विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पनाका लागि तोकिए १० क्षेत्र
भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन्। दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार भविष्यको साझेदारीका लागि आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसम्मका १० वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा भएको छलफलपछि संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) सार्वजनिक गरिएको हो। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धको समग्र समीक्षा गर्दै आगामी सहकार्यका प्राथमिकता तय गरिएको छ।
संयुक्त दृष्टिकोणपत्रमा भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ राष्ट्रिय आकाङ्क्षालाई एकअर्काका पूरकका रूपमा प्रस्तुत गरिएको छ। दुवै देशका नागरिक, विशेषगरी युवाका आकाङ्क्षालाई केन्द्रमा राखेर आधुनिक, गतिशील र पारस्परिक लाभमा आधारित साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ।
आर्थिक तथा विकास साझेदारीअन्तर्गत भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराइनेछ।
त्यस्तै व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरावलोकन, नयाँ पारवहन सुविधा र हवाई मार्ग विस्तार, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना र सूचना प्रविधि पार्क विकासमा सहकार्य गर्ने सहमति भएको छ।
भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। अयोध्या-जनकपुर सीधा रेल सेवा र धार्चुला-दार्चुला महाकाली नदीमाथिको मोटरेबल पुल सञ्चालनमा आएको विषयलाई स्वागत गर्दै जयनगर-बर्दिबास र जोगबनी-विराटनगर रेलमार्गका बाँकी खण्डको निर्माण तीव्र बनाउने सहमति भएको छ। रक्सौल-काठमाडौं रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएकोमा स्वागत गर्दै बर्दिबास-निजगढ र वीरगन्ज-निजगढ खण्डलाई प्राथमिकतामा राखेर पूर्व-पश्चिम रेलमार्ग विकासमा सहकार्य गरिनेछ।
ऊर्जा तथा जलस्रोत क्षेत्रमा भारतले नेपालको जलविद्युत् र प्रसारण पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने भएको छ। पञ्चेश्वर र सप्तकोशी–सुनकोशी बहुउद्देश्यीय परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा विद्युत् व्यापार विस्तार गर्ने विषय पनि सहमतिमा समेटिएको छ। विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र जल तथा मौसमसम्बन्धी तथ्याङ्क वास्तविक समयमा आदानप्रदान गर्ने व्यवस्था गरिनेछ।
सुशासन र प्रविधिको क्षेत्रमा नेपालको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि भारतले प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान गर्नेछ। कृत्रिम बौद्धिकता (एआई), नेपाली भाषाको ठूलो भाषा नमुना विकास, डिजिटल पार्क तथा तथ्याङ्क केन्द्र स्थापनामा सहकार्य गरिनेछ। काठमाडौंमा स्टार्टअप उत्कृष्टता केन्द्र र पोखरामा डिजिटल घुमन्ते तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
शिक्षा तथा सीप विकासतर्फ भारतका प्रतिष्ठित शैक्षिक संस्थाका शाखा नेपालमा स्थापना गर्ने सम्भावना खोजिनेछ। यसको सुरुवात भारतीय प्रविधि संस्थान (आईआईटी) बाट गर्ने प्रस्ताव गरिएको छ। नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्नुका साथै भारतको सहयोगमा व्यावसायिक तालिम संस्था स्थापना गरिनेछ।
खेलकुद क्षेत्रमा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न भारतले सहयोग गर्नेछ। क्रिकेट पूर्वाधार विकास, नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर तथा क्रिकेट, फुटबललगायत खेलका व्यावसायिक लिगमा दुवै देशका खेलाडीलाई सहभागी गराउने सम्भावना खोजिनेछ।
संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि जनकपुर-अयोध्या रामायण सर्किट, लुम्बिनी-बोधगया-सारनाथ-कुशीनगर बौद्ध सर्किट र पशुपतिनाथ-वाराणसी शिव-शक्ति सर्किट विकास गर्ने सहमति भएको छ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गर्ने तथा वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माण, राष्ट्रिय चिकित्सा प्रयोगशालाको स्तरोन्नति र सस्तो तथा गुणस्तरीय औषधिको पहुँच विस्तार गर्न भारत–नेपाल जनऔषधि केन्द्र स्थापना गरिनेछ। कृषि क्षेत्रमा भने भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ। कृषि अनुसन्धान, पशुपालन तथा किसानको क्षमता विकासमा पनि सहकार्य गरिनेछ।
दुई देशबीच भएका सहमति र परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाइनेछ। उक्त समूहले कम्तीमा प्रत्येक छ महिनामा बैठक गरी परियोजनाको प्रगति समीक्षा गर्नेछ।
अनुगमन समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने भारत–नेपाल संयुक्त आयोगमा पेस गर्नेछ। संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने सहमति भएको छ।
यसअघि दुई देशका प्रधानमन्त्रीले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने बताएका थिए। जलस्रोत, ऊर्जा, व्यापार तथा सीमा सम्बन्धी बाँकी विषय पनि आपसी छलफल र संवादबाट समाधान गर्ने सहमति भएको छ।
दुवै प्रधानमन्त्रीले संयुक्त दृष्टिकोणपत्रले दुई मित्रराष्ट्रबीच आधुनिक, महत्त्वाकाङ्क्षी र पारस्परिक लाभमा आधारित साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।
Facebook Comment