चीनको गस्ती गतिविधिले ‘गम्भीररूपमा अस्थिरता निम्त्याउँछ’ : अमेरिका

ताइवानको पूर्वी समुद्री क्षेत्रमा चीनले तटरक्षक जहाज परिचालन गरेर गस्ती बढाएको भन्दै अमेरिकाले त्यसलाई ‘गम्भीर रूपमा अस्थिरता निम्त्याउने’ कदम भनेको छ। साथै, अमेरिकाले बेइजिङलाई ताइवानमाथिको दबाब अभियान अन्त्य गरी त्यहाँको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारसँग अर्थपूर्ण संवाद गर्न आग्रह गरेको छ।

चिनियाँ तटरक्षकले शुक्रबार ताइवानको पूर्वी समुद्री क्षेत्रमा ‘सिउसान’ (Xiushan) नामक जहाजको नेतृत्वमा गस्ती टोली परिचालन गरिएको जनाएको थियो।

चिनियाँ तटरक्षकका प्रवक्ता जियाङ लुएले जुलाईदेखि सिउसान नेतृत्वको टोलीले सम्बन्धित समुद्री क्षेत्रमा नियन्त्रण तथा गस्तीलाई थप मजबुत बनाएको बताएका छन्। उनका अनुसार यसबाट समुद्री यातायात तथा अन्य समुद्री गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

गस्तीको उद्देश्य ताइवान जलडमरूमध्यका दुवै किनारका माछा मार्ने समुदायका ‘वैध अधिकार तथा हित’ र उनीहरूको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नु रहेको जियाङले बताएका छन्।

चीनको उक्त घोषणाप्रति प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले ताइवाननजिक चिनियाँ तटरक्षकको गतिविधिप्रति वासिङ्टन चिन्तित रहेको बताएका छन्।

‘ताइवानको पूर्वमा चिनियाँ तटरक्षकको गतिविधिप्रति अमेरिका अझै चिन्तित छ। चीनका गतिविधि गम्भीर रूपमा अस्थिरता निम्त्याउने खालका छन्,’ अमेरिकी प्रवक्ताले भने।

उनका अनुसार ताइवानले ७० वर्षभन्दा लामो समयदेखि शान्तिपूर्ण रूपमा प्रशासन गर्दै आएको समुद्री क्षेत्रमा चीनले आफ्नो अधिकार दाबी गर्नुले तनाव झन् बढाउने र उसले दाबी गर्दै आएको विवादको शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाउनेछ।

‘हामी बेइजिङलाई ताइवानमाथिको दबाब अन्त्य गर्न र यसको सट्टा ताइवानका लोकतान्त्रिक रूपमा निर्वाचित अधिकारीहरूसँग अर्थपूर्ण संवाद गर्न आग्रह गर्छौं,’ अमेरिकी प्रवक्ताले भने।

चीनले गत जुनदेखि ताइवानको पूर्वी समुद्री क्षेत्रमा ‘विशेष समुद्री कानुन कार्यान्वयन अभियान’ सञ्चालन गर्दै आएको छ। जापान र फिलिपिन्सबीच उक्त क्षेत्रमा समुद्री सीमासम्बन्धी वार्ता सुरु भएपछि चीनले त्यसको प्रतिक्रियास्वरूप यस्तो अभियान सञ्चालन गरेको बताउँदै आएको छ।

उक्त वार्ताले चीनको क्षेत्रीय सार्वभौमिकता तथा समुद्री अधिकारको गम्भीर उल्लंघन गरेको बेइजिङको दाबी छ।

यसैबीच, सन् २०१६ मा स्थायी मध्यस्थता अदालत (Permanent Court of Arbitration) ले दक्षिण चीन सागरमाथि चीनले गरेको समुद्री दाबीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कानुनी आधार नरहेको फैसला गरेको थियो।

ताइवानको तटरक्षक प्रशासनले पनि शुक्रबार चीनका जहाजहरूको गतिविधिमाथि नजिकबाट निगरानी भइरहेको जनाएको छ। त्यसका लागि ४ हजार टन क्षमताको चियायी–क्लासको ‘ताइपेई’ (CG5005) जहाज परिचालन गरिएको जनाइएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार ताइवानको वर्तमान ‘यथास्थिति’ परिवर्तन गर्ने पक्षमा आफू नरहेको बताएका छन्। उनले यथास्थिति परिवर्तन गर्न बल प्रयोग वा दबाब दिने कुनै पनि प्रयासको विरोध गर्ने स्पष्ट पारे।

रुबियोका अनुसार चिनियाँ अधिकारीहरूसँग भएका भेटवार्तामा पनि अमेरिकाको यही धारणा स्पष्ट रूपमा राखिएको छ। यद्यपि, उनले बेइजिङको यस विषयमा फरक धारणा रहेको र ताइवानको मुद्दालाई चीनले अत्यन्त संवेदनशील विषयका रूपमा लिने गरेको स्वीकार गरे।

‘अमेरिका र चीनबीचको कुनै पनि द्वन्द्व—आर्थिक होस् वा सैन्य, भगवान् नहोस्—दुवै देश र विश्वकै लागि विनाशकारी हुनेछ,’ रुबियोले भने।

उनले अमेरिका र चीनबीचको सम्बन्ध व्यवस्थापन गर्नुपर्ने भए पनि राष्ट्रिय हितबाट पछि हट्न नसकिने बताए।

‘यो विदेश नीतिको कठिन काम हो र यसले प्रत्येक प्रशासनलाई एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका यी दुई दबाबबीच सन्तुलन कायम गर्न बाध्य बनाउँछ,’ रुबियोले भने।

विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनले आपसी सम्बन्ध स्थापना गर्दै संवादलाई निरन्तरता दिनुपर्ने र द्वन्द्वको जोखिमलाई सकेसम्म कम गर्नुपर्ने रुबियोले बताए। अन्यथा यसको परिणाम अत्यन्त गम्भीर हुन सक्ने उनको चेतावनी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *