नयाँ गस्तीमार्फत ताइवानमाथि दबाब बढाउँदै चीन

दशकौँदेखि ताइवानमाथि चीनको समुद्री दबाब दुई देशलाई छुट्याउने प्रमुख जलमार्ग ताइवान जलडमरूमध्यमा केन्द्रित थियो। तर अहिले बेइजिङले ताइवानको प्रशान्त महासागरतर्फको तटमा अभूतपूर्व दबाब बढाउन थालेको छ। यो क्षेत्र अमेरिकाका क्षेत्रीय साझेदार तथा सहयोगी मुलुकहरूसँग जोडिएको ताइवानको महत्त्वपूर्ण समुद्री जीवनरेखा पनि हो।

जुन महिनादेखि चीनले ताइवानको पूर्वी क्षेत्रमा औसतमा प्रत्येक महिना दुईवटा तटरक्षक जहाज परिचालन गरिरहेको छ। जापान र फिलिपिन्सले उक्त क्षेत्रमा आफूहरूबीच ओभरल्याप भएका समुद्री सीमालाई स्पष्ट पार्न वार्ता अघि बढाउने योजना घोषणा गरेपछि चीनले यस्तो गस्ती तीव्र बनाएको हो। जनवरी २०२५ देखि उपलब्ध जहाजको गतिविधिसम्बन्धी तथ्यांकअनुसार, यस क्षेत्रमा चिनियाँ तटरक्षक जहाजको यस्तो गस्ती पहिलोपटक देखिएको हो।

जहाज ट्र्याकिङ तथ्यांकका आधारमा ब्लुमबर्गले गरेको गणनाअनुसार, यी गस्तीले ओगटेको समुद्री क्षेत्र करिब २७ हजार १०० वर्ग नटिकल माइल छ। यो क्षेत्र ताइवानको कुल क्षेत्रफलभन्दा दुई गुणाभन्दा बढी हो। चिनियाँ जहाजहरू ताइवानको पूर्वी तटबाट करिब ३० नटिकल माइल टाढा रहे। यसरी उनीहरू ताइवानले आफ्नो समुद्री क्षेत्रका रूपमा दाबी गरेको पानीभित्र भने प्रवेश गरेनन्।

चीनले ताइवानमाथि सैन्य आक्रमण गरेमा प्रभावकारी नाकाबन्दी लागू गर्न ताइवानको पूर्वी समुद्री क्षेत्रमाथिको नियन्त्रण महत्त्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ। प्रशान्त तटमा हुने समुद्री यातायात अवरुद्ध भए त्यसको प्रभाव विश्वव्यापी वस्तु तथा कच्चा पदार्थको आपूर्तिसम्म पर्न सक्छ।

मरीनट्राफिकको तथ्यांकअनुसार जुन महिनामा तेल, ग्यास, फलामको अयस्क तथा कृषि उत्पादन बोकेका जहाजले ताइवानको पूर्वी समुद्री क्षेत्र हुँदै ५२७ पटक आवतजावत गरेका थिए। यो संख्या सामान्यतया बढी व्यस्त मानिने ताइवान जलडमरूमध्य हुँदै भएका ४२० पारगमनभन्दा पनि बढी हो।

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीको राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रशिक्षक जिङ गेले भने, “यदि ताइवान जलडमरूमध्यलाई अगाडिको ढोका मान्ने हो भने पूर्वी समुद्री क्षेत्रलाई प्रायः पछाडिको ढोकाका रूपमा हेरिँदै आएको थियो। बेइजिङले अब यो पछाडिको ढोका पनि चुनौतीरहित छैन भन्ने देखाउन चाहन्छ।”

ताइवान जलडमरूमध्यबाट विश्वको करिब आधा कन्टेनर जहाज आवतजावत गर्छन्। तर ताइवानको पूर्वी तटको रणनीतिक महत्त्व फरक कारणले पनि उच्च छ। यसले फिलिपिन्स र विस्तृत प्रशान्त क्षेत्रसँग समुद्री सम्पर्क कायम गर्छ। यहाँका समुद्री मार्ग महत्वपूर्ण बन्दरगाह तथा सैन्य संरचनातर्फ पुग्छन्, जहाँ अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूले आवश्यक सामग्री तथा आपूर्ति पठाउन सक्छन्। साथै, यस क्षेत्रको गहिरो समुद्री पानी पनडुब्बी सञ्चालन तथा समुद्रमुनिको निगरानीका लागि पनि उपयुक्त मानिन्छ।

चीनको तटरक्षक निकायले यस्ता परिचालनलाई “नियमित कानुन कार्यान्वयन गस्ती” भन्दै आएको छ। बेइजिङले आफ्नो समुद्री अधिकारको संरक्षणका लागि गस्ती थप बलियो बनाउने प्रतिबद्धता पनि जनाएको छ। चीनले यसअघि ताइवानलाई चारैतिरबाट घेर्ने अभ्यासस्वरूप यस क्षेत्रमा समेत सैन्य अभ्यास गरिसकेको छ। चीनको कम्युनिस्ट पार्टीले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको भए पनि उसले ताइवानमा कहिल्यै शासन गरेको छैन।

ताइवानको तटरक्षक प्रशासनले चीनको पछिल्लो गतिविधिलाई ताइवानको पूर्वी समुद्री क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गर्न “कानुन कार्यान्वयन गस्ती”लाई प्रयोग गर्दै नयाँ सामान्य अवस्था सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ। ताइवानले पनि त्यसको जवाफमा आवश्यकताअनुसार आफ्ना जहाज परिचालन गरिरहेको जनाएको छ।

अमेरिकाले चीनको यस्तो गतिविधिलाई “गम्भीर रूपमा अस्थिरता निम्त्याउने” कदम भनेको छ।

पछिल्ला वर्षहरूमा चीनको तटरक्षक निकायको भूमिका परम्परागत कानुन कार्यान्वयनको दायराभन्दा निकै पर पुगेको छ। सन् २०२१ मा लागू गरिएको चीनको तटरक्षक कानुनले यसको अधिकारक्षेत्र विस्तार गर्दै बेइजिङले चिनियाँ सार्वभौमिकताको हिस्सा मानेका क्षेत्रमा आफ्नो अधिकारको रक्षा गर्न “हतियारको प्रयोगसहित सबै आवश्यक उपाय” अपनाउन सक्ने अधिकार दिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *