँदीका गरगहनाहरू पहिरिन्छन् जसमा नथिया, झुमका, सुटिया, टँरिया, बाला, बाँक, बिजायठ, हुमेल, कन्सेहरी, फोँफी, कारा, घुंघना, विछिया, मुन्द्री र पैँरी आदि समावेश हुन्छन्। यसरी गरगहना तथा गल्टाको लेहगा चोलियामा युवतीहरू नवदुलहीजस्तै सजिएर नृत्य गर्दा देखिने शौन्दर्यको बयान जति गरे पनि कम हुन्छ।
पुरुष मादले (मदरिया)हरू पनि उत्तिकै सजधजका साथ सेतो सर्ट वा झुलुवा, धोती, टोपी र घाँटीमा ‘बेबरी’ (डौना)को माला लगाएर भद्ररूपमा प्रस्तुत भएका हुन्छन्। उनीहरूले आफ्ना मादललाई समेत रंगीचिंगी झाली र बुट्टेडार कपडाले बेरेर कलात्मकरूपमा सजाएका हुन्छन्। नर्तकीहरूले हातमा लिएका रंगीबिरंगी कपडा वा प्लास्टिकका फुर्काहरू हावामा फहराउँदै नाच्दा सिंगो आँगन नै एक अलौकिक र रंगमय क्यान्भासजस्तै देखिन्छ।
सामूहिकता र सामाजिक सद्भाव
सौन्दर्य भनेको केवल बाह्य रूपरंगमात्र नभई सामूहिक भावनाको कलात्मक अभिव्यक्ति पनि हो। सखिया नाचको सबैभन्दा ठूलो सौन्दर्य नै सामूहिकता र सामाजिक एकतामा निहित हुन्छ। जुन सखियामा प्रष्टरूपमा पाउन सकिन्छ। गाउँका साना–ठूला, विवाहित, अविवाहित र विशेष गरी नवविवाहित युवतीहरूको सामूहिक सहभागिताले यस नाचलाई सामाजिक समावेशिता र लैङ्गिक समानताको उत्कृष्ट नमूना बनाउँछ।
सखिया नाचको लाइनको सबैभन्दा पछाडि कम उमेरका बालिकाहरू बस्छन्, जसले गर्दा उनीहरूले खेल्दै–हाँस्दै सहजै नृत्य सिक्ने अवसर पाउँछन्। सांस्कृतिक मूल्यमान्यताको पुस्तान्तरण पनि सहजरूपमा हुँदै जान्छ। यस नाचमा धनी, गरिब, ठूलो वा सानो जात भन्ने कुनै भेदभाव हुँदैन। महाअष्टमीको रात घर–घरबाट प्रसाद स्वरूप संकलन गरिने ‘भेरुवा परिक डारु’ (देवतालाई चढाएको विशेष रक्सी) बाँडीचुडी खाने प्रचलन र दसैँपछि नाचको क्रममा संकलित कोषबाट माछा तथा अन्य परिकारहरू तयार पारी सामूहिकरूपमा भोज खाने चलनले आपसी भाइचारा र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँछ।
आध्यात्मिक तथा सांस्कृतिक चेतना
सखिया नाचको सौन्दर्य थारू समुदायको धार्मिक र तान्त्रिक विश्वाससँग जोडिएको छ। यसलाई एक संवेदनशील तान्त्रिक नाचको रूपमा हेरिन्छ। गाउँको गुरुवाको अनुमति र विशेष अनुष्ठानबिना कसैले पनि आफूखुसी यो नाच आयोजना गर्न पाउँदैन। परम्परा बिर्सिएमा वा नियम उल्लंघन गरेमा गाउँमा अनिष्ट हुनसक्ने जनविश्वास रहेकाले यसको हरेक नियम र प्रक्रिया अत्यन्तै अनुशासित ढंगले अबलम्बन गरिन्छ।
नृत्य सुरु गर्दा बजाइने मादलको ‘त्रासन’ ताल यति शक्तिशाली हुन्छ कि त्यसको कम्पन सुनेर युवा पुरुषहरू काँप्न र उफ्रिन थाल्छन्, जसलाई देवी–देवता ब्युँझाएको मानिन्छ। नृत्य चल्ने हरेक रात गुरुवा नाच टोलीको ‘रक्षा कवच’ भएर बस्छन् र मन्त्र गरीएको अक्षता छर्केर टोलीलाई दुष्टात्माको कुदृष्टि र भवितव्यबाट सुरक्षा प्रदान गर्छन्। गाउँका बरघर र भद्रभलाद्मीहरू यस नाचको संरक्षकका रूपमा रहने हुनाले महिलाहरूले पूर्णरूपमा सुरक्षित महसुस गर्छन्। सखिया नाचमा सहभागी हरेक सदस्यको सम्मान र सुरक्षा बराबर हुने गर्छ, जसले थारू समुदाय महिलाहरूको स्वतन्त्र आत्म अभिव्यक्ति र मर्यादाप्रति कति संवेदनशील छ भन्ने कुरा दर्शाउँछ।
आधुनिकीकरणको प्रभाव
वर्तमान समयमा विश्वव्यापीकरण, तीव्र आधुनिकीकरण र उपभोक्तावादी संस्कृतिको बढ्दो प्रभावका कारण थारू समुदाय पनि अछुतो छैन। यसले गर्दा रैथाने लोकसंस्कृति, लोकभाका र मौलिक सखिया नाच संकटमा पर्न थालेको छ। आधुनिक प्रविधि, डिस्को र बजारिया पप–संगीतको तीव्र हस्तक्षेपका कारण ग्रामीण भेगका युवा पुस्ता आफ्नै रैथाने मादलको ताल र परम्परागत गायन शैलीभन्दा आधुनिक डिजे संगीततर्फ बढी आकर्षित हुन थालेका छन्। यसले गर्दा सखिया नाचको मौलिकता र यसको विशिष्ट पहिचान विस्तारै खस्किँदै जान थालेको देखिन्छ।
सखिया नाच आफैँमा एक अत्यन्तै जटिल विधिको शास्त्रीय लोकनृत्य हो, जसमा २२ वटा फरक–फरक मादलका ख्वााँठ र २६५० वटा लामा श्लोकहरू कण्ठ गर्नुपर्ने हुन्छ। आजको व्यस्त जीवनशैली, औपचारिक शिक्षाको व्यस्तता र युवाहरूको वैदेशिक रोजगारी तथा सहरकेन्द्रित बसाइँसराइले गर्दा नयाँ पुस्तालाई यो जटिल कला पूर्णरूपमा सिकाउन गाह्रो भइरहेको छ। पुराना अनुभवी मोरहिन्या र मदरियाहरूको अभाव हुँदै जाँदा कतिपय गाउँहरूमा यो नाच वर्षौँसम्म रोकिने वा सतहीरूपमा मात्र नाचिने स्थिति सिर्जना भएको छ।
अन्त्यमा,
सखिया नाच केवल परम्परागत नृत्यमात्र होइन, थारू समुदायको पुख्र्यौली पहिचान, सामाजिक ऐक्यबद्धता र अपूर्व कलात्मक सौन्दर्यको एक जीवन्त र सजीव दस्तावेज हो। २२ ख्वााँठको प्राविधिक जटिलता, २६५० श्लोकको साहित्यिक विशालता र फर्सीको पातदेखि बहुमूल्य चाँदीका गहनासम्म समेटिएको यसको विकासयात्राले थारू समुदायको उच्च बौद्धिक र सांस्कृतिक सिर्जनशीलतालाई प्रमाणित गर्छ।
आधुनिक संगीतको भीडमा आफ्ना पुर्खाको इतिहास, दर्शन र कला बोकेको सखिया नाचलाई जीवित राख्नु थारू समुदायको मात्र नभई सिंगो देशकै गौरवमय इतिहासलाई बचाउनु हो। पुस्तान्तरणको मौलिक विधिलाई अझ सुदृढ र संस्थागत बनाउँदै यस नाचलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रवद्र्धन गर्न सके यसले नेपालको पर्यटन प्रवद्र्धन र सांस्कृतिक कूटनीतिमा ठूलो योगदान पुर्याउन सक्छ। तसर्थ, मादलको घन्किँदो ताल र मन्जिराको सुमधुर छुनछुनु आवाजसँगै अगाडि बढ्ने सखियाको यो लयबद्ध यात्रालाई आगामी पुस्ताको धड्कन बनाउन तीनै तहका सरकार संघ, प्रदेश र स्थानीय सरकार यसका साथै समुदाय सबैको तर्फबाट गर्वका साथ एकजुट भएर लाग्नु आजको अनिवार्य आवश्यकता हो। जबसम्म तराईको माटोमा सखियाको गुञ्जन रहिरहनेछ, तबसम्म थारू पहिचानको अद्वितीय सौन्दर्य संसारभर अमर रहिरहनेछ। जय गुर्वावा !
लेखक थारू संस्कृतिविद् हुन्।
Facebook Comment