कैलालीको जानकीमा ७८ वर्षीय चन्द्रप्रसाद चौधरीले गरे थारू बर्किमार वाचन
एकिन्द्र तिमिल्सेना/टीकापुर
कैलालीको जानकी गाउँपालिकामा पाँच पाण्डव पात्र र महाभारतको युद्धलाई कथाका रूपमा तयार गरिएको बर्किमार (लोगगीत) वाचन गरिएको छ। थारुका देवता स्थापना गरेका स्थान र दसैंका बेला बर्किमार गाउने परम्परा छ। अहिले धान बाली भित्र्याउने समय भएकाले तीन दिन साँझको समयमा बर्किमार वाचन गरिएको हो।
यसअघि केही सन्दर्भ सामग्री र केही लोकोक्तिमा मात्रै सीमित रहेको बर्किमारलाई तीन दिन लगाएर यहाँ वाचन गरिएको छ। त्यसको भिडियो छायाङ्कन पनि गरिएको छ। दाङका ७८ वर्षीय चन्द्रप्रसाद चौधरीले बर्किमारको एघार पैढार (भाग) वाचन गरे। बाह्र पैढार रहेको बर्किमारको एक भाग भने विशेष अवस्थामा मात्रै वाचन गरिन्छ।
‘बुबा रुपलाल चौधरीले वि.सं १९७९ सालमा बर्किमारको कथा सङ्कलन गरेर देउखुरीमा नाच सुरु गरे। २०१६ सालमा बनारस गएर पुस्तक छापेका थिए। बुबाले गाएको सुनेर मैले पनि सिकेर २०५५ सालदेखि गाउन थालेको हुँ,’ चौधरीले भने, ‘गाउँलेलाई मन परेको पैढार बेला-बेला सुनाउने गरे पनि सबै भाग जीवनमा पहिलो पटक कैलालीमा सुनाउन पाएँ।’

चन्द्रप्रसादका अनुसार पाँच पाण्डवलाई थारुको देवथानमा पनि स्थापना गरी पुज्ने गरिन्छ। चन्द्रप्रसादलाई जग्गुप्रसाद चौधरी र जगबीर चौधरीले वाचनमा सहयोग गरेका थिए। सोम डेमनडौराले त्यसको व्याख्या गरेर दर्शकलाई सुनाएका थिए।
स्थानीय दिनेश थारुले बर्किमार संस्कृति लोप हुने अवस्थामा पुगेका बेला तीन दिनको वाचन र छायाङ्कनले संरक्षण र पुनर्जागरण भएको बताए। बर्किमार योगी नरहरिनाथ लगायतका विद्वानहरुका लेख रचनाहरुलाई एकीकृत गरेर अशोक थारुले पुस्तकको रुप दिएको व्याख्याता सोम डेमनडौराले जानकारी दिए।
पाँच पाण्डवहरू बनबास गएको बेलादेखि कुरुक्षेत्रमा भएको लडाइलाई एघार भागमा राखिएको बर्किमार धेरै विद्वानहरुको योगदानमा तयार भएको थारु लोक महाकाव्य भएको डेमनडौराको भनाइ छ। थारु बर्किमारलाई डिजिटल रेकर्ड गर्न आयोजना गरेको कार्यक्रममा हजारौं स्थानीयले कथा सुनेर लाभ लिएका छन्।

बर्किमार वाचनसँगै बर्कानाच पनि गरिन्छ। महाभारतसँग जोडिएकाले यसले मनोरञ्जन मात्रै नभइ थारुभाषीलाई युद्ध, कूटनीति, राजनीतिक विषयमा पनि ज्ञान दिने आयोजकको भनाइ छ। जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले अहिलेको समयअनुसार सबैले बुझ्ने बनाउन बर्किमार सुन्ने सुनाउने कार्यक्रम राखेको र यसलाई डिजिटलाइज गरेर सँस्कृति संरक्षणको प्रयास गरेको बताए।
Facebook Comment