थारूहरू आन्दोलनमा उत्रिसके, कोशीमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाइयोस् : अमनलाल मोदी

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्‍दै सरकारी कामकाजमा लागू गर्न माग गरे।

‘कोशी प्रदेशले भाषा सम्बन्धी विधेयक ल्यायो। तर, थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा छुटाएको छ,’ उनले भने, ‘यो देशमा थारू समुदाय जनसंख्याका हिसाबले चौथो रूपमा पर्छ मेचीदेखि महाकालीसम्म। कोशी प्रदेशको कुरा गर्ने हो भने त अझ झापा, मोरङ, सुनसरी र उदयपुरमा बाहुल्‍य भाषाको रुपमा थारू समुदाय छन्।

तराईमा रहेका जल, जंगल र जमिनमा थारूको अन्तरसम्बन्ध छ। हिजो उनीहरूको सम्बन्ध खोसियो, खोसियो। आज भाषा, संस्कृति पनि खोसिन लागेको छ। म सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले सरकारी कामकाजको भाषा बनाउन माग गर्दै थारू समुदाय सशक्त रूपमा आन्दोलनमा उत्रिएको भन्‍दै सभामुखलाई पहल गरिदिन आग्रह गरे । उनले भने, ‘अहिले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन कोशी प्रदेशमा रहेका थारू समुदाय सडक आन्दोलनमा उत्रिरहेका छन्। त्यसकारण म सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै उनले ग्रामथान गाउँपालिको नेताचोकदेखि पूर्वको केरोनसम्मको बाटो (ठूलो नहर), पश्चिममा खनारसम्मको बाटो हिँड्‍ने स्थितिमा नरहेको भन्‍दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *