चीनको प्रभाव सीमापारसम्म : जर्मनीद्वारा विदेशमा रहेका आलोचकलाई धम्की र निगरानी हुने गरेको खुलासा
जर्मनीले चीन, रुस र इरानलाई सीमापार दमन (ट्रान्सनेसनल रिप्रेसन) गर्ने प्रमुख राष्ट्रका रूपमा औँल्याएको छ। आफ्नो देश छाडेर विदेशमा बसोबास गरिरहेका राजनीतिक आलोचक, अधिकारकर्मी तथा सरकारविरोधी व्यक्तिमाथि पनि निगरानी, धम्की र दबाब दिने गतिविधि भइरहेको जर्मनीको गुप्तचर निकायले जनाएको छ।
जर्मनीको संविधान संरक्षणका लागि संघीय कार्यालय (बीएफभी) ले सन् २०२६ अगस्ट २० मा सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो चेतावनी दिएको हो। प्रतिवेदनअनुसार अधिनायकवादी शासन भएका मुलुकबाट भागेर जर्मनी पुगेका व्यक्तिहरूले त्यहाँ पनि निगरानी, धम्की र राजनीतिक दबाबको सामना गर्नुपरेको छ।
जर्मन निकायले चीनसँग सम्बन्धित गतिविधिबाट प्रभावित हुन सक्ने समुदायमा चिनियाँ सरकारका आलोचक, उइगुर समुदाय, तिब्बती, फलुन गङका अनुयायी, हङकङको लोकतन्त्र आन्दोलनका समर्थक र ताइवानका पक्षधरलाई समेटेको छ। बेइजिङको एकदलीय राजनीतिक व्यवस्थाको आलोचना गर्ने जर्मन नागरिकसमेत यस्तो गतिविधिको निशानामा पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
बीएफभीका अनुसार चिनियाँ राजनीतिक अधिकारीहरूले विदेशमा रहेका आलोचकको निगरानी र उनीहरूलाई त्रसित पार्न गुप्तचर निकायका साथै आफ्नो पक्षमा काम गर्ने व्यक्ति तथा संस्थाको प्रयोग गर्ने गरेका छन्।
यो गतिविधि सामान्य गुप्तचरीभन्दा फरक रहेको जर्मनीको ठहर छ। गुप्तचरीको मुख्य उद्देश्य सूचना संकलन गर्नु भए पनि सीमापार दमनको उद्देश्य राजनीतिक विरोधलाई दबाउनु, आलोचकलाई मौन बनाउनु र आफ्नो देश छाडिसकेपछि पनि असहमतिको मूल्य चुकाउन बाध्य पार्नु हो।
विदेशमा पनि राजनीतिक दबाब
सीमापार दमन भन्नाले कुनै सरकारले आफ्नो देशबाहिर बसोबास गरिरहेका व्यक्तिलाई राजनीतिक विरोधी वा सत्ताका लागि खतरा ठानेर निशाना बनाउने गतिविधिलाई बुझिन्छ।
यस्तो गतिविधिमा निगरानी, साइबर आक्रमण, धम्की, दुर्व्यवहार, जबर्जस्ती तथा स्वदेशमा रहेका आफन्तलाई दबाब दिने कार्यसमेत पर्छन्।
चीनको सन्दर्भमा जर्मनीको चिन्ता विभिन्न राजनीतिक, धार्मिक र सांस्कृतिक पहिचान भएका समुदायसँग जोडिएको छ। उइगुर समुदायले सिन्जियाङमा आफूहरूमाथि भएको व्यवहारको विरोध गर्दै आएका छन्। त्यस्तै तिब्बती समुदाय र हङकङको लोकतन्त्र आन्दोलनका समर्थकले पनि बेइजिङका नीतिको आलोचना गर्दै आएका छन्।
फलुन गङका अनुयायी र चिनियाँ प्रजातन्त्रका पक्षधर पनि आफ्ना गतिविधि तथा विचारका कारण निगरानीमा पर्ने गरेको जर्मनीको प्रतिवेदनमा उल्लेख छ।
