श्रीमान रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको एकैदिन मृत्यु
नेपालीहरूको चाड तिहारमा आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्ने तयारी भइरहेका बेला इटहरी-७ को सुमङ्गल टोलमा चौधरी परिवार भने दाहसंस्कारको तयारीमा छ । शनिबार साँझ केहीबेरको अन्तरमा ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको मृत्यु भएपछि टोल शोकमा डुबेको छ ।
छिमेकी वसन्त कार्कीका अनुसार कुकुर तिहार मनाउने र लक्ष्मीपूजा गर्ने तयारी भइरहेका बेला एउटै घरका दुई जनाको मृत्युको खबरले टोलभरि सन्नाटा छाएको छ । शनिबार साँझ कञ्चनलाई अस्पताल पुर्याउन सघाएका कार्कीले चाडपर्वमा चहलपहल हुने गाउँ आज सुनसान भएको बताए ।
शनिबार बिहान रामुले जिउ दुखेको भन्दै ठेकेदारलाई काममा आउन नसक्ने खबर गरेका थिए । मिस्त्री काम गर्ने उनी त्यस दिन घरमै बसे र सन्चो नभए पनि घरको सरसफाइ गर्न थाले । काम गर्दागर्दै बान्ता भएपछि रामु आराम गर्न आफ्नो ओछ्यानमा गए । कञ्चन भने बिहानैदेखि बान्ता र पखालाले थलिएर दिनभरजसो ओछ्यानमै थिइन् ।
छोरी सुमिनालाई शुक्रबारदेखि नै ज्वरो आएको थियो । उनका अनुसार शनिबार घरका तीनै जना बिरामी भएर बाहिर निस्कन सकेनन्, तर आफूलाई पनि सन्चो नभए पनि उनी घरभित्र यताउता गरिरहेकी थिइन् । साँझ रामुको ओछ्यानमै मृत्यु भयो । सुमिनाका अनुसार बुबाको अवस्था हेर्न पुगेकी आमा कञ्चन पनि केहीबेरमै त्यहीँ ढलिन् ।
आमाबुबा दुवैलाई एकै ठाउँमा ढलेको देखेपछि सुमिनाले दाजु सुनिललाई फोन गरेर घर बोलाइन् । सुनिलले आफन्त र छिमेकीलाई खबर गरेपछि कार्कीसहित स्थानीय चौधरीको घरमा पुगे । उनीहरू पुग्दा कञ्चन बेहोस थिइन् । आफन्त र छिमेकी मिलेर उनलाई एम्बुलेन्समा राखी विराट शिक्षण अस्पताल पुर्याए ।
ज्वरोले थलिएकी सुमिनालाई पखालाले झन् गाह्रो भएपछि इटहरीकै आदर्श मेडिकलमा उपचार गराइएको थियो । चिकित्सकको सल्लाहअनुसार औषधि लिएकी उनी आमाबुबाको दाहसंस्कारका लागि घर फर्किएकी थिइन्।
परिवारले बिहीबार बेलुका माछा खाएको थियो । बेलुका बाँकी रहेको त्यही माछा शुक्रबार बिहान पनि खाएको सुमिनाले बताइन् । माछा खाएपछि आफूहरू बिरामी परेको सुमिनाको भनाइ छ । उनका अनुसार शुक्रबारदेखि उनलाई ज्वरो आयो र पछि पखाला लाग्यो, बुबालाई ज्वरो र बान्ता भयो भने आमालाई शनिबार बिहानदेखि बान्तासँगै पखाला लाग्यो ।
आदर्श मेडिकलका चिकित्सक तथा सञ्चालक राजीव यादवले सुमिनामा देखिएका लक्षण खाद्य विषाक्तता अर्थात् ‘फुड पोइजनिङ’सँग मिल्ने बताए । सुमिनालाई औषधि दिएको बताउँदै उनले अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था देखिएको जानकारी दिए ।
यादवको आकलन उपचारका लागि आएकी सुमिनामा देखिएका लक्षणमा आधारित छ । परिवारले खाएको माछासँग ती लक्षणको सम्बन्ध थियो कि थिएन भन्ने पुष्टि हुन बाँकी छ ।
Facebook Comment