‘थारू गाउँ’मा प्रस्तुती दिन तयार भए समीक्षा चौधरी र विजय चौधरी
थारूहरूको नयाँ वर्ष माघीको अवसरमा अहिले थारू बाहुल्य क्षेत्रमा मेला/महोत्सवको रौनक छ। थारू बाहुल्य क्षेत्रमा मात्र नभएर ठूल्ठूला सहरमा पनि मेला/महोत्सव लाग्दै आएको छ।
पश्चिम तराईका केही महोत्सवहरूमा भने ‘थारू गाउँ’को प्रचलन पनि प्रख्यात छ। विशेषतः मूल मेलाभित्र केही क्षेत्रमा थारू गाउँको नाम दिइएको मिनी महोत्सव लगाइन्छ। तर, थारू गाउँभित्र विकृति भएको भन्दै थारू कलाकारहरूले विरोध जनाउँदै आएका छन्। थारू गाउँमा थारू कला र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा भोजपुरी गीत र अश्लील नृत्यहरू प्रस्तुत गर्ने गरिएको थारू कलाकारहरूको आरोप छ।
तर, थारू गाउँलाई सुधारको बाटोमा लैजाने दायित्व पनि थारू कलाकारहरूकै रहेको केहीको बुझाइ छ। सोही दायित्व बोध गरेर टीकापुर महोत्सवको थारू गाउँमा केही थारू कलाकारहरूले आफ्नो प्रस्तुती दिने भएका छन्। गायिका समीक्षा चौधरी र विजय चौधरीले थारू गाउँमा प्रस्तुती दिन तयार भएका हुन्।
कैलालीका थारू अभियन्ता प्रसिद्ध चौधरीका अनुसार गायिका समीक्षा चौधरीले माघ १ गते र विजय चौधरीले माघ ५ गते थारू गाउँमा प्रस्तुती दिनेछन्। उनका अनुसार दुवै कलाकारले थारू गाउँमा निशुल्क प्रस्तुती दिन लागेका हुन्।
‘थारू गाउँका आयोजकले थारू कलाकाहरूलाई अफोर्ट गर्न सक्दैनन्। त्यही भएर पनि होला उनीहरूले स्थानीय कालाकार वा त्यस्तै खालका कलाकारहरूलाई प्राथमिकता दिएका। त्यसलाई निरुत्साहित गर्न थारू कलाकाहरूले नै भूमिका खेल्नुपर्छ भन्ने समीक्षाजी र विजयीजीलाई लागेको छ। त्यही भएर उहाँहरू थारू गाउँभित्र निशुल्क प्रस्तुती दिन तयार हुनुभएको छ,’ थारुवानसँग प्रसिद्धले भने।
अब आगामी दिनमा अन्य थारू कलाकारहरूले यसलाई कसरी हेर्छन् भन्ने कुरा हेर्न बाँकी छ।
Facebook Comment