जेनजी आन्दोलन भ्रष्टाचार र राजनीतिक बेथितिविरुद्ध थियो : जेनजी अभियन्ता रक्षा बम

रक्षा बम।

हाम्रो पुस्ता पहिल्यैदेखि देशमा भएको भ्रष्टाचार, अनियमिततादेखि वाक्कदिक्क थियो । तर, ती कुराहरू अहिले सामाजिक सञ्जाल र प्रविधिको युगमा त्यहीँ सीमित गर्दै आएको थियो । पछि परिस्थिति यस्तो भइदियो कि सामाजिक सञ्जालकै कारणले हामी जेनजी पुस्तामा एक किसिमको सचेतना आयो । हामीले हाम्रो प्रश्न थाहा पायौं । त्यो प्रश्न के हो भने- हामीले तिरेको करको पैसा कता छ ? यसको सुरुवात् पनि रोचक रह्यो ।

त्यसबेला नेपालमा नेपोबेबिज ट्रेन्ड चलिरहेको थियो । विभिन्न मान्छेहरूले आफ्नो सामाजिक सञ्जालमा नेताका छोराछोरीको विलासी जीवनशैलीलाई एक्सपोज गर्दै फोटोहरू पोस्ट गर्दै थिए । भिडियोहरू पोस्ट गर्दै थिए । एउटा वर्ग थियो, जसको कुनै निश्चित आम्दानी छैन । उसको बुवा, हजुरबुबाको पनि कुनै स्टेबल आम्दानीको स्रोत छैन । तर, उनीहरूले कसरी यस्तो विलासी जीवन जीवन विताइरहेको छ भन्ने प्रश्नले सबैलाई हिट गर्‍यो । विस्तारै यो सोसल मिडियामा ट्रेन्डिङ हुन थाल्यो ।

डिस्कर्ड ग्रुप र टिकटकबाट यो सुरु भइरहेको बेलामा सरकारले एक्कासी सामाजिक सञ्जाल बन्द गरिदियो । त्यसपछि हाम्रो पुस्ताले आफ्नो आवाज राख्दै आएको सिभिक स्पेस नै बन्द गरिदियो । त्यसपछि अब अति भयो भनेर सडकमा उत्रिने निर्णय लिएका थियौं । विस्तारै यो देशमा हुने भ्रष्टाचार बन्द गर्न नसक्ने उल्टो हाम्रो आवाज बन्द गर्ने भन्ने भाष्य पनि स्थापित हुँदै गयो, त्यसपछि हजारौं मानिसहरूको सडकमा उपस्थितिमा भयो ।

जब भ्रष्टाचारविरुद्ध आवाज उठिरहेका बेला सरकारले सामाजिक सञ्जाल बन्द गरायो, त्यसपछि सबैको मनमा आक्रोश फैलियो । हामीले ठान्यौं, भ्रष्टाचार बन्द गर्न नसक्नेहरूले हाम्रो आवाज बन्द गर्दै छन् । वर्षौंदेखि उनीहरूको दमन, शोषण अनि हामीले तिरेको करमा खेलवाड हामीले सहेर बस्नुपर्ने अनि, हाम्रो आवाज चाहिँ उनीहरूले बन्द गर्नु कुनै हालतमा मान्य हुने कुरा थिएन । यस्तोमा अब सडकमा आन्दोलन गनुपर्छ भन्ने मान्यता राख्नेहरूको एउटा समूह बन्यो ।

जतिबेला डिस्कर्डमा पहिलो समूह बनेको थियो, त्यसबेला लगभग २ देखि ३ सय जना हुनुहुन्थ्यो । अहिले त्यो ग्रुपमा २५ हजार सम्मको मास छ । अरु समूहमा अझ बढी युवा छन् । डिस्कर्ड ग्रुपमा धेरै छलफल भए, फेसबुक, इन्टाग्रामको रिल्स, टिकटक र फेसबुकले जनतालाई सचेत बनाउन काम गर्‍यो । तर, डिजिटल स्पेशमा मात्र संगठित भएर यसले सही बाटो नलिनसक्थ्यों । त्यसैले व्यक्तिगत रुपमा भेट गरेर समेत तयारी थालेको थियौं ।

प्रत्यक्ष छलफलका क्रममा पहिले अरु अभियानमा जोडिने साथीहरूलाई समेत प्राथमिकता दिन थाल्यौं । पहिले सडकमा जो-जो भेटिन्थ्यौं, उहाँहरूलाई यो हाम्रो पुस्ताको आन्दोलन हो भन्दै समेट्न थाल्यौं । आन्दोलनको एक दिनअघि चाहिँ हामीले अरू विभिन्न ग्रुपहरूलाई समेत भेटेका थियौं । विभिन्न समूहसँग छलफल भएपछि भोलि (२३ भदौ) मा हुने आन्दोलन शान्तिपूर्ण रूपमा हुने निष्कर्ष निकालिएको थियो । शान्तिपूर्ण तरिकाले शक्ति देखाउँछौं भन्ने थियो, त्यही तरिकाले आन्दोलन बढिरहेको थियो ।

हाम्रोतर्फबाट पनि पूर्वतयारीमा अलिकति कम भयो कि भन्ने लाग्छ । यो संख्यामा उपस्थिति हुन्छ भन्ने सोचेर अझ सचेत भएर संगठित रुपमा जान सक्थ्यौं हाम्रो तर्फबाट । तर त्यो दिन जुन दमन भयो त्यो चाहिँ पूरा जिम्मेवारी राज्यको नै हो । सडकमा जुन संख्यामा जेनजी युवा उत्रिरहेका थिए, थियौं, हामीलाई राज्यले टेकन अफ ग्रान्टेड जसरी दिए । त्यहाँ भएका प्रहरी पनि हाम्रो मासको सुरक्षाका लागि पर्याप्त थिएन । उनीहरूको योजना नै थोरै प्रहरी राखेर दमन मात्र गर्ने जस्तो देखिन्छ ।

सुरुमा उहाँहरूले एकदमै नजरअन्दाज गर्नुभएको जस्तो देखिन्थ्यो । अनि, खासमा हामीले माइतीघरबाट नयाँ बानेश्वरसम्म जानलाई प्रशासनबाट अनुमति समेत लिइसकेका थियौं । त्यहाँबाट अगाडि बढ्यो भने त्यो प्रहरी प्रशासनकै जिम्मामा हुन्छ भन्ने खाल्को कुरा थियो । त्यहाँबाट अगाडि बढ्न खोज्दा तपाईंहरूले हेर्नुहोला है भनेर हामीले अगाडि देखि नै प्रहरीसँग स्पष्ट संवाद गरिरहेका थियौं । तर, हामी एभरेस्ट होटल पुग्ने बित्तिकै त्यहाँ एउटा सामान्य डोरीले नै बनाएको ब्यारिकेड थियो । अरू बेला आन्दोलनमा त्यस्तो हुन्थेन । यस्तो प्रकृतिको आन्दोलनमा पनि यति धेरै संख्या देख्दादेख्दै प्रहरीले किन यस्तो गर्‍यो भन्ने आफैंमा अनौठो छ ।

अनि, जब अनियन्त्रित भिड बानेश्वरपट्टि गइसक्यो, त्यसपछि बल्ल ब्यारिकेट लगाएको थियो । तर, प्रहरीकै कमजोरीका कारण हाम्रा साथीहरू बानेश्वरतर्फ अघि बढे, त्यसपछि उहाँहरूले वाटर क्यानन अनि अश्रु ग्यास हान्न थाल्नुभयो । गोली पनि चलाउन थालेपछि माहोल झनै बिग्रियो । अश्रु ग्यास हान्न थालेपछि हामी गाडीबाट ओर्लियौं र केही साथीहरू विद्यार्थी भाइबहिनीलाई सम्झाउन थाल्यौं । विद्यार्थी भाइबहिनीहरूलाई चाहिँ फर्किनुस्, स्थिति बिग्रिँदै छ भनेर धेरैलाई फर्कायौं । तर, छोटो समयमै हामै आँखा अगाडि मान्छे घाइते भएर हिँडिराख्नु भएको थियो । राज्यबाट जुन किसिमको दमन भयो, त्यसको पूरै जिम्मेवारी राज्यले लिनु पर्छ ।

यो तत्कालीन सरकारबाट भ्रष्टाचार अन्त्य गर्नेहरूप्रति गरेको दमन हो । उहाँहरूले कतिसम्मको अमानवीय व्यवहार गर्नुभयो भने अस्पतालभित्र पनि खोजी-खोजी ताकेर खोली हान्नु भयो । खोजी-खोजी टाउकोमै तोकेर गोली हान्ने कुरा कहाँको न्याय हो ? यो कहाँको संविधानमा लेखेको छ ? विद्यार्थीसँग के प्रतिशोध साधेको हो, थाहा छैन । प्रदर्शनमा यस्तो टिनएजमै भएका साथीहरू पनि हुनुहुन्थ्यो । अझ साना विद्यार्थीहरू पनि थिए । म फेरि पनि भन्छु, हाम्रो गल्ती नै के थियो ? जसका कारण उहाँहरूले टाउकोमै गोली चलाउनु पर्‍यो ?

हामीले मागेको पहिलो कुरा सामाजिक सञ्जालमा प्रतिबन्ध फुकुवा हुनुपर्‍यो भन्ने थियो । र, अर्को भ्रष्टाचारमुक्त देश हुनुपर्‍यो भन्ने मागेका थियौं । हाम्रो बटम लाइन नै त्यही थियो । त्यसपछि थपिएका संसद् विघटन हुनुपर्ने लगायतका माग त पछि परिस्थितिले सिर्जना भएको हो । राज्यले दमनले सिर्जना गराएको हो । यदि त्यो माग नै सरकारले सम्बोधन गरेको भए यो स्थिति आउँदैनथ्यो होला । व्यवस्थाको विकल्प हामीले कहिल्यै खोजेको थिएनौं । हामी आफैँ पनि डेमोक्रेसीको लागि एड्भोकेसी गर्ने मान्छेहरू हौं ।

हामीले त शान्तिपूर्ण आन्दोलन गर्ने भनेर अनुमति नै लिएका थियौं। शान्तिपूर्ण प्रदर्शन गर्ने कुरा संविधाले दिएको अधिकार पनि थियो। तर, आन्दोलनको पहिलो दिन जुन घटना घट्यो, एकैदिन १९ युवालाई राज्यले मार्‍यो, त्यसपछि कसैलाई घरमा लुकेर बस्न मनले मानेन । त्यसपछि सबै सडकमा उत्रिए । सडकमा यति आक्रोश थियो कि यो थेगिसक्नु थिएन ।

पहिलो दिनको भिडियोहरू झन् भाइरल भएपछि सबै उर्लिएर आए । हाम्रै छेऊमा उभिएका साथीलाई गोली लागेको छ । अरूको पनि स्थिति त्यस्तै छ, सिधा टाउकोमा गोली हानिएको छ । त्यसपछि अर्को दिन घरमा जेनजी मात्र होइन, उहाँहरूको बुबाआमा पनि आउनुभयो । त्यतिबेला गृहमन्त्रीको राजीनामा आइसकेको थियो । तर, हाम्रो माग प्रधानमन्त्रीको पनि राजीनामा भन्ने भयो । त्यसपछि सिंगो जेनजीको प्रतिनिधित्व नगर्ने संसद् भवन चाहिँदैन भनेर सांकेतिक रूपमा त्यसतर्फ अघि बढ्न खोजेका थियौं ।

त्यहाँ भएका प्रतिनिधिहरूले हाम्रो आवाज सुनेनन्, हाम्रो आवाज ठाउँमा पुर्‍याएनन् भन्ने भएपछि सबै संसद् भवनतिर अघि बढे । जब युवाले संसद् भवन कब्जा गरे, त्यसपछि बल्ल प्रधानमन्त्रीको राजीनमा आयो । सार्वजनिक सम्पत्ति तोडफोड गर्नु, जलाउनु एकदमै आपत्तिजनक कुरा नै हो । हामीलाई यसमा दुःख छ । तर, खास कुरा चाहिँ के हो भने जेन्जीको स्पिरिट चाहिँ त्यो होइन । हामीले सरकारी संरचना तोडफोड गर्ने, जलाउनेभन्दा पनि सांकेतिक रुपमा संसद् भवन चाहिँदैन भनेका हौं । हामीलाई अब नयाँ सत्ता चाहियो भनेका हौं ।

हाम्रा सुरुवाती जे माग थिए, घाइते र मृतक साथीहरूका बारेमा, ती पूरा हुन थालेका छन् । अर्को मुख्य माग भ्रष्टाचारको विषयमा प्रधानमन्त्रीज्यू स्वयंको पनि पहिल्यैदेखि अडान छ । उहाँले पहिल्यैदेखि नै सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहनु भएको छ र उहाँले यो कुरा मजाले बुझ्नु भएको छ । उहाँले हामीलाई विश्वस्त गराउनु भएको छ कि जुन हाम्रा प्राथमिक मागहरू थिए, त्यो पूरा हुन्छन् । बाँकी मागहरू पूरा गर्ने कुरामा उहाँले तपाईंहरूको सहयोग चाहिन्छ भन्नु भएको छ । त्यसैले अहिले हामी उत्साहित नै हुनुपर्ने स्थिति हो ।

मलाई लाग्छ अब जवाफदेहिता, पारदर्शिता र सुशासन मुख्य कुरा हो । यो वटा कुरामा जेनजी र नयाँ पुस्ताले यो सरकारसँग अपेक्षा राख्ने हो । यी विषयमा एकदमै निर्धक्कका साथ यो सरकारले डेलिभरी दिनसक्छ भन्ने लाग्छ । चुनावमा पुराना दलका मान्छेहरूलाई चाहिँ पूर्णरूपमा निषेध गर्ने भन्ने त खोजेका होइनौं । किनभने, लोकतान्त्रिक पद्धतिमा सबैजना स्वतन्त्र हुनुहुन्छ आफ्नो तरिकाले आउनलाई । तर कुरा के हो पुरानो दलका मान्छे आउँछन् भनेर सोच्ने हामीसँग अप्सन नै त्यो छैन ।

त्यसैले हामीले चुनावलाई कसरी स्वतन्त्र र निष्पक्ष बनाउने भन्ने कुरामा लाग्नुपर्छ । यही आन्दोलनबाट मानिसहरू स्वतः स्फूर्त रुपमा चुनाव लड्न जानुपर्छ । जो मान्छे सक्षम छ, जो मान्छे सफल छ, त्यो मान्छे आएर लड्नु पर्छ । पुरानो दलको मान्छेहरू आए पनि एउटा स्वच्छ प्रतिष्पर्धा होस् । तर, ती दलका मान्छेहरूले पनि अब के बुझ्नु पर्छ भने यत्रो भइसक्दा पनि फेरि त्यही शैली, तिनी मानिसहरू आउँछन् भने जनताले सोच्ने बेला भएको छ । अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *