सक्रिय भूकम्पीय दरारमाथि बनिरहेको तिब्बतको ब्रह्मपुत्र मेगा बाँधको सुरक्षामाथि चिनियाँ भूगर्भविद्कै प्रश्न

चिनियाँ भूगर्भविद्हरूले गरेको एक अध्ययनले तिब्बतमा ब्रह्मपुत्र नदीमाथि निर्माण भइरहेको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनामुनि रहेको सक्रिय भौगर्भिक दरार (fault line) ले यसको संरचनात्मक स्थायित्वमा असर पार्न सक्ने देखाएको छ। यसले यस परियोजनाले क्षेत्रीय विपद् रोक्न सहयोग गर्ने बेइजिङको बारम्बारको दाबीमाथि प्रश्न उठाएको छ।

यो परियोजना भारतको अरुणाचल प्रदेशसँग जोडिएको सीमा नजिकै निर्माण भइरहेको छ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट का अनुसार चिनियाँ वैज्ञानिकहरूले पूर्वी हिमालय क्षेत्रमा रहेको पृथ्वीको भूपर्पटी (crust) को एक दरारले यो विशाल जलविद्युत् परियोजनाको संरचनात्मक मजबुतीमा ठूलो प्रभाव पार्न सक्ने बताएका छन्।

गत महिना चिनियाँ भाषाको Sedimentary Geology and Tethyan Geology जर्नलमा प्रकाशित अनुसन्धानपत्रमा वैज्ञानिकहरूले प्लाइस्टोसिन युग (हिमयुग) देखि अत्यधिक सक्रिय रहेको पाइझेन फल्ट (Paizhen Fault) ले बाँध, सडक, पुल, सुरुङ र जलाशय क्षेत्रलगायत आसपासका संरचनाहरूको स्थायित्वमा ठूलो असर पार्न सक्ने उल्लेख गरेका छन्। यो अध्ययन चीनको सरकारी संस्था चाइना जियोलोजिकल सर्भे को निगरानीमा गरिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार लामो समयदेखि सक्रिय रहेको उक्त भौगर्भिक दरारका कारण वरपरका चट्टानहरू कमजोर र चिरा परेका छन्। यसले त्यहाँ निर्माण हुने पूर्वाधारको जग र संरचनात्मक सुरक्षालाई क्षतिको जोखिममा पार्न सक्छ।

अनुसन्धानपत्रमा भनिएको छ, “पाइझेन क्षेत्र यारलुङ साङ्पो नदीको तल्लो भागमा निर्माण भइरहेको जलविद्युत् परियोजनाको जलाशय क्षेत्रभित्र पर्छ।” चीनले ब्रह्मपुत्र नदीलाई यारलुङ साङ्पो (Yarlung Tsangpo) नामले चिन्ने गर्छ।

चीनले गत वर्ष जुलाईमा तिब्बतमा ब्रह्मपुत्र नदीमाथि १६७.८ अर्ब अमेरिकी डलर लागतको बाँध निर्माण औपचारिक रूपमा सुरु गरेको थियो।

वार्षिक ३०० अर्ब किलोवाट घण्टाभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो परियोजनाले ३० करोडभन्दा बढी मानिसको वार्षिक ऊर्जा आवश्यकता पूरा गर्ने अनुमान गरिएको छ। यो बाँध हिमालयको विशाल खोंच क्षेत्रमा निर्माण भइरहेको छ, जहाँ ब्रह्मपुत्र नदीले ठूलो ‘यू’ आकारको मोड लिँदै भारतको अरुणाचल प्रदेश प्रवेश गर्छ र त्यसपछि बंगलादेशतर्फ बग्छ।

भूकम्पीय जोखिम उच्च रहेको टेक्टोनिक प्लेटको सीमाक्षेत्रमा पर्ने भए पनि चीनले ठूलो इन्जिनियरिङ चुनौतीका बाबजुद यो परियोजना अघि बढाएको हो। “विश्वको छानो” भनेर चिनिने तिब्बती पठार (Tibetan Plateau) भित्र रहेका टेक्टोनिक प्लेटहरूको निरन्तर गतिविधिका कारण यहाँ समय–समयमा शक्तिशाली भूकम्प जाने गर्छ।

अनुसन्धानकर्ताहरूले सन् २०१७ मा तिब्बतको मिलिन क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको भूकम्पलाई उक्त दरार अझै सक्रिय रहेको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूले भनेका छन्, “क्षेत्रीय भूकम्पीय गतिविधिका क्रममा पहिरो र भू–क्षय सजिलै उत्पन्न हुन सक्छ, जसले इन्जिनियरिङ संरचना र त्यहाँ कार्यरत मानिसहरूको सुरक्षामा खतरा पुर्‍याउन सक्छ।”

नयाँ अध्ययनले परियोजनाको संरचनात्मक सुरक्षाबारे थप चिन्ता बढाएको छ। अनुसन्धानकर्ताहरूले जोखिमयुक्त पहाडी भागलाई थप बलियो बनाउन र पहिरो तथा भू–क्षय रोक्न सुरक्षा संरचना निर्माण गर्न इन्जिनियरहरूलाई सुझाव दिएका छन्।

तर चीनले भने यस परियोजनाको सुरक्षाबारे उठेका प्रश्नहरूलाई निरन्तर खारेज गर्दै आएको छ। बेइजिङले परियोजनाले उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने र यसले क्षेत्रमा हुने विपद् रोक्न सहयोग गर्ने दाबी गर्दै आएको छ।

डिसेम्बर २०२४ मा जारी गरिएको चिनियाँ आधिकारिक वक्तव्यमा जलविद्युत् परियोजना सुरक्षित रहेको र वातावरणीय संरक्षणलाई प्राथमिकता दिइएको उल्लेख थियो। वक्तव्यमा भनिएको थियो, “व्यापक भूगर्भीय अध्ययन र प्राविधिक विकासमार्फत वैज्ञानिक, सुरक्षित र उच्च गुणस्तरीय परियोजना विकासका लागि बलियो आधार तयार गरिएको छ।”

गत वर्ष जुलाईमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सीमापार नदीहरूको विकासमा चीन जिम्मेवार रहेको र जलविद्युत् परियोजना निर्माणमा उससँग पर्याप्त अनुभव रहेको बताएका थिए।

उनले नदीको तल्लो क्षेत्रमा निर्माण भइरहेको परियोजनाको योजना, डिजाइन र निर्माणका क्रममा चीनले उच्चतम औद्योगिक मापदण्ड पालना गरेको र वातावरणीय संरक्षणलाई पूर्ण रूपमा ध्यान दिएको दाबी गरेका थिए।

उनले यो परियोजनाले नदी क्षेत्रमा हुने विपद् रोक्न सहयोग गर्ने र तल्लो तटीय क्षेत्रहरूमा नकारात्मक असर नपार्ने पनि बताएका थिए। ब्रह्मपुत्र नदी तिब्बती पठार पार गर्दै विश्वकै सबैभन्दा गहिरो उपत्यका निर्माण गरेर भारत प्रवेश गर्छ।

साउथ चाइना मर्निङ पोस्ट का अनुसार यो अध्ययन चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजी, चाइना जियोलोजिकल सर्भेको सिभिल–मिलिटरी इन्टिग्रेसन सेन्टर र मिडल यारलुङ जाङ्बो रिभर नेचुरल रिसोर्सेज अब्जर्भेसन एन्ड रिसर्च स्टेसनका भूगर्भविद्हरूले गरेका हुन्।

अनुसन्धानकर्ताहरूले निर्माण भइरहेको तिब्बतको पाइ (Pai) अर्थात् पाइझेन गाउँ हिमालयन भूकम्पीय क्षेत्रमा पर्ने बताएका छन्। यो क्षेत्र चीन र आसपासका मुलुकका सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्रमध्ये एक हो, जहाँ यारलुङ साङ्पो क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिन्छ।

अनुसन्धानपत्रमा भनिएको छ, “यस क्षेत्रमा देखिएको चतुर्थकालीन (Quaternary) भौगर्भिक गतिविधिको अभिलेखले आसपासका परियोजनाहरूको संरचनात्मक स्थायित्व अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्छ।” पाइझेन फल्ट पूर्वी हिमालय क्षेत्रमा रहेका टेक्टोनिक दरारहरूको सञ्जालको हिस्सा हो। यी दरारहरू भारतीय र युरेसियन टेक्टोनिक प्लेटको ठोक्किने प्रक्रियाबाट बनेका हुन्।

अनुसन्धानकर्ताहरूका अनुसार यो दरार प्रारम्भिक प्लाइस्टोसिन युगदेखि सक्रिय रहँदै आएको छ र अहिलेको होलोसीन युगमा पनि यसको गतिविधि जारी छ। प्राचीन तालका अवशेषहरूको अध्ययनबाट यो दरार करिब ९ हजार ५०० वर्षअघिसम्म पनि सक्रिय रहेको प्रमाण भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *