टुल्कु हुङ्कर दोर्जेको शंकास्पद मृत्युमा चीनको भूमिका

तिब्बती समुदाय र मानव अधिकारकर्मीहरूलाई स्तब्ध पार्ने घटनाक्रममा, सम्मानित धार्मिक नेता तथा मानवतावादी टुल्कु हुङ्कर दोर्जेको चिनियाँ नियन्त्रणमा रहँदा अत्यधिक शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। तिब्बतको गोलोग जिल्लास्थित गेडे काउन्टीको लुङ्गोन गुम्बाका दशौं सिंहासनधारी दोर्जेलाई सन् २०२५ मार्चमा भियतनामको हो ची मिन्ह सिटीमा चिनियाँ गुप्तचर निकाय र भियतनामी सुरक्षाकर्मीको संयुक्त अपरेसनबाट गिरफ्तार गरिएको थियो। केही दिनमै, मार्च २८ मा, उनलाई स्थानान्तरण गरिएको सार्वजनिक सुरक्षा ब्युरोको हिरासतमा मृत्यु भएको पुष्टि भएको छ।

यो घटना चीनले तिब्बती धार्मिक र सांस्कृतिक नेताहरूलाई लक्ष्य गरी चलाएको व्यापक दमनको रणनीतिसँग गहिरो रूपमा मेल खान्छ, र सीमापार उत्पीडनको चिन्ताजनक प्रवृत्तिलाई झल्काउँछ। हुङ्कर दोर्जेको गिरफ्तारीको तरिका र त्यसपछिका घटनाले चीनको अन्तर्राष्ट्रिय दायराभित्र पुग्ने क्षमताको बारेमा गम्भीर प्रश्न उठाउँछन्। गिरफ्तारीपछि उनलाई तुरुन्तै चिनियाँ नियन्त्रणमा दिइएको र त्यसको केही घण्टामै मृत्यु भएको विवरणले सो घटनाको स्वाभाविकता माथि गम्भीर शंका उत्पन्न गराउँछ।

उनको शवको व्यवस्थापनसम्बन्धी विवरणहरू अझै रहस्यमय छन्। भियतनामको अस्पतालमा राखिएको भनिएको शवलाई कडा सुरक्षा घेरामा राखिएको छ, र लुङ्गोन गुम्बाका प्रतिनिधिहरूलाई मृत्यु प्रमाणपत्र हेर्न त बोलाइयो, तर तिनलाई त्यसको प्रतिलिपि लिन वा तस्वीर खिच्न अनुमति दिइएन। अवशेष फिर्ता लिन गएका प्रतिनिधिहरूलाई चिनियाँ अधिकारीहरूसँग भेट गरिनसमेत दिइएन।

यदि मृत्यु प्राकृतिक कारणले भएको हो भने यति धेरै गोपनीयता किन? शव फिर्ता गर्न अस्वीकार गर्नु, कागजात जाँच्न रोक लगाउनु, र विस्तृत सुरक्षा उपायहरूले यस घटनामा केहि लुकाइएको छ भन्ने स्पष्ट संकेत गर्छ।

टुल्कु हुङ्कर दोर्जे लामो समयदेखि चीनको नजरमा थिए। २०२४ को अन्त्यतिर उनले तिब्बतमा उत्पीडन बढेपछि भियतनाममा शरण लिएका थिए। चिनियाँ अधिकारीहरूले उनीमाथि “सार्वजनिक शिक्षाको नाममा अव्यवस्था फैलाएको” आरोप लगाएका थिए, जुन उनी ‘बेपत्ता’ घोषित भएको केही समयपछि भएको हो। यस घटनाक्रमले योजनाबद्ध रूपमा उनीमाथि दमन गर्न र मौन गराउन गरिएको प्रयासको संकेत गर्छ।

उनको मृत्यु एउटा एक्लो घटना होइन, बरु चीनले तिब्बती धार्मिक नेताहरूलाई नियन्त्रण गर्न र उनीहरूलाई आफ्नो राजनीतिक चाहनाअनुसार झुकाउने अभियानको हिस्सा हो। गोलोग क्षेत्रमा चिनियाँ नियुक्त पञ्चेन लामाको स्वागत गर्न अस्वीकार गरेपछि, उनीमाथि बनावटी आरोप लगाएर लक्षित गरिएको थियो।

टुल्कु हुङ्कर दोर्जेले तिब्बती समुदायको शिक्षा, संस्कृति संरक्षण र मानव सेवा केन्द्रित कार्यहरू गरेका थिए। उनले स्थापना गरेका विद्यालयहरूले हजारौँ घुमन्ते र कृषक तिब्बती बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गरेका थिए। यस्ता प्रयासले चिनियाँ आत्मसात् नीतिको प्रत्यक्ष चुनौती दिएका थिए, जसले उनीमाथि “अनधिकृत रूपमा विद्यालय सञ्चालन” गरेको आरोप लगाउने सम्म पुगे।यो घटनाको अन्तर्राष्ट्रिय आयामले चिनियाँ दबाबमा परराष्ट्र सरकारहरूले निर्वासित तिब्बतीहरूलाई हिरासतमा लिने सम्भावनालाई देखाएको छ। यदि यस्तो प्रवृत्ति बढ्दै जान्छ भने, निर्वासनमा रहेका तिब्बती नेताहरूका लागि पनि सुरक्षित स्थानहरू सिमित बन्न सक्छन्।

टुल्कु हुङ्कर दोर्जेको शंकास्पद मृत्युप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चासो देखाउनु अत्यावश्यक छ। चिनियाँ हिरासतमा एक प्रमुख धार्मिक नेताको अकस्मात् मृत्यु स्वतन्त्र र निष्पक्ष अनुसन्धानको विषय हुनुपर्छ। चीनको अघिल्लो इतिहासले विवेकका कैदीहरूमाथि दुर्व्यवहार र उत्पीडन गरिआएको प्रमाणित गर्दै आएको छ।

हुङ्कर दोर्जेको जीवन कार्य तिब्बती भाषा, संस्कृति र पहिचान जोगाउने संघर्षको प्रतीक बनेको थियो। उनको मृत्युले यस संघर्षमा एक गम्भीर क्षति पुर्‍याएको छ। यति मात्र होइन, यो चीनको व्यवस्थित दमनको एउटा गम्भीर उदाहरण पनि हो, जसले एक व्यक्तिमा होइन, सम्पूर्ण समुदायको आत्माको विरुद्ध कार्य गरिरहेको छ।

आज जब तिब्बती समुदाय शोकमा डुबेको छ, उनीहरूले अधिकारिक विवरणलाई स्वीकार्न सकेका छैनन्। अन्तर्राष्ट्रिय समुदायले यो घटनालाई गम्भीर रूपमा लिनुपर्छ, उत्तरदायित्व माग्नुपर्छ र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न दवाव सिर्जना गर्नुपर्छ। टुल्कु हुङ्कर दोर्जेको जीवनले आशा बोकेको थियो, उनको मृत्युले त्यो आशालाई मार्न खोजिएको छ। अब समय आएको छ कि विश्वले यो आवाज सुनेर न्यायका लागि बोलोस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *