धारा ३७० खारेजीपछि जम्मू-कश्मीरमा अभूतपूर्व पर्यटन वृद्धि

धारा ३७० खारेज गरेपछि जम्मू-कश्मीरको पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। गृह मन्त्रालयले बुधबार राज्यसभालाई जानकारी दिँदै सन् २०२४ को पहिलो छ महिनामै जम्मू-कश्मीरमा १ करोड ८ लाखभन्दा बढी पर्यटकले भ्रमण गरेको बताएको छ।

जम्मू-कश्मीर सरकारबाट प्राप्त प्रतिवेदनको आधारमा केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले भने, “पछिल्ला तीन वर्षमा जम्मू-कश्मीरको पर्यटन क्षेत्रमा वार्षिक औसत १५.१३ प्रतिशतको वृद्धि दर देखिएको छ।”

उनका अनुसार, सन् २०२४ को जनवरीदेखि जुन महिनासम्म जम्मू-कश्मीरमा १,०८,४१,००९ पर्यटकले भ्रमण गरेका थिए। यसअघि सन् २०२३ मा २,११,२४,६७४, सन् २०२२ मा १,८८,६४,३३२, सन् २०२१ मा १,१३,१४,८८४ र सन् २०२० मा ३४,७०,८३४ पर्यटकले भ्रमण गरेका थिए। उनले २०२० मा कोभिड महामारीका कारण पर्यटक आगमनमा उल्लेख्य गिरावट आएको स्पष्ट पारे।

पर्यटन प्रवर्द्धनका लागि जम्मू-कश्मीर सरकारले २०२० मा ‘जम्मू-कश्मीर पर्यटन नीति’ ल्याएको र त्यसअनुसार विभिन्न सुधारात्मक उपायहरू अपनाएको मन्त्री रायले जानकारी दिए। तीमध्ये, पर्यटन क्षेत्रलाई उद्योगका रूपमा प्रवद्र्धन गर्दै २०२१ को जम्मू-कश्मीर औद्योगिक नीतिअन्तर्गत विशेष प्रोत्साहन प्रदान गरिएको उल्लेख छ।

पर्यटकहरूको बढ्दो आगमनलाई व्यवस्थापन गर्न र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउन सरकारले होमस्टेसम्बन्धी निर्देशिका पनि जारी गरेको छ। साथै, ‘हाउसबोट नीति २०२०’ र ‘फिल्म नीति २०२१’ समेत कार्यान्वयनमा ल्याइएको छ। जम्मू-कश्मीरमा ७५ वटा नयाँ तथा कमचर्चित पर्यटकीय गन्तव्यहरूको पहिचान गरिएको पनि जानकारी दिइएको छ।

मन्त्री रायका अनुसार, गुरेज, केरन, तीतवाल र आरएस पुरा जस्ता सीमावर्ती क्षेत्रहरू पर्यटनका लागि खोलिएका छन्। यससँगै साहसिक पर्यटन र गल्फ पर्यटनमा पनि जम्मू-कश्मीर उदाउँदै गएको छ।

“पर्यटन प्रवर्द्धनका लागि राज्य सरकारले विभिन्न पूर्वाधार परियोजनाहरू सञ्चालन गरिरहेको छ। तेस्रो G-२० पर्यटन कार्यसमूहको सफल आयोजना पछि जम्मू-कश्मीर अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा उभिन थालेको छ,” उनले भने।

आधुनिक पूर्वाधार र विलासी होटल तथा रिसोर्टहरूको बढ्दो उपस्थितिले जम्मू-कश्मीरलाई ‘गन्तव्य विवाह’ र MICE (बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी) पर्यटनका लागि पनि उपयुक्त गन्तव्य बनाएको मन्त्री रायको भनाइ छ।

उनले थपे, “यी पहलहरूका कारण आर्थिक वर्ष २०१९–२० मा जम्मू-कश्मीरको कुल गार्हस्थ उत्पादन (GSDP) मा पर्यटन क्षेत्रको योगदान ७.८४ प्रतिशतबाट बढेर २०२२–२३ मा ८.४७ प्रतिशत पुगेको छ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *