चीनको ऐतिहासिक मेटावट : तियानमेन हत्याकाण्डको ३६ वर्षपछि पनि दमन कायमै

२०२४ जुन ४ मा चीनले बेइजिङमा सुरक्षा कडा पार्दै र हङकङमा वार्षिक स्मरणोत्सवमा प्रतिबन्ध लगाउँदै आफ्नो इतिहासमा नियन्त्रण झनै कडाइका साथ कायम राख्यो। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का अधिनायकवादी उपायहरू केवल भौतिक नियन्त्रणमा सीमित छैनन्ती,  सेन्सरशिप, गिरफ्तारी र धम्कीमार्फत असहमतिको आवाज systematically (व्यवस्थित रूपमा) दबाउने कार्यमा केन्द्रित छन्।

सीसीपीले विशेषगरी तियानमेन स्क्वायर हत्याकाण्डको स्मरण गर्ने युवा लोकतन्त्र समर्थकहरूलाई निशाना बनाउँदै आएको छ। असहमत विचारधारालाई नियन्त्रण गर्न अधिकारीहरूले व्यक्तिहरूलाई हिरासतमा लिन्छन्, सामाजिक सञ्जालमा निगरानी बढाइन्छ, र विश्वविद्यालयहरूमा अभिