चीनमा भ्रष्टाचारविरोधी अभियान तीव्र, पार्टी र सैन्य नेतृत्वमाथि फेरि निगरानी

चीनले भ्रष्टाचारविरोधी अभियानलाई थप तीव्र बनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी), सरकार र सेनाका उच्चपदस्थ अधिकारीमाथि अनुशासनात्मक कारबाही तथा अनुसन्धान अघि बढाइएको छ। गत महिनाको अन्त्यमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक (प्लेनम) पछि अधिकारीहरूलाई पदबाट हटाउने र उनीहरूमाथि छानबिन गर्ने क्रम बढेको हो।

पछिल्ला घटनाक्रमले पार्टीभित्र अनुशासन सुदृढ गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बेइजिङको प्रतिबद्धता थप कडा भएको संकेत गरेका छन्। उच्च पदमा पुगेका व्यक्तिसमेत पार्टीको कारबाहीबाट उन्मुक्त नहुने सन्देश नेतृत्वले दिएको देखिन्छ।

प्लेनममा सीपीसीले पार्टीभित्र पूर्ण र कठोर आत्मअनुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो। त्यसक्रममा अनुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्राथमिकता दिने निर्णय गरिएको थियो। त्यसपछि सार्वजनिक भएका पदमुक्ति र अनुशासनात्मक अनुसन्धानसम्बन्धी घोषणाले पार्टी नेतृत्वको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन भइरहेको संकेत गरेका छन्।

यसको पछिल्लो उदाहरण चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी) को स्थायी समितिले सार्वजनिक गरेको निर्णय हो। समितिले नौ जना प्रतिनिधिको पदावधि समाप्त भएको घोषणा गरेको छ। तीमध्ये चार जनालाई पदबाट हटाइएको छ भने अन्य पाँच जनाको राजीनामा स्वीकृत गरिएको छ।

पदमुक्त हुनेमा चिनियाँ कम्युनिस्ट पार्टीको च्याङ्सी प्रान्तीय समितिका पूर्वउपसचिव तथा च्याङ्सीका पूर्वगभर्नर ये जियानचुन, हेनान प्रान्तीय सरकारका पूर्वउपमहासचिव हे सियोङ, हुनान चाइना टोबाको इन्डस्ट्रीका पार्टी सचिव तथा महाप्रबन्धक जी ताओ र सिचुआन तियानफु बैंकका अध्यक्ष ह्वाङ यी छन्।

त्यस्तै, राजीनामा स्वीकृत गरिएका पाँच जनामध्ये चार जना सैन्य अधिकारी रहेको बताइएको छ। उनीहरूमा झाङ गङ, गुओ जियानजुन, वु युहोङ र मेङ छिङबिन छन्। पाँचौँ व्यक्ति भने चच्याङ प्रान्तको झोउसान सहरका पूर्वमेयर सु रेनबियाओ हुन्।

सैन्य अधिकारीहरूको बहिर्गमनलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ। हटाइएका चारै जना मेजर जनरल तहका अधिकारी रहेको बताइएको छ। उनीहरूले चिनियाँ नौसेना, रकेट फोर्स, प्रान्तीय सैन्य कमान्ड तथा जनसशस्त्र प्रहरी बलजस्ता निकायमा जिम्मेवारी सम्हालिसकेका थिए।

राष्ट्रिय जनकांग्रेसबाट उनीहरूको बहिर्गमनपछि अनुशासनात्मक अनुसन्धान उनीहरूको संसदीय पदमा मात्र सीमित नरही सैन्य सेवासम्म विस्तार हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, राष्ट्रिय जनकांग्रेसले उनीहरूको राजीनामाको कारण खुलाएको छैन। उनीहरूमाथि लगाइएको कुनै निश्चित आरोपसमेत सार्वजनिक गरिएको छैन। तर, बेइजिङस्थित चिनियाँ सेनाका एक पूर्ववरिष्ठ कर्णेलले ती अधिकारीहरू अनियमिततामा संलग्न रहेको दाबी गरेका छन्। उनीहरूमाथि थप अनुशासनात्मक कारबाही हुन सक्ने उनको भनाइ छ।

‘उनीहरू गलत काममा संलग्न रहेको निश्चित छ। अब उनीहरूले चाँडै सैन्य सेवा पनि छाड्नुपर्ने देखिन्छ। उनीहरूलाई सजायसमेत हुन सक्छ,’ ती स्रोतले चिनियाँ सञ्चारमाध्यमसँग भनेका छन्।

ती स्रोतले पार्टी, सरकार र सेनाका उच्चपदस्थ अधिकारीमाथि भइरहेको पछिल्लो अनुसन्धानलाई असामान्य रूपमा तीव्र भएको बताएका छन्। यद्यपि, यो व्यक्तिगत स्रोतको दाबी मात्र भए पनि चीनको राजनीतिक नेतृत्वभित्र अनुशासनात्मक कारबाहीको वातावरण थप कठोर बन्दै गएको बुझाइलाई यसले प्रतिबिम्बित गर्छ।

पछिल्लो घटनाक्रमको महत्त्व पदबाट हटाइएका अधिकारीहरूको संख्यामा मात्र सीमित छैन। चीनमा भ्रष्टाचारविरोधी अभियान पार्टीभित्र राजनीतिक अनुशासन, संस्थागत निष्ठा र केन्द्रीय नेतृत्वको नियन्त्रण बलियो बनाउने माध्यमका रूपमा समेत विकसित भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासनात्मक संरचनाले नेतृत्वलाई तल्लो तहदेखि उच्च तहसम्मका अधिकारीमाथि प्रभावकारी निगरानी र नियन्त्रण गर्ने अधिकार दिन्छ। अनुसन्धानले अधिकारीहरूको राजनीतिक भविष्य, प्रशासनिक अधिकार र सैन्य वृत्तिविकाससमेत प्रभावित पार्न सक्छ। यसले अनुशासनात्मक कारबाहीको सम्भावनालाई नै शासन सञ्चालनको शक्तिशाली औजार बनाएको छ।

यो अभियानका संस्थागत प्रभावसमेत देखिन थालेका छन्। सेनाका उच्चपदस्थ अधिकारीमाथि पटकपटक अनुसन्धान हुँदा सैन्य कमान्ड संरचना प्रभावित हुन सक्छ। नेतृत्व हस्तान्तरणको योजना जटिल बन्न सक्छ भने सैनिक संगठनभित्रको विश्वासमा समेत असर पर्न सक्छ।

राजनीतिक विश्वसनीयता र सैन्य प्रभावकारिता एकअर्कासँग नजिकबाट जोडिएको चिनियाँ व्यवस्थामा नेतृत्वसामु जवाफदेहिता कायम राख्दै सैन्य कमान्ड संरचनामा लामो समयसम्म अनिश्चितता उत्पन्न हुन नदिने चुनौती पनि छ।

व्यक्तिगत अनुसन्धानबारे सूचना सार्वजनिक नगरिने प्रवृत्तिले पनि घटनाक्रमलाई थप रहस्यमय बनाएको छ। चिनियाँ अधिकारीहरूले प्रायः पदमुक्ति वा अनुशासनात्मक कारबाहीको घोषणा गरे पनि त्यसको विस्तृत कारण र आरोप सार्वजनिक गर्दैनन्। यसले विशेषगरी प्रभावशाली व्यक्तिहरू सार्वजनिक दृश्यबाट हराउँदा वा उनीहरूमाथि अनुसन्धान भइरहेको चर्चा चल्दा विभिन्न अड्कलबाजीलाई ठाउँ दिने गरेको छ।

पछिल्लो चरणको पदमुक्तिले चीनको भ्रष्टाचारविरोधी अभियान छोटो अवधिको अनुशासनात्मक अभ्यास नभई निरन्तर चल्ने राजनीतिक प्रक्रियाका रूपमा स्थापित भएको देखाउँछ। यो अभियान आर्थिक अनियमिततामा संलग्न केही व्यक्तिमाथिको कारबाहीमा मात्र सीमित छैन। प्रान्तीय प्रशासन, सरकारी स्वामित्वका संस्थानदेखि सेनाको उच्च नेतृत्वसम्म यसको दायरा विस्तार भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *