कोरियाको अस्पतालमा कोमामा छन् कमल चौधरी, ज्यान बचाइदिन परिवारको गुहार

उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरी सुन्दर भविष्यको सपना बोकेर दक्षिण कोरिया पुगेको एक वर्ष मात्रै भएको थियो । तर, उनी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित एक अस्पतालमा कोमामा छन् । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनको होस् अझै खुलेको छैन ।

यता, उपचारमा लागेको खर्च १६ लाख नेपाली रुपैयाँ नाघिसकेको छ, तर त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग छैन । कमलकी श्रीमती मनिषा कुमारी चौधरी भावुक हुँदै भन्छिन्, ‘कोरियाको अस्पतालले १६ लाख रुपैयाँ बराबरको बिल पठाएको छ । तर हामीसँग तिर्नसक्‍ने त्यति पैसा छैन, न त हामीसँग जमिन छ न त गरगहना। यति धेरै रकम कहाँबाट ल्याएर तिर्ने ?’

कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अझै अनभिज्ञ छ । घटना भएको तीन दिनपछि मात्रै खबर पाएका परिवारका सदस्यलाई उनलाई के भएको हो भन्ने यकिन जानकारी छैन ।

कमलकी श्रीमती मनिषा कुमारी चौधरी भन्छिन्, ‘उहाँ लडेको भनेर भन्दै हुनुहुन्थ्यो, तर कसरी लड्नुभयो भन्ने थाहा छैन । काम गर्ने क्रममा हो कि, कोठामा लड्नुभएको हो कि, अथवा कसैसँग झगडा भयो कि, हामीलाई केही थाहा छैन ।’

घटना हुनुभन्दा करिब एक महिनाअघि कमलले कम्पनीको काम छोडिसकेका थिए । उनी अर्को कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो ।

‘कम्पनी छोडेको पनि हामीलाई पछि मात्रै थाहा भयो,’ मनिषाले भनिन्, ‘उहाँको अवस्थाबारे सोध्दा हातखुट्टा अलिअलि चलाउनुहुन्छ, आँखा झिमझिम गर्नुहुन्छ भन्नेबाहेक अरू जानकारी हामीसम्म आइपुग्दैन ।’

अस्पतालले उपचार खर्चबापत १६ लाख रुपैयाँभन्दा बढीको बिल पठाइसकेको छ र रकम तिर्न निरन्तर ताकेता गरिरहेको छ । तर, आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले चौधरी परिवारसँग त्यो रकम तिर्ने उपाय छैन ।

‘हामीसँग पैसा छैन, कहाँबाट ल्याएर तिर्ने त्यति पैसा ?’, मनिषा भन्छिन्, ‘घरमा जग्गाजमिन केही छैन, एउटा घर मात्रै हो । उता अस्पतालले बिल पठाईपठाई टर्चर दिएको छ ।’

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर मैया कँडेलले उपचार जारी रहेको बताइन् ।

अहिलेसम्म अचेत अवस्थामै रहेको र घर परिवार तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउने काम भइरहेको बताइन् । कमलले कम्पनी छोडेर सेल्टरमा बसिरहेको बेला अत्यधिक रक्सी सेवनका कारण ढलेको हुनसक्ने प्रारम्भिक जानकारी आएको थियो । उनलाई प्रहरी र एम्बुलेन्सले अस्पताल पुर्‍याएका थिए । ‘उनको टाउकोमा रगत जमेको थियो । हामीले जानकारी पाउनेबित्तिकै परिवार र आफन्तको खोजी गर्‍यौं,’ कँडेलले भनिन्, ‘तत्काल उनको उपचार आवश्यक थियो ।’

कम्पनीमा नभएका कारण स्वास्थ्य बीमा नभएकाले उपचार खर्च महँगो भएको हो । तर, पछि दूतावास र कोरियामा रहेका आफन्तको पहलमा कमलको स्वास्थ्य बीमा गरिएको छ । अब उनको उपचार खर्चको ७० प्रतिशत बीमाले व्यहोर्नेछ भने बाँकी ३० प्रतिशत परिवारले तिर्नुपर्नेछ । तर, कोरियाको महँगो उपचारअनुसार ३० प्रतिशत रकम पनि दैनिक लाखौं हुने उनको भनाइ छ ।

उनको टाउकोको ‘मेजर अप्रेसन’ गर्नुपर्ने छ, तर त्यसका लागि पनि ठूलो रकम आवश्यक छ । स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई तत्काल नेपाल ल्याउन पनि सम्भव छैन । ‘नेपाल पठाउन बिरामी ‘फिट टु फ्लाई’ हुनुपर्छ, तर उहाँको अवस्था त्यस्तो छैन,’ कँडेलले भनिन् ।

‘कमल चौधरी बचाउ अभियान’ सुरु, सहयोग जुटाउन परिवार अपील

कमलको जीवन रक्षाका लागि कोरियामा रहेका नेपालीहरूले ‘कमल चौधरी बचाउ अभियान’ सुरु गरेका छन् । थारू कल्याणकारिणी सभा र उदयपुर सेवा समाज, दक्षिण कोरियाले संयुक्त रूपमा आर्थिक सङ्कलन अभियान चलाएका छन् ।

अभियानले एक सूचना जारी गर्दै भनेको छ, ‘कृषि भिसामा दक्षिण कोरियामा कार्यरत कमल चौधरीको पक्षघात भई सिकिस्त अवस्थामा उपचाररत रहेको र पारिवारिक अवस्था पनि नाजुक रहेकाले उपचार खर्चमा कठिनाइ आइपरेको छ । उहाँको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं ।’

एक युवाको जीवन र एउटा परिवारको भविष्य अहिले सहयोगको पर्खाइमा छ । सपनाको देशमा जिन्दगीसँग लडिरहेका कमललाई बचाउन सबैको सानो सहयोगले ठूलो अर्थ राख्नेछ ।

यस्तै कमलको परिवारले पनि उपचारमा सहयोग जुटाउन अपील गरेको छ। कमलको श्रीमती मनिषाको एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ००६६८५८८६९२३०१ सहयोग गर्न अपील गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *