थारू समुदायमा दियाबाती, सुकराइत पर्व
परिचय
थारू समुदायको जीवन प्रकृति, कृषि, पशुपालन, सामूहिककार्य र सहकार्य जस्ता मानवीय कुराहरुसंग गहिरो रूपमा जोडिएको छ । थारू समुदायले मनाउने दियाबाती अर्थात् सुकराईत पर्व यसको एउटा महत्त्वपूर्ण सांस्कृतिक अभिव्यक्ति र परम्परा हो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले दीपावलीको समयमा मनाउने यस पर्वलाई सुकराईत डेवारी र कतिपय क्षेत्रमा सोहराई जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ । नाम र मनाउने विधिमा सामान्य भिन्नता भए पनि प्रकृतिप्रतिको सम्मान, कृषि उत्पादन प्रतिको कृतज्ञता, पशुधनको संरक्षण र पारिवारिक र सामजिक सद्भाव जस्ता विशेषताहरु साझा रुपमा एकैनासको रहेको छ । यो पर्व कहिले देखि शुरु भएको यकिन साथ भन्न नसकिए पनि यो भूमि संग जोडिएको र थारू भूमि पुत्र यहाँको प्रथम मानव भएकोले यसको शुरुवात सभ्याता संग संगै भएको अनुमान गर्न सकिन्छ ।
थारू समुदायको दियाबातीलाई केवल दीपावलीको अर्को नामका रूपमा बुझ्नु मात्रले यसको गहिराई र उदेश्यलाई बुझ्ने र मनन गर्न सकिदैन । यसलाई आर्थिक, सामाजिक, संस्कृति रुपमा बुझ्नुको साथै तथ्यपरक वैज्ञानिक रुपमा पनि विश्लेषण गरेर बुझ्नु जरुरी छ । यो पर्व थारू समुदायको मौलिक जीवनदर्शन, कृषि सभ्यता र प्रकृतिसँगको सहअस्तित्वको परिचायक हो । यसमा घरआँगनमा विशेष सरसफाई (कुनै पनि ठाउँ बाँकि नराखी सफा) गर्ने काम गरिन्छ । सकभर माटो र वनस्पतिबाट बनेका सामग्री प्रयोग गर्ने, अन्नको पूजा गर्ने, पशुधनको सम्मान गर्ने तथा गाउँलेहरू एकै ठाउँमा भेला भएर उत्सवमा सहभागी हुने परम्परा पाइन्छ ।
यस पर्वको अर्को विशेषता हुँके हुँकार र हुर्रा हुर्री पनि हो । यी शब्दले थारू समुदायको सामूहिक उत्साह, सांस्कृतिक ऊर्जा र आपसी एकताको भावलाई अभिव्यक्त गर्छन् । यद्यपि क्षेत्रअनुसार यी अभ्यासको स्वरूप केहि फरक रहे पनि यसले समुदायको सामूहिक जीवनलाई जीवन्त बनाउने महत्त्वपूर्ण भूमिका खेल्छन्।
१. प्रकृतिसँग जोडिएको पर्वको मौलिक दर्शन
हुँके हुँकार/ दियाबाती
कार्तिक महिनाको औशीको दिनदेखि ३ दिन सम्म मनाउने यो पर्व थारू समुदायको परम्परागत जीवनशैलीमा प्रकृति केवल जीवन निर्वाहको साधन होइन, जीवनको आधार हो भन्ने सदन्देश प्रवाह गरेको छ । खेतीपातीका लागि माटो, सिँचाइका लागि पानी, घरगोठ निर्माणका लागि वनस्पति र दैनिक जीवनका लागि पशुधन आवश्यक हुन्छन् । त्यसैले प्रकृतिबाट प्राप्त हुने वस्तुहरूलाई सम्मान गर्ने र तिनको संरक्षण गर्ने भावना थारू समुदायका विभिन्न संस्कारमा अभिव्यक्त भएको पाइन्छ । त्यस मध्येको एक यो पनि हो ।
पहिलो दिनलाई दियावाती भनिन्छ । विहानै ढोलको आवाज संगै गाउँमा बेग्लै किसिमको उर्जा दिने गर्दथ्यो तर अहिले यो हराएको छ । दिपको बढि भन्दा बढि प्रयोग हुने भएकोले दियो र बातीको संगमबाट दियावाती भएको सहजै मान्न सकिन्छ । दियो लाई थारू भाषामा चिरखा र बातीलाई बतियढ भनिन्छ । यो बालेर चारैतिर झिलिमली पार्नेकाम गरिन्छ ।
यो दिन सदा भन्दा फरक तरिकाले अरआँगनको सरसफाई गरी लिपोत गरिन्छ । ठाउँ ठाउँमा दियो अड्याउनको लागि चका निर्माण गरिन्छ । त्यही दिन बुलुका हुँकेहुँकार खेल्ने चलन पनि रहेको छ । हुँके हुँकार बनाउनको लागि सनपाटको सन्ठीको आवश्यक्ता पर्छ । कसमिरा सन जो सामान्य सनपाट भन्दा सानो हुन्छ त्यसको सन्ठी पनि उत्तिकै आवश्यक रहेको हुन्छ । त्यसपछी त्यसमा बढनी अर्थात रारी खरको प्रयोग गरिन्छ । घरमा रहेको पुरुषहरुको संख्याको आधारमा एक जनालाई दुइटाको दरले यो बनाउने चलन रहेको छ । एउटा सानो देउता घरको छतमा राख्नको लागि बनाइन्छ भने एउटा देउता घरमा बालेर हुँके हूकार खेल्ने जोतेको खेतसम्म बालेर लैजानको लागि पनि बनाइन्छ । यसमा कम्तिमा पनि ५ वटा कसरमिरासनको सन्ठी, ५ वटा बढनी र अन्य सनको सन्ठी रहेको हुन्छ । साइज अनुसार ५ देखि ७ ठाउँमा साबै अर्थात बाबियोले बाँधेको हुन्छ भने टुप्पाको अन्तिम बाँधेको ठाउँ बन्हन भन्दा पहिले चौबन्हन अर्थात चारैतिर रहने गरी पंखा वा छतर पनि बनाइन्छ ।

साँझ देउता घरमा दियो बालिन्छ । घरको दलिनमा मरी अर्थात गोलाकार लिपेर घेरा लगाइन्छ अनि त्यसमाथी चामल नाप्ने तमामा लाई घोप्टो पारेर राखिन्छ त त्यमा पनि मरी बनाउँछ । लिपेको स्थानमा सिन्दुर र पिठो लगाउने गरिन्छ । घोप्टो परेको तमा माथी माटोले बनाएको दियो बालिएको हुन्छ । देउता घरको दलिनमा बनाईएको हुँकेहुकार ठड्याएर राखिएको हुन्छ । त्यसमा पनि सिन्दु पिठार लगाएको हुन्छ । घरको मुल पुरुष ब्यक्तिले साँझ परेपछि सानो देउता घरको लागि बनाइएको हुँकेहुँकार देउता घरको छत (छाइन्ह)मा अड्किने किसिमले फाल्छ । एउटा हुँके हुँकार तमामाथी बालिएको दियोमा तिन चोटी बाल्दै निभाउँदै “अनधन लक्ष्मी घर ढुक, दालिदर बहार हो” अर्थात “धनसम्पती र असल कुराहरु घर भित्र पसुन र दुष्ट र भटकेको आत्माहरु बाहिर जाउन” पढदै बाँयाबाट पढदै घुम्दै सबै घर,बसघरा दरबजा समेतमा गई बालिएको हुँके हुँकार देखाउदै पहिले नै तोकिएको स्थानमा अर्थात जोतेको खेतमा भेला हुन्छ ।
टोलको सबैजना भेला भए पछि हुँकेहुँकार खेल्ने काम हुन्छ । सबैजना गोलाकार आकारमा जम्मा भएर दुई हातमा रहेको हुँकेहुँकार हल्लाउँदै नचाउँदै भन्छ हुँकेहुँकार बिहान परसु बगिये बगिया । यसै क्रममा हुँकेहुँकारलाई अकाश तिर फाल्ने र त्यसलाई अर्को हुँकेहुँ कारले तलबाट हिर्काउने गरिन्छ । बालेको पोथीले एक अर्काको पोथीमा हान्दै भाग्दै खेल्दै जिस्कने गरिन्छ । खैल्दा खेल्दै हुँकेहुँकार सकिन लागेपछि हुँके हुँकारको फैंदको केहि भाग घर ल्याउने चलन रहेको छ । त्यो भन्दा पहिले डढन बाँकि रहेको हुँके हुँकारलाई एक ठाउँमा जम्मा गरिन्छ र सबैजना एक लाइनमा जम्मा हुन्छ । बलेको आगोको लप्कालाई पालै पालो गरी नाध्ने काम गरिन्छ । पहिला गाउँको बिपरित दिशा तिरबाट नाध्ने गरिन्छ । तिन चोटी नाघीसके पछि दोडिदै घर फर्कोन्छ । पछाडि फर्केर हेर्ने चलन छैन पछि फर्कियो भने दालिदर अर्थात दुष्ट आत्मा फर्किने सम्भावना हुन्छ भने जनविश्वास रहेको छ । संगै ल्याएको डढेको हुँकेहुँकारको भागलाई बारीमा राख्ने गरिन्छ । जसले गर्दा तरकारी सप्रिनुको साथै काल लाग्दैन भन्ने भने मान्यता रहेको छ ।

यता घरमा दिदी बहिनी चेलिहरुले पुरा घर बत्ती बालेर झिलिमिली पारिसकेको हुन्छ । घर आँगन बसघरा, इनार, बारी, रुख बिरुवा, लगायतको भ्याएसम्म आफुसंग जोडिएको सबै स्थानमा बत्ति बालिएको हुन्छ । बत्ति संग संगै धुप पनि बालेको हुन्छ । पुरा वाताबरण नै सुगन्धमय हुन्छ । त्यसपछी पटका (भटका) पड्काउने गरिन्छ । पहिला पहिला घरमा नै अन्डीको तेल बनाएर बाल्ने चलन थियो । हातले बनाएको माटोको दियो बनाउने चलन थियो त्यसपछि कुम्हारले बनाएको माटोको दियो र अहिले मैनबत्ति तथा विद्युतिय बत्ति समेत प्रयोग हुने गरेको छ ।
धरमुली महिलाले चामलको (पिठोको गाईमाल) गाई बस्तुको आकार बनाएर, पिठोकै दियो पनि बनाउँछ । त्यसमा सिन्दुर लगाएर पान सुपारी दुबो पैसा राखेर राती सुत्नु भन्दा पहिले गुहालीमा गएर गाई वस्तुलाई देखाउने काम गरीसके पछि पुनः घरमा ल्याएर राख्ने गरिन्छ ।
गाई बस्तु श्रृङ्गार/ हुर्रे हुर्रा
भोलि पल्ट विहान सबैको घरमा बगिया पाकेको हुन्छ । बगिया बनाउन छुट्टै विशेष भाँडो हुन्छ । बगिया पनि विभिन्न स्वरुपको हुन्छ । कुनै सादा हुन्छ भने कुनैमा भित्र दाल राखिएको हुन्छ । आकार पनि कुनै सखारीबखारीको हुन्छ भने कुनै खजनचिरै जस्तो हुन्छ । अर्थात आ-आफ्नो रुची तथा केटाकेटीहरुको रुची अनुसारको आकारको बगिया सबैको घरमा पाकेको हुन्छ । जसको घरमा गए पनि बगिया खान दिने चलन छ । यो एक किसिमको सामजिक र पारिवारी सदभाव कायम गर्ने र पुराना सम्बन्धलाई अद्यावधिक गर्ने माध्यम पनि हो । एका बिहानै देखि माग्नेको पनि उतिकै भिड लाग्ने गर्दथ्यो तर अहिले यसमा कमि आएको छ । थारू समुदायको सहयोगीको रूपमा रहेको र कामको रुपमा अन्न साटेर विभिन्न काम गर्ने समुदायहरुलाई पनि यो अवसरमा बगिया उपहार स्वरुप दिने र बोलाएर खुवाउने चलन रहेको थियो । त्यस्ताका जातसंग काम जोडिएको थियो तर अहिले यो चलन हराउँदै गएको छ ।
दियाबातीको दोस्रो दिन कृषि जीवन र पशुधनसँग सम्बन्धित गतिविधिहरूलाई विशेष महत्त्व दिइन्छ । थारू समुदायका लागि गाई, गोरु, भैँसी तथा अन्य पशुधन कृषि उत्पादनका महत्त्वपूर्ण आधार हुन् । परम्परागत रूपमा खेतीपातीमा प्रयोग हुने कृषि औजार र पशुधनको सम्मान गर्नु यस पर्वको महत्त्वपूर्ण पक्ष हो ।

यस दिन थारू बस्तीमा गोठको सरसफाइ गरी पशुधनलाई तेल लगाउने, विशेष परिकार खुवाउने र गोठमा दियो बाल्ने चलन रहेको छ । यस अभ्यासले पशुधनप्रतिको सम्मान, संरक्षण र कृषि जीवनमा तिनको योगदानलाई स्मरण गराउँछ । गाई बस्तुको लागि विशेष किसिमको खाद्यान्न तयार गरिन्छ । हरियो धान नै काटे खुवाउने काम हुन्छ । बगिया पनि खुवाइन्छ ।
यो दिन एक विशेष र सबै जना ब्यस्त रहने दिनको रुपमा रहेको हुन्छ । घरमा प्रयोग हुने हलो, कोदालो देखी सबै प्रकारको हतियार, घरको ढोका लगायतलाई सरसफाई गरी देउता घरको छेउमा राखिन्छ । जसमा दुवो, धान, सिन्दुर पिठार लगाइन्छ । गाई, गोरु, भैसी बाख्रालाई पनि नुहाई धवाई गरी चिटिक्क पारिन्छ र विभिन्न किसिमको रंग रंगाएर सजाइन्छ । नयाँ नयाँ डोरी, नाम्लो, दाम्लो, बनाएको हुन्छ । जनावरलाई खुवाउनको लागि माहुर, पखेब, दुल्फी, मरिच, झोल (आगोको रापले कालो भई घर, गुहालीमा झुन्डिएर रहेको कालो झोल), हरियो केलाई कुटेर झोल बनाईन्छ । उक्त झोललाई तोरीको तेलमा राखेर घाममा राम्रो संग तताएर काइँरको सहायताले गोरु बाख्रा इत्यादिलाई बिभिन्न मात्रामा खुवाउने गरिन्छ वा नाकमा हाल्ने गरिन्छ ।
गुहालीमा गोदहन बनाएको हुन्छ । जसमा परेवा चढाउने गरिन्छ । यो गोबरले भुईंमा मानिसको आकार जस्तो चित्र बनाउँछ जसमया सिनुर पिठो छर्कने काम हुन्छ । परेवाको पुजा गरिसकेपछि प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।
हुर्रा पनि यसै दिन खेल्ने गरिन्छ । हुर्रा बनाउनको लागि जेठरैत वा जेवारको घरमा जम्मा भई बनाईन्छ । प्रायः जसजसको घरमा गाई भैँसी रहेको छ उक्त घरबाट एक एक जनाको दरले हुर्रा बनाउने गर्छ । यो एक किसिमको झार हो जसलाई डाभही खर मिसाएर पहिला मुठ्ठा बनाइन्छ र मुठ्ठालाई फेरी एक ठाउँमा संगै गोलाकार आकारमा दुई ठाउँमा बाँधिन्छ । मुठ्ठा कम्तिमा पनि प्रत्येक घरमा पुग्ने किसिमले बाँधिएको हुन्छ जुन कि प्रसाद वा सगुनको रुपमा सबैजनाले आ-आफ्नो घर ल्याउने गरिन्छ । गाईको र भैसीको छुट्टा छुट्टै हुर्रा बनाएको हुन्छ । खासगरिकन यसमा गैबार र भैसवारको भुमिका उल्लेखनिय हुन्छ । प्रत्यके घर नभए जस जसको घरमा गाई भैसी छ बहाँहरुको घरमा अनिवार्य रुपमा पुग्नु पर्छ । गाउँको मूल ब्यक्तिको घरबाट चुमाउने काम शुरु भई सबै घरमा पुर्याई सकेपछि खुल्ला चौरमा गएर राखिन्छ । चुमाउँदा घरको आँगनमा चौका लगाइन्छ र त्यसमा पिठोको छिंटा तथा सिन्दुर छर्किन्छ । अनि त्यसमा हुर्रा राखिन्छ । घरमुली महिलाले त्यसमा पान सुपारी र पैसा र नाङ्लोमा धान तथा बगिया राखेर चुमाउने काम गर्छ । हुर्रा बोकेर आउनेलाई टाउकोमा तेल लगाइदिन्छ भने हुर्रामा पानी खन्याएर पुजा गरिन्छ । यसरी एक घर देखी अर्को घरमा यो क्रम जारी रहन्छ । गाई पछी भैसीको हुर्रा आउँछ ।
पुरै गाउमा हुर्रा चुमाईसकेपछी त्यसलाई नजिकैको चौरमा लगिन्छ जहाँ सम्पुर्ण गाई भैसी तथा गाउँलेहरु जम्मा भएको हुन्छ । पहिला गाईलाई चारैतिरबाट एकत्रित गरेर हुर्रा बोकेर छेउ छेउ दोडिदै ३ चोटी चक्कर लगाइन्छ त्यसपछि हुर्रालाई गाईको भिडमा फालिन्छ र दोड्दै डोर्याउने काम हुन्छ । कुनै गोरु वा बाछो उत्तेजित भएर गुडाइएको हुर्रालाई हिर्काउन आउँदा त्यसलाई जोस्याउन उसको शरिरमा पानी छर्कने काम हुन्छ । क्रमशः गाईको हुर्रा सकिन्छ । त्यसपछि बाँधिएको हुर्रालाई सबैले सानो मुठ्ठा वा अलिकति भए पनि घर ल्याउएर बारीमा राख्ने गर्छ । हुर्रा हेर्नको लागि जाँदा महिलाहरूले चामलको पिठोले बनाएको गाईमाल समेत लिएर जान्छ । हुर्रा सकिए पछी उतै खेत वा बाटोमा फालेर आउँछ ।
गाईको हुर्रा सकिए पछि भैंसीको हुर्रा शुरु हुन्छ । भैसीको हुर्रा अलि रोचक हुन्छ । गाईको जस्तै भैसीलाई पनि खेलाउने गरिन्छ । भैसी गाई भन्दा हिंसक भएकोले यसले हुर्रालाई सिंहले हिर्काउने गर्छ । कतै कतै हुर्रा संगै सुंगुरको बच्चा पनि बाँधिएको हुन्छ । जसको आवाजले भैसी उत्तजित भई हुर्रालाई हिर्काउने, भाग्ने पुनः आउने हिर्काउने गर्छ । हुर्रा संग संगै ढोल र नगेडा पनि बजाई रहेकोले यसले छुट्टै रोचक आनन्द दिन्छ । । यो पनि एउटा रोचक परम्परा र प्रसंङ्ग हो ।हुर्रा लिने भैसीको मालिकले डोल बजाउने लाई केहिन केहि उपहार दिनु पर्छ । पहिला पहिला त घोती गम्छा तत्कालै दिने गर्द्थ्यो । भैसीको हुर्रा सकिएपछि पहलमानी अर्थात कुश्ती खेल्ने चलन रहेको छ । जसमा खुल्ला र उमेर समुह रहेको हुन्छ । अगुवाहरुले उमेर र शरिर हेरेर एक देखि अर्को सम्म कुस्ती लडाउने गर्छ । पहिला पहिला यसरी हात्तीको पनि हुर्रा गर्ने चलन रहेको थियो । अहिले चितवनमा हाति महोत्सवको रुपमा फुटबल प्रयोग गर्ने हामी अझै देख्न सक्छौ ।
अर्को कुरा चोर जसले काछेको हुन्छ अर्थात भाकल गरेको हुन्छ र नाँच गर्दै आफन्तकोहरुबाट फर्केर आएर यहि दिन नै अन्तय गर्ने गर्छ । जसलाई चोरको मुरी मार्ने पनि भनिन्छ ।
जमजितिया/पारिवारिक भेघाट
तेस्रो दिन लाई जमजितिया पनि भन्ने गरिन्छ । यो दिनमा सदा झै बिहान बगिया पाक्छ । दियाबातीको तेस्रो दिन पारिवारिक सम्बन्ध, आफन्तसँगको भेटघाट र सामाजिक सद्भावसँग जोडिएको हुन्छ । यस दिन घरमा विभिन्न परिकार तयार गरी छोरीचेली, ज्वाइँ, दिदीबहिनी, नातागोता तथा इष्टमित्रलाई निमन्त्रणा गर्ने परम्परा कतिपय थारू समुदायमा पाइन्छ । अन्तिम दिनलाई जमजितिया पनि भनिन्छ त्यस दिन पनि अन्य दिन झै बगिया बनाउने चलन रहेको छ । लिप पोत र सरसफाई अन्य दिनको जस्तै भए पनि त्यस दिन देवता घर अगाडी राखिएक हर, फार, लगायतका औजारहरु आ-आफ्नो ठाउँमा लैजाने काम हुन्छ । त्यो दिन नेमानको लागि लागि चिपरी ( रोटी आकारको गोबर) बनाउने काम