यी सबै समूहको साझा पक्ष भनेको चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्नु हो। यस्तो आलोचनाका कारण विदेशमा रहेका व्यक्तिसमेत राज्यसँग सम्बन्धित पक्षको निगरानीमा पर्न सक्ने जर्मनीको निष्कर्ष छ।
जर्मनीको गुप्तचर निकायले यस्ता गतिविधिमा संलग्न व्यक्ति पहिचान गर्न कठिन हुने पनि जनाएको छ। विदेशी गुप्तचर निकायले आफ्ना अधिकारीलाई मात्र परिचालन नगरी विद्यार्थी, निजी अनुसन्धानकर्ता, सहकर्मी, सांस्कृतिक संस्था तथा समुदायमा पहुँच भएका अन्य व्यक्तिलाई समेत माध्यम बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ।
कतिपय व्यक्ति स्वेच्छाले सहयोग गर्ने भए पनि केहीलाई दबाब दिएर प्रयोग गरिने गरिएको बताइएको छ। सामान्य सूचना माग्ने, समुदायका परिचित व्यक्तिमार्फत सम्पर्क गर्ने वा आर्थिक लाभको प्रस्ताव राख्ने जस्ता गतिविधिभित्र राजनीतिक गतिविधि र व्यक्तिगत सम्बन्धबारे जानकारी संकलन गर्ने उद्देश्य लुकेको हुन सक्ने जर्मनीको चेतावनी छ।
चिनियाँ गुप्तचर गतिविधिमा संलग्न पूर्वसांसदका सहयोगी दोषी ठहर
चीनसँग सम्बन्धित गुप्तचर गतिविधिको एउटा महत्त्वपूर्ण घटना सन् २०२५ सेप्टेम्बरमा सार्वजनिक भएको थियो।
जर्मनीको ड्रेस्डेनस्थित उच्च क्षेत्रीय अदालतले चिनियाँ मूलका जर्मन नागरिक जियान जीलाई चीनका लागि गम्भीर गुप्तचर गतिविधि गरेको अभियोगमा दोषी ठहर गरेको थियो। उनी जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीका नेता म्याक्सिमिलियन क्राहका पूर्वसहयोगी थिए।
अदालतले सन् २०२५ सेप्टेम्बर ३० मा उनलाई चार वर्ष नौ महिनाको जेल सजाय सुनाएको थियो। उनले चिनियाँ गुप्तचर निकायका लागि काम गर्दै चीनका विपक्षी तथा आलोचकबारे सूचना संकलन गरेको अदालतको ठहर थियो।
क्राहका सहयोगीका रूपमा काम गर्दा उनले एएफडी पार्टी र युरोपेली संसद्को गतिविधिबारे समेत सूचना संकलन गरेका थिए।
अदालतका अनुसार जियान र उनकी सहअभियुक्त जाकी एक्सले लाइपजिग/हाले विमानस्थलमा हुने उडान, कार्गो र यात्रुका साथै सैनिक सामग्री ढुवानीसम्बन्धी सूचनासमेत संकलन गरेका थिए।
यस मुद्दामा जाकी एक्सलाई एक वर्ष नौ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो।
जर्मन सञ्चारमाध्यमका अनुसार जियानले आफू चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आरोप अस्वीकार गरेका थिए। तर अदालतको फैसलाले चीनसँग सम्बन्धित गुप्तचर गतिविधि जर्मनीका राजनीतिक संस्था र समुदायसम्म फैलिएको ठोस उदाहरण प्रस्तुत गरेको छ।
उइगुर समुदायका आफन्तलाई धम्की दिएर दबाब
विदेशमा रहेका व्यक्तिलाई नियन्त्रणमा राख्न स्वदेशमा रहेका उनीहरूका आफन्तलाई दबाब दिने गतिविधि पनि जर्मनीको प्रमुख चिन्तामध्ये एक हो। सन् २०२१ मा सांसदहरूको प्रश्नको जवाफ दिँदै जर्मन सरकारले चीनका सुरक्षा अधिकारीहरूले जर्मनीमा संरक्षण खोजिरहेका उइगुर समुदायका व्यक्तिसँग पटक-पटक सम्पर्क गरेको र विदेशमा रहेका उइगुर समुदायबारे सूचना मागेको जनाएको थियो।
सरकारको विवरणअनुसार केही व्यक्तिलाई चीनमा रहेका आफन्तलाई सुविधा उपलब्ध गराइदिने प्रस्ताव राख्दै सहयोग गर्न भनिएको थियो। त्यस्तो प्रस्ताव अस्वीकार गर्नेहरूलाई आफन्तमाथि कारबाही गर्ने धम्की दिइएको र कतिपय अवस्थामा धम्की कार्यान्वयनसमेत भएको जनाइएको थियो।
चिनियाँ अधिकारीहरूले चीनमा रहेका आफन्तकै फोनबाट जर्मनीमा रहेका व्यक्तिलाई सम्पर्क गर्ने गरेको विवरणसमेत सार्वजनिक भएको थियो।
उनीहरूसँग जर्मनीको फोन नम्बर र ठेगाना माग्ने, चिनियाँ कम्युनिस्ट पार्टीविरुद्धको राजनीतिक गतिविधि त्याग्न लगाउने वा चीन फर्कन दबाब दिने गरिएको जर्मन सरकारको भनाइ छ।
यसले विदेशमा सुरक्षित जीवन बिताइरहेका व्यक्तिका लागि पनि परिवारका सदस्यमार्फत दबाब सिर्जना गर्न सकिने देखाएको छ। जर्मनीमा कानुनी संरक्षण पाए पनि चीनमा रहेका आफन्तको सुरक्षाबारे उनीहरू सधैँ चिन्तित रहनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
फलुन गङ समुदायभित्रै सूचना संकलन
जर्मनीमा बेइजिङको निशानामा परेका समुदायभित्रै सूचना संकलन गरिएका घटनासमेत सार्वजनिक भएका छन्। सन् २०११ मा जर्मनीको सेलेस्थित उच्च क्षेत्रीय अदालतले जोन झाउलाई विदेशी शक्तिका लागि गुप्तचरका रूपमा काम गरेको अभियोगमा दोषी ठहर गरेको थियो।
अदालतको फैसलाअनुसार झाउसँग जर्मनीमा रहेका फलुन गङका अनुयायी र उनीहरूको आन्तरिक सञ्चार प्रणालीसम्म पहुँच थियो। उनले उक्त समुदायको सञ्जालबारे करिब ३०० पृष्ठको प्रतिवेदन तयार पारेका थिए। आन्तरिक इमेल पठाउने, सम्मेलनहरूमा सहभागी भएर सूचना संकलन गर्ने र जर्मन गुप्तचर अधिकारीले आफूसँग गरेका सम्पर्कबारे आफ्ना चिनियाँ सम्पर्क व्यक्तिलाई जानकारी दिने गरेको अदालतले ठहर गरेको थियो।
अदालतले झाउसँग सुरुमा सम्पर्क गर्ने चिनियाँ दूतावासका अधिकारीलाई चीनको राज्य सुरक्षा मन्त्रालयका लागि काम गर्ने व्यक्ति भएको पहिचान गरेको थियो।
फलुन गङ सन् १९९० को दशकमा चीनमा व्यापक रूपमा फैलिएको आध्यात्मिक अभ्यास हो। सन् १९९९ जुलाईमा चिनियाँ अधिकारीहरूले यसलाई दबाउन अभियान सुरु गरेका थिए। त्यसयता यसका अनुयायीमाथि मनपरी हिरासत, यातना र अन्य गम्भीर मानवअधिकार उल्लङ्घन भएको आरोप मानवअधिकारवादी संस्थाहरूले लगाउँदै आएका छन्।
