नेपाल-भारतको २४ बुँदे संयुक्त वक्तव्य : नेपाललाई दुई नयाँ बन्दरगाह प्रयोग गर्ने सुविधा
भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्दला पोर्ट) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराउन भारत तयार भएको हो।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त घोषणा गरिएको हो। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच पारवहन, पूर्वाधार, ऊर्जा, व्यापार तथा विकास साझेदारीका विभिन्न विषयमा सहमति भएको छ।
संयुक्त विज्ञप्तिअनुसार भारतले नेपालको विकास र पुनर्निर्माणका लागि कूल १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ। यसमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदानका रूपमा र ११ हजार ५०० करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइनेछ।
भारतले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान दिने भएको हो। ऊर्जा क्षेत्रका परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने सहमति पनि भएको छ।
दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’का लागि संयुक्त दृष्टिकोणसमेत स्वीकार गरेका छन्। यसले आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ। जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ।
हवाई सम्पर्क विस्तारअन्तर्गत काठमाडौं-भैरहवा-लखनऊ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि दुवै देशका प्राविधिक टोलीले आवश्यक कार्यविधि टुंगो लगाउनेछन्।
त्यस्तै अयोध्या र जनकपुरबीच ‘सरयु-कमला एक्सप्रेस’ रेल सेवा संयुक्तरूपमा शुभारम्भ गरिएको छ। यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सभ्यतागत सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ। बौद्ध तथा शिव-शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क विस्तार गर्ने सहमति भएको छ।
रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि पनि दुवै देशले सहकार्य गर्ने भएका छन्। त्यसैगरी, भारत र नेपाल जोड्ने बनबासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा-चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सीमापार मोटर चल्ने पुलको उद्घाटनसमेत गरिएको छ। यसले सुदूरपश्चिम नेपाल र भारतबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ। नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि शिलान्यास गरिएको छ। सिलिगुढी-झापा पेट्रोलियम पाइपलाइनको काम छिट्टै सुरु गर्ने तथा भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना खोज्ने सहमति पनि भएको छ।
ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। भारतीय कम्पनीहरूले नेपालमा विकास गरिरहेका जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन्। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंगो लगाएर कार्यान्वयन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआरसम्बन्धी कामलाई पनि तीव्रता दिने सहमति भएको छ।
त्यसैगरी, इनरुवा-नयाँ पूर्णिया र दोधारा-बरेलीबीच दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने दिशामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
शिक्षा तथा प्रविधिको क्षेत्रमा भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना गर्ने विषयमा सहमति जनाएको छ। यसबाट नेपालको उच्च शिक्षा, प्राविधिक जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा दुवै देशबीच प्रहरी अनुसन्धान, प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, अन्तरिक्ष तथा भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य, पशुधन र मत्स्यपालन विकासलगायतका आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।
नेपालमा आएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ।
Facebook Comment