हुन्छ । देवता घरको ओसरा (दलिन)मा चिपरी राखिन्छ हुन्छ । साँझ अन्य दिन जस्तै दियो बाल्ने काम हुन्छ । सकै कसैले त्यो दिन घरको देवता जगाउने काम पनि गर्छ । अर्थात पतियौरले देवता शरिरमा ल्याएर घरको समस्या र समाधानको लागि उपायहरु पनि बताउने गर्छ । भिनसरै राती घरका महिलाहरुले नाङ्लो ठटाउँदै खराब कुराहरुलाई लखेट्दै, नाङ्लो बजाउँदै डरगरमा गरएर नाङ्गो सहित नाङ्लो र नाङ्लो बनाउने डन्डा फाल्ने गरिन्छ । त्यसपछि यो पर्व सकिन्छ । थारू समुदायमा कुकुर तिहार, काग तिहार र भाईटिका बनाउने परम्परागत चलन रहेको पाइँदैन ।
दिपावलीको अवसरमा ढिक्री, बगिया तथा अन्य स्थानीय परिकार तयार गरी पाहुनालाई सत्कार गरिन्छ । पर्वका अवसरमा घरमा आएका पाहुनालाई सम्मानपूर्वक भोजन गराउनु थारू समुदायको आतिथ्य संस्कृतिको महत्त्वपूर्ण पक्ष हो । यो पर्वले सम्बन्धलाई पुनः नवीकरण गर्ने अवसर प्रदान गर्छ ।

दियाबातीमा प्रयोग हुने माटोका दियो, चामलको पिठोबाट बनाइने परिकार, सनपात वा नरकटबाट बनाइने दियारी तथा अन्य स्थानीय सामग्री यसै प्रकृतिमैत्री जीवनशैलीका उदाहरण हुन् । यी सामग्रीले स्थानीय स्रोतको उपयोग, श्रमको सम्मान र प्रकृतिसँगको निकटतालाई देखाउँछन् ।
सुकराइतको अवसरमा घर, आँगन, गोठ तथा कृषि औजार सफा गर्ने र पशुधनलाई विशेष महत्त्व दिने परम्परा पनि उल्लेखनीय छ । यसले मानिस र प्रकृतिबीचको सम्बन्धलाई केवल धार्मिक आस्थामा सीमित नगरी दैनिक जीवनको व्यवहारसँग जोड्छ ।
साँझपख घरको आँगन, तुलसीको स्थान, गोठ र खेतबारी, बगैँचा, परेवाघर, दाउरा राख्ने घर ईत्यादि सबैमा दियो बाल्ने गरिन्छ । घरलाई उज्यालो बनाउने यस अभ्यासलाई धनधान्य, सुखसमृद्धि र पारिवारिक कल्याणको कामनासँग जोडिन्छ । कतिपय ठाउँमा घरका सदस्यहरू खेतबारीमा गएर दियाबाती बाल्ने र स्थानीय देवदेवीको सम्झना गर्ने गर्छन् । यस्ता किसिमका अभ्यासमार्फत पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो भाषा, लय, गीत र संस्कार हस्तान्तरण गर्छन् । तर अहिले नाचको चलन हराउँदै गएको छ । पहिला पहिला सन्देशमुलक नाटक पनि खेल्ने गरिन्थ्यो । अहिले चोरखेली बाहेक अन्य हुने गरेको छैन ।
यो पर्वको सामाजिक महत्त्व परिवारमा मात्र सीमित हुँदैन । गाउँका मानिसहरू एकअर्काको घरमा जाने, शुभकामना आदानप्रदान गर्ने र सामूहिक रूपमा पर्व मनाउने गर्छन् ।
दियाबातीको मौलिक स्वरूपमा प्रकृतिप्रतिको सम्मान र सामूहिक जीवनको महत्त्वलाई प्राथमिकता दिइन्छ । पछिल्लो समय अन्य समुदायका पर्वसँगको सांस्कृतिक आदानप्रदानका कारण केही क्षेत्रमा भाइटीका, देउसीभैलो तथा अन्य अभ्यास पनि समावेश हुन थालेका छन् । यसले पर्वको स्वरूपमा परिवर्तन ल्याएको भए पनि थारू समुदायका मौलिक संस्कार, गीत र नाचको संरक्षण गर्नु आवश्यक छ ।
वर्तमान सन्दर्भमा संरक्षणको आवश्यकता
आजको बदलिँदो सामाजिक परिवेशमा थारू समुदायको दियाबाती/ सुकराइत पर्वलाई मौलिक रूपमा संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बढदो शहरीकरण, वैदेशिक रोजगारी, आधुनिक मनोरञ्जनका माध्यम र सांस्कृतिक मिश्रणका कारण कतिपय परम्परागत अभ्यास सीमित हुँदै गएका छन् ।

यस्तो अवस्थामा दियाबातीलाई केवल औपचारिक पूजा, मनोरञ्जन र खानपानमा मात्र सीमित नगरी यसलाई आधुनिक जीवनसंग जोड्नु पर्छ र परिभाषित गर्नु पर्छ । यसलाई प्रकृतिप्रतिको सम्मान, कृषि संस्कृतिको संरक्षण, पारिवारिक सद्भाव र सामूहिक जीवनको उत्सवका रूपमा नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक रहेको छ । सरकारले पनि यस्तो किसिमको पर्वलाई प्रकृतिसंग जोडेर पर्यावरण र प्रकृति संरक्षणमा जोड दिंदै प्रकृति विपत्तिलाई न्युनिकरण गर्ने उपायको रुपमा अंलाग्नु पर्छ ।
विद्यालय, समुदाय र सांस्कृतिक संस्थाहरूले दियाबातीको मौलिकता, हुँके हुँकार, हुर्रा हुर्री, परम्परागत गीत र स्थानीय परिकारबारे अध्ययन तथा अभिलेखीकरण गरी त्यस भित्रको सामाजिक, साँस्कृतिक र वैज्ञानिक तथा प्राविधिक पक्ष समेत अध्ययन गरी लागु गर्दै युवामा पुस्तान्तरण गर्ने काम गर्नु पर्छ । ज्येष्ठ नागरिकबाट मौखिक इतिहास संकलन गर्नु, स्थानीय थारू भाषामा सामग्री तयार गर्नु र युवापुस्तालाई सांस्कृतिक अभ्यासमा सहभागी गराउने काम गर्नाले यसको संरक्षणको लागि महत्त्वपूर्ण कदम हुनसक्छ ।
निष्कर्ष
थारू समुदायको दियाबाती/सुकराईत पर्व प्रकृति, कृषि, पशुपालन, परिवार र सामूहिक जीवनको सुन्दर संयोजन हो । यस पर्वका तीन दिनले घरआँगनको सरसफाइ र दियाबाती, कृषि तथा पशुधनप्रतिको सम्मान, आफुहरुले प्रयोग गर्ने औजारको संरक्षण र पारिवारिक सद्भावको महत्त्वलाई क्रमशः अभिव्यक्त गर्छन् ।

हुँके हुँकार र हुर्रा हुर्रीले यस पर्वलाई थप जीवन्त बनाउँदै थारू समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउँछन् । यी परम्पराहरूलाई संरक्षण गर्नु भनेको केवल विगतका संस्कार जोगाउनु होइन, प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनदर्शनलाई भविष्यका पुस्तासम्म हस्तान्तरण गर्नु पनि हो ।
त्यसैले दियाबातीको वास्तविक महत्त्व दियो बाल्नु वा पर्व मनाउनुमा मात्र सीमित छैन । यसको मूल सन्देश प्रकृतिको सम्मान, श्रमको कदर, पारिवारिक सद्भाव र सामूहिक जीवनको संरक्षणमा निहित रहेको छ । दियो बाल्नु भनेको मनको आत्माको दियो बाल्नु हो । यही सन्देशलाई आत्मसात् गर्दै थारू समुदायले शिक्षा र प्रविधिमा जोड दिंदै आफ्नो मौलिक संस्कृति, भाषा र परम्परालाई जीवन्त राख्न सक्नु पर्छ । माया प्रेम र सदभाव कायम गर्न सक्नु पर्छ ।
(लेखक सामाजिक अभियन्ता एवं अधिवक्ता हुनुहुन्छ )
Facebook Comment