दसैंको मुखमा चीनद्वारा आर्थिक नाकाबन्दी, महँगीको मार जनता

दसैंको मुखमा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएपछि नेपाल-चीन व्यापार प्रभावित भएको छ। चिनियाँ पक्षले नेपालतर्फको सडकको अवस्था देखाउँदै तातोपानी नाकाबाट व्यावसायिक आवागमन रोकेपछि दसैंका लागि आवश्यक सामग्रीको आयातदेखि व्यापारिक गतिविधिसम्म प्रभावित हुने अवस्था बनेको हो।

तातोपानी नाका बन्द हुँदा नेपालतर्फ आयात हुने सामान रोकिएका छन् भने व्यापारीहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। यसले ढुवानी लागतसमेत बढ्ने चिन्ता व्यापारीहरूले गरेका छन्। र, जनताले प्रत्यक्षरूपमा महँगीको मारमा परेका छन्।

तर, सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले भने नेपालतर्फको सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्।

तातोपानी नाका सञ्चालनका लागि नेपाल सरकारका विभिन्न निकाय र चिनियाँ पक्षका प्रतिनिधिसहितको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो। अनुगमनका क्रममा भण्डारीले नाका सञ्चालनमा सडकले अवरोध नगर्ने स्पष्ट पारे।

उनका अनुसार सडकमा सामान्य सुधार गर्नुपर्ने अवस्था भए पनि एक-दुई दिनमै काम सम्पन्न गरेर सवारी सञ्चालन गर्न सकिन्छ। वर्षायाममा समेत नेपालतर्फको सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको र वर्षा रोकिएपछि दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम सुरु गरिएको उनले बताए।

‘सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन र त्यसलाई अलिकति सुधार गर्नुपर्ने भयो भने एक–दुई दिनमा हामीले त्यो सुधार पनि गर्छौँ,’ भण्डारीले भने, ‘अहिलेसम्म बर्खा नै थियो। हामीले वान वे पास गरिरहेका थियौँ। बर्खा रोकिएपछि हामीले यसलाई टु वे पास गर्न सक्छौँ।’

उनले नाका खुलेको अवस्थामा सडकका कारण सवारी रोक्नुपर्ने अवस्था नरहेको पनि बताए। ‘हामीले दुई-तीन दिनमा यो सबै क्लियर गर्छौँ। यहाँबाट जुनसुकै गाडी लैजानका लागि आवश्यक तयारी गर्छौँ। नाका खोलेको अवस्थामा एक घण्टा पनि गाडी रोकिने अवस्था छैन। सरासर गाडीहरू जाने अवस्था छ,’ उनले भने।

भण्डारीका अनुसार नेपालतर्फबाट ४५ फिटका ५७ वटा कन्टेनरसमेत पास भइसकेका छन्। बाटोमा अड्किएका लोडेड सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाइसकिएको उनले बताए। सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उनको भनाइ छ।

कोदारी राजमार्गमा पहिरो गएपछि तातोपानी नाका बन्द भएको हो। यसअघि भदौ १० गते रसुवामा आएको बाढीका कारण केरुङ नाका बन्द भएको थियो। हालैको बाढी र पहिरोका कारण मुस्ताङको कोरला नाकासमेत बन्द रहेको छ।

चीनतर्फका प्रमुख व्यापारिक नाकाहरू एकपछि अर्को बन्द भएपछि दसैंको मुखमा नेपाल-चीन व्यापार तथा आपूर्ति व्यवस्थामा दबाब परेको छ। सरकारले तातोपानी नाका सञ्चालनका लागि चिनियाँ पक्षसँग पहल गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *