प्रशान्त क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र परीक्षणको असर, तुवालुमा सुनामीको भय

चीनले हालै गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणपछि प्रशान्त महासागरको सानो टापु राष्ट्र तुवालुका नागरिकमा सुनामी आउने त्रास उत्पन्न भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। क्षेप्यास्त्र खसेको स्थान तुवालुको सबैभन्दा नजिक रहेको क्षेत्र भएकाले परीक्षणलाई ‘घरमा कसैले जबर्जस्ती प्रवेश गरेजस्तो’ महसुस भएको उनको भनाइ छ।

प्रशान्त द्वीप समूह फोरमको बैठकका क्रममा शुक्रबार फिजीमा बोल्दै तुवालुका विदेश मामिला विभागका वरिष्ठ अधिकारी पासुना तुआगाले चीनले जुलाईको सुरुवातमा गरेको क्षेप्यास्त्र परीक्षणबारे कुनै पूर्वसूचना नदिएको र क्षेप्यास्त्र तुवालुको यति नजिक खस्ने जानकारीसमेत नदिएको बताए।

उनले यस घटनालाई अस्वीकार्य भएको स्पष्ट सन्देश बेइजिङलाई दिन क्षेत्रका विभिन्न देशहरू एकजुट हुनुपर्ने बताए।

‘आफैं कल्पना गर्नुस्, यो कसैले तपाईंको घरमा जबर्जस्ती प्रवेश गरेजस्तै थियो,’ तुआगाले भने। ‘यदि यो वास्तविक क्षेप्यास्त्र भएको भए के हुन्थ्यो? यही प्रश्न हामीले फोरमको औपचारिक बैठकमा उठाएका छौँ। के हामी वास्तविक क्षेप्यास्त्रले प्रहार गरेपछि मात्र वक्तव्य जारी गर्ने?’

तुआगाका अनुसार चीनले प्रशान्त क्षेत्रलाई क्षेप्यास्त्रको परीक्षणस्थलका रूपमा व्यवहार गर्नु उचित होइन। उनले फोरमका १८ सदस्य राष्ट्रले एक महिनाअघि गरिएको उक्त परीक्षणको सामूहिक रूपमा निन्दा गर्नुपर्ने बताए।

‘हामीले वक्तव्य जारी गर्नु महत्त्वपूर्ण छ, किनकि हामी कुनै पनि शक्तिबाट डराउन चाहँदैनौँ,’ उनले भने। यद्यपि उनले आफ्ना भनाइ व्यक्तिगत हैसियतमा रहेको र विदेश मामिला, श्रम तथा व्यापार मन्त्रालयका वरिष्ठ अधिकारीका रूपमा नबोलेको स्पष्ट पारे।

तुआगाका अनुसार तुवालुले चीनसँग यस विषयमा छलफल गर्ने प्रयास गरे पनि त्यसबाट कुनै निष्कर्ष निस्कन सकेन। उनले तुवालुले नजिकैको समुद्री क्षेत्रमा क्षेप्यास्त्रको परीक्षणका क्रममा प्रयोग गरिएको डमी वारहेड खोज्न अस्ट्रेलिया, फ्रान्स र अमेरिकालाई आग्रह गरेको बताए।

तुवालुका अधिकारीको यस्तो भनाइ न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले प्रशान्त क्षेत्रका देशहरूले चीनको क्षेप्यास्त्र परीक्षणको विरोध गर्ने अवसर गुमाएको टिप्पणी गरेपछि आएको हो।

पिटर्सले बैठकबाट चीनको क्षेप्यास्त्र परीक्षणबारे संयुक्त वक्तव्य जारी गर्न न्युजिल्यान्डले पहल गर्ने बताए। यद्यपि उनले यो विषय ‘अत्यन्त संवेदनशील’ रहेको पनि स्वीकार गरे।

शुक्रबार बैठक सुरु हुनुअघि फिजीको सुवामा पत्रकारहरूसँग कुरा गर्दै पिटर्सले भने, ‘यस बहसमा तर्कले जित्छ कि जित्दैन, वा आफूले पहिले नै तय गरेको धारणा परिवर्तन नगर्ने मानिसहरूले बहसको निष्कर्ष पहिल्यै तय गरिसकेका छन्, त्यो हेर्न बाँकी छ।’

जुलाई ६ मा चीनले पनडुब्बीबाट प्रहार गर्न सकिने आणविक क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त परीक्षणपछि प्रशान्त द्वीप समूह फोरमले हालसम्म कुनै औपचारिक वक्तव्य जारी गरेको छैन। यद्यपि अस्ट्रेलिया र न्युजिल्यान्डलगायत केही देशले चीनको कदमको आलोचना गरेका छन्।

संयुक्त वक्तव्य जारी गर्न कुन-कुन देश बाधक बनेका छन् भन्ने प्रश्नमा पिटर्सले कुनै देशको नाम लिएनन्। यद्यपि फोरमका केही सदस्य राष्ट्र चीनसँग नजिकको आर्थिक तथा सुरक्षा सम्बन्धमा छन्। तीमध्ये किरिबाटी, पपुवा न्युगिनी र सोलोमन आइल्यान्ड्स पनि पर्छन्।

क्षेप्यास्त्र परीक्षणबारे कमजोर वक्तव्य जारी गर्नु राम्रो कि कुनै वक्तव्य नै जारी नगर्नु राम्रो भन्ने प्रश्नमा पिटर्सले भने, ‘यही ६४ हजार डलरको प्रश्न हो, र यही विषयमा हामीले यो बैठकमा निर्णय गर्नुपर्छ।’

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले पनि शुक्रबार बिहान रेडियोसँग कुरा गर्दै उक्त विषय बैठकको कार्यसूचीमा रहेको बताइन्। उनले यसअघि चीनको क्षेप्यास्त्र परीक्षणलाई ‘अस्थिरता निम्त्याउने’ कदमका रूपमा व्याख्या गरेकी थिइन्।

‘प्रशान्त द्वीप समूह फोरमका अधिकांश सदस्यले चीनको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणप्रति चिन्ता व्यक्त गरेका छन्,’ वङले भनिन्। ‘प्रशान्त क्षेत्रका नेता तथा मन्त्रीहरूले उक्त परीक्षणबारे दिएको स्पष्ट प्रतिक्रियालाई चीनले गम्भीरतापूर्वक लिनेछ भन्ने मेरो आशा छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *