थारू साहित्यकार एवं अग्रज समाजसेवी श्रीपति चौधरीको निधन
थारू भाषा, साहित्य तथा समाजसेवी दाङ, गोबरडिहा निवासी श्रीपति चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। थारू सामाजिक कथावस्तुमा आधारित चर्चित उपन्यास ‘झाँगा’का लेखकसमेत रहेका उनको सोमबार (मंसिर ७) निधन भएको हो।
वि.सं. २००३ असार ९ गते जन्मिएका चौधरीको निधनले सिंगो थारू समुदाय, नेपाली वाङ्मय र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंस्था तथा साहित्यकारहरूले दुःख व्यक्त गरेका छन्।
वि.सं. २०२५ सालमा मात्र १६ दिनको छोटो अवधिमा चौधरीले लेखेका थारू भाषाको उपन्यास ‘झाँगा’ हालसालै प्रकाशित भई पाठकमाझ निकै लोकप्रिय बनेको थियो। ‘झाँगा’बाहेक उनका थुप्रै फुटकर लेख, रचना र कथाहरू विभिन्न पत्रपत्रिका तथा कृतिहरूमा प्रकाशित छन्।
साहित्य सिर्जनाका अतिरिक्त स्वर्गीय चौधरी एक प्रखर शिक्षाप्रेमी, कुशल संगठक र दूरदर्शी समाजसेवीका रूपमा परिचित थिए। थारू समुदायको शैक्षिक तथा सामाजिक उत्थानमा उनले पुर्याएको योगदान ऐतिहासिक मानिन्छ। उनी वि.सं. २०१९ सालमा ‘थारू छात्र संघ’को संस्थापक अध्यक्ष बनेका थिए। वि.सं. २०२३ मा देउखुरीको बनगाउँमा ‘आदर्श पुस्तकालय’ स्थापना गरी समाजमा पठन संस्कृतिको विकासमा योगदान पुर्याएका थिए।
त्यस्तै वि.सं. २०३२ सालमा थारू कल्याणकारिणी सभा दाङको सभापतिको नेतृत्व सम्हालेका चौधरीले वि.सं. २०३४ सालमा सरकारी क्याम्पसहरूमा थारू विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गराउन र थारू छात्राबास स्थापना गर्न महत्वपूर्ण पहल गरेका थिए।
सार्वजनिक प्रशासन तथा शैक्षिक संस्थाहरूको नेतृत्वमा समेत सक्रिय रहेका उनले वि.सं. २०३७ देखि २०४२ सम्म जिल्ला वन सुदृढीकरण कैलालीको अध्यक्ष तथा वि.सं. २०४२ देखि २०४७ सम्म सरस्वती माध्यमिक विद्यालय गोबरडिहाको अध्यक्ष भई शिक्षा र वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
एक विलक्षण प्रतिभाका धनी एवं निष्ठावान् अभिभावक गुमाउनु पर्दा समाज स्तब्ध बनेको स्थानीय बुद्धिजीवी तथा साहित्यकारहरूले बताएका छन्।
Facebook Comment