सुदीप चौधरीको वृत्तचित्र शीर्ष पाँचमा छनोट
सुदीप चौधरीको वृत्तचित्र ‘गुन्जन’ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ। आगामी जनवरी ३० देखि काठमाडौंमा आयोजना हुने आठौं फिल्म फेस्टिभलका लागि चौधरीको वृत्तचित्र छनोट भएको हो।
सन् २०२७ मा आयोजना हुने फेस्टिभलको राष्ट्रिय वृत्तचित्र विधामा ‘गुन्जन’ उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएको छ। चौधरीले आफ्नो वृत्तचित्र उत्कृष्ट पाँच मनोनयनमा परेको जानकारी दिएका छन्।
रौतहटको बिर्ती प्रस्टोकामा बसोबास गर्ने डोम समुदायको जीवन, भोगाइ र संघर्षमा आधारित ‘गुन्जन’ ले पुस्तौंदेखि भोग्दै आएको उपेक्षा, जातीय विभेद र सामाजिक बहिष्करणका कारण समुदायले सामना गर्नुपरेका चुनौतीलाई उजागर गरेको छ।
समुदायका सदस्यसँग गरिएका आत्मीय संवाद, उनीहरूको दैनिक जीवनका दृश्य र सांस्कृतिक अभिव्यक्तिमार्फत वृत्तचित्रले डोम समुदायको यथार्थ चित्रण गरेको छ। सामाजिक विभेद र अवसरको अभावका बीच पनि आफ्नो संस्कृति, पहिचान र आशालाई जोगाइराख्न समुदायले गरिरहेको प्रयासलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ।
समाजमा कमै सुनिने सीमान्तकृत समुदायका आवाजलाई स्थान दिँदै ‘गुन्जन’ ले उनीहरूको संघर्षसँगै धैर्य, सामुदायिक शक्ति र सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ।
रौतहटका थारू युवा चौधरी वृत्तचित्र निर्माण, फोटोग्राफी, वेबसाइटमा कथा प्रस्तुति, टिकटक रिल्स तथा अनुसन्धानमूलक दस्तावेजीकरणमार्फत थारू भाषा, संस्कृति, पहिचान र समुदायका कथाहरूको अभिलेखीकरण तथा संरक्षणमा सक्रिय छन्।
Facebook Comment