यो घटनाले चीनबाहिर रहेका समुदायका आन्तरिक सञ्जाल र सञ्चारमाध्यममा पहुँच बनाएर पनि सूचना संकलन गर्न सकिने देखाएको थियो।
विदेशमा चिनियाँ प्रहरी चौकीको सञ्जाल
जर्मनीको अर्को चिन्ता चीनले विदेशमा सञ्चालन गरेको भनिएका प्रहरी चौकीसँग सम्बन्धित छ। जर्मन सरकारले यसअघि देशभित्र चीनसँग सम्बन्धित दुईवटा यस्ता संरचना रहेको पहिचान गरेको थियो। तीमध्ये एउटा फ्र्याङ्कफर्टमा रहेको थियो।
सन् २०२५ मा जर्मन सरकारले सार्वजनिक गरेको विवरणमा ती संरचनालाई चिनियाँ राज्यले स्थापना गरेको देशबाहिरसम्म फैलिएको सञ्जालको हिस्सा भनिएको थियो। चिनियाँ सरकारी वेबसाइटहरूमा विदेशमा रहेका चिनियाँ नागरिकको जानकारी संकलन गर्ने, उनीहरूको धारणा बुझ्ने तथा प्रशासनिक सहायता उपलब्ध गराउनेजस्ता गतिविधि उल्लेख गरिएको थियो।
जर्मन अधिकारीहरूले आफ्नो देशको सार्वभौमिकता उल्लङ्घन गर्ने गतिविधि बन्द गर्न चीनलाई आग्रह गरेका थिए। तर सन् २०२५ मै जर्मन सरकारले यसअघि पहिचान गरिएका ती दुई प्रहरी चौकी पुरानै स्वरूपमा सञ्चालनमा रहेको प्रमाण नभेटिएको पनि जनाएको थियो।
त्यसैले ती प्रहरी चौकी अहिले पनि उही स्वरूपमा सक्रिय छन् भन्नु उचित नहुने जर्मनीको विवरणले स्पष्ट पारेको छ। यद्यपि अनौपचारिक सञ्जालमार्फत समुदायको निगरानी, सूचना संकलन र राजनीतिक दबाब जारी रहन सक्ने चिन्ता भने कायमै छ।
बीएफभीको सन् २०२४ को वार्षिक प्रतिवेदनमा चीनले विदेशमा रहेका चिनियाँ मूलका समुदायभित्र सम्भावित विरोधी पहिचान गर्ने, उनीहरूलाई एक्ल्याउने र त्रसित पार्ने उद्देश्यले बलियो सीमापार सञ्जाल विकास गरेको उल्लेख छ।
यसमा कूटनीतिक नियोग, कम्पनी, विद्यार्थी संगठन, गृह नगरसँग सम्बन्धित संस्था, क्लब र विभिन्न संस्थागत सम्बन्धको भूमिका हुन सक्ने बताइएको छ। तर चीनसँग सम्बन्धित सबै व्यक्ति वा संस्था गुप्तचर गतिविधिमा संलग्न छन् भन्ने अर्थ भने नलाग्ने जर्मन निकायले स्पष्ट पारेको छ।
जर्मनीमा नयाँ कानुनी व्यवस्था
जर्मनीले यस्ता गतिविधि नियन्त्रण गर्न कानुनी व्यवस्था पनि कडा बनाएको छ। जर्मनीको फौजदारी संहिताको धारा ८७ ए सन् २०२६ अप्रिल २ देखि कार्यान्वयनमा आएको हो।
यस व्यवस्थाअनुसार विदेशी राष्ट्रको तर्फबाट जर्मनीभित्र गरिने निश्चित गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई पाँच वर्षसम्म कैद वा जरिवाना हुन सक्छ। त्यस्तो गतिविधि गर्न आदेश दिने व्यक्तिसमेत कारबाहीको दायरामा पर्ने व्यवस्था छ।
यद्यपि विदेशी निगरानी वा राजनीतिक दबाबका सबै घटनालाई स्वतः यही कानुनअन्तर्गत अपराध मान्न नमिल्ने जर्मनीको कानुनी व्यवस्थाले स्पष्ट पारेको छ। त्यसका लागि कानुनले तोकेका आवश्यक आधार र प्रमाण स्थापित हुनुपर्छ।
बीएफभीले शंकास्पद सीमापार दमनका गतिविधि कुनै विदेशी राष्ट्र वा गुप्तचर निकायसँग सम्बन्धित छन् कि छैनन् भन्ने मूल्याङ्कन गर्ने गर्छ। अपराध भएको आशंका भएमा प्रहरीको राज्य सुरक्षा एकाइले अनुसन्धान गर्छ र अभियोजनकर्ताले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्छन्। कूटनीतिक उन्मुक्तिका कारण विदेशी अधिकारीमाथि मुद्दा चलाउन नसकिने अवस्थामा उनीहरूलाई देशनिकाला गर्ने प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ।
विदेशी गुप्तचर निकायबाट सम्पर्क, दबाब वा धम्की आएको महसुस गर्ने व्यक्तिलाई गोप्य माध्यमबाट जानकारी गराउन पनि बीएफभीले आग्रह गरेको छ। यससम्बन्धी जानकारी चिनियाँ, अंग्रेजी, फारसी, अरबी, रुसी, भियतनामी, फ्रान्सेली र टर्किसलगायत भाषामा उपलब्ध गराइएको छ।
देश छाडे पनि राजनीतिक नियन्त्रणबाट मुक्ति छैन?
जर्मनीको पछिल्लो चेतावनीले विदेशमा बसोबास गरिरहेका राजनीतिक शरणार्थी र आप्रवासी समुदायको सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने विषय बनाएको छ।
जर्मन अदालत र सरकारी निकायले सार्वजनिक गरेका घटनाले यस्तो गतिविधि केवल आशंकामा सीमित नरहेको देखाउँछन्। चीनका लागि गुप्तचर गतिविधि गरेको अभियोगमा भएका अदालती फैसला, उइगुर समुदायका आफन्तमाथि दबाब र फलुन गङ समुदायभित्रै सूचना संकलन गरिएका घटनाले यसलाई पुष्टि गर्छन्।
यद्यपि यस्ता घटनाको मूल्याङ्कन गर्दा प्रमाण र आरोपबीचको भिन्नता छुट्याउनुपर्ने हुन्छ। अदालतबाट प्रमाणित भएको घटना र सरकारी निकायले सार्वजनिक गरेको आशंकालाई एउटै रूपमा हेर्न मिल्दैन।
बीएफभीले उठाएको मुख्य प्रश्न भनेको अधिनायकवादी शासन भएको देश छाडेर विदेश पुगेपछि पनि व्यक्तिले राजनीतिक नियन्त्रणबाट मुक्ति पाउँछन् कि पाउँदैनन् भन्ने हो। राजनीतिक असहमति राखेकै कारण विदेशमा पनि निगरानी, धम्की र दबाबको सामना गर्नुपर्ने अवस्थाले भौगोलिक सीमा पार गरे पनि राजनीतिक जोखिम समाप्त नहुने देखाएको छ।
चीनलाई सीमापार दमन गर्ने प्रमुख राष्ट्रमध्ये एकका रूपमा पहिचान गरेर जर्मनीले यस विषयलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको संकेत गरेको छ। अब अनुसन्धानकर्ताहरूका लागि समुदायका सामान्य गतिविधि र गुप्तचर परिचालनबीचको भिन्नता छुट्याउँदै विदेशी राज्यसँग सम्बन्धित धम्की तथा दबाबमा संलग्न व्यक्तिको जिम्मेवारी प्रमाणित गर्नु मुख्य चुनौती बनेको छ।
Facebook Comment