चीनलाई दलाई लामाको कडा सन्देश- १५औं दलाई लामाको निर्णय तिब्बतीहरूले गर्छन्
तिब्बत र ताइवानका लागि मानव अधिकार सञ्जाल (HRNTT) का अनुसार, परम पावन १४औं दलाई लामाले तिब्बती धार्मिक मामिलामा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को हस्तक्षेपविरुद्ध कडा सन्देश दिएका छन्।
९० वर्ष पुगेका दलाई लामाले गत हप्ता औपचारिक रूपमा घोषणा गरे कि दलाई लामाको संस्था निरन्तर रहनेछ र आगामी १५औं दलाई लामा चीनबाहिर जन्मिनेछ। उनले भने, “विगतको परम्परा अनुसार, मेरो पुनर्जन्मको खोजी र नामकरण गरिने प्रक्रिया मेरो कार्यालयमार्फत हुनेछ,” ताइपेई टाइम्सले उल्लेख गरेको छ।
HRNTT का महासचिव ताशी त्सेरिङले दलाई लामाको उक्त घोषणा “सीसीपीविरुद्धको शक्तिशाली सन्देश” भएको टिप्पणी गरे। उनले बेइजिङले अर्को दलाई लामा चयन गर्ने अधिकार रहेको दाबीको तीव्र आलोचना गर्दै भने, “धार्मिक पुनर्जन्मसम्बन्धी निर्णय लिने अधिकार केवल परम पावन र उनको संस्थासँग मात्र छ।”
“दलाई लामाको स्पष्ट अडानले तिब्बती धार्मिक स्वायत्ततामाथि चिनियाँ हस्तक्षेप अस्वीकार्य छ भन्ने सन्देश दिन्छ,” त्सेरिङले भने। साथै, उनले तिब्बत भित्र र निर्वासनमा रहेका सबै तिब्बतीहरूलाई आफ्नो परम्परा जोगाउन र चिनियाँ दबाबको प्रतिरोध गर्न आग्रह गरे।
दलाई लामाको ९०औं जन्मदिनको अवसरमा धर्मशालामा आयोजित समारोहमा HRNTT, हङकङ आउटल्याण्डर्स (HKO), स्टुडेन्ट्स फर अ फ्री तिब्बत – ताइवान च्याप्टर लगायतका समूहहरूको सहभागिता रहेको थियो। उनीहरूले ताइवान र तिब्बतबीचको एकता सुदृढ गर्ने लक्ष्यसहित स्थानीय निर्वासित तिब्बती समुदायसँग पनि सहकार्य गरेका छन्।
समारोहमा ताइवानका नागरिक समाजका अगुवा तथा मानव अधिकारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति थियो, जसमा HRNTT बोर्ड सदस्य लिन सिन-यी, Covenant Watch का प्रमुख हुआङ यी-बी, HKO महासचिव स्काई फङ र अध्यक्ष ली पेङ-ह्सुआन समेत रहेका थिए।
हलिउड अभिनेता तथा तिब्बत समर्थक रिचर्ड गेरेले दलाई लामालाई “तिब्बतका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि उपहार” भनेर सम्मान व्यक्त गरे। परम पावनको योगदानको कदर स्वरूप, HRNTT र साझेदार संस्थाहरूले आगामी १२ महिनालाई “करुणाको वर्ष” घोषणा गरेका छन्। साथै, “From the Snowy Ridges to the Ocean of Wisdom” शीर्षकमा भ्रमण प्रदर्शनीमार्फत तिब्बती इतिहास र दलाई लामाको शिक्षालाई उजागर गरिनेछ।
त्यसैगरी, ताइवानका नागरिक संस्थाहरूले तिब्बती स्वतन्त्रता र मानव अधिकारका विषयमा जनचेतना फैलाउन नगर परिषद् स्तरीय समूह गठन गर्ने योजना बनाएका छन्।
Facebook Comment