रेशम चौधरी अनुपस्थित भएपछि अग्रगामी मोर्चामा तरंग
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी अग्रगामी मोर्चाको पछिल्ला कार्यक्रमहरूमा अनुपस्थित भएका छन्। शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजित मोर्चाको अभिमुखी कार्यक्रममा उनी अनुपस्थित भएका हुन्।
बर्दिया निवासी नेता चौधरी आफ्नै प्रदेशमा आयोजित दुई कार्यक्रममा अनुपस्थित भएको विषयले मोर्चामा तरैग पैदा भएको छ। चौधरीले मोर्चा छाडेका हुन् वा कुनै नेताहरूसँग मनमुटाव भएको भन्ने विषयमा पनि प्रमुख नेताहरूबीच टीकाटिप्पणी भइरहेको छ।
चौधरीकै अध्यक्षतामा अग्रगामी मोर्चाको सुरुवात भए पनि यतिबेला उनको अनुपस्थित खड्किएको मोर्चाका एक नेताले बताए। ‘खै किन हो उहाँकै प्रदेशमा आयोजित बैठकमा पनि आउनुभएन। यस विषयमा मोर्चाभित्र छलफल हुन्छ,’ मोर्चाका एक नेताले बताए।
नाउपा नेपालका एक नेताका अनुसार संरक्षक चौधरी अन्य काममा व्यस्त भएकाले बैठकमा सहभागी हुन नसकेका हुन्।
मोर्चाले आगामी स्थानीय तह निर्वाचनमा एउटै निर्वाचन चिन्हबाट चुनाव लड्ने तयारी गरिरहेको छ। त्यसकै निम्ती मोर्चाले देशव्यापी कार्यक्रमहरू पनि आयोजना गरिरहेको छ। मोर्चामा उपेन्द्र यादव, सीके राउत, जनार्दन शर्मा, प्रभु साह, रिजवान अन्सारीलगायत नेतृत्वको पार्टी आबद्ध छन्।
Facebook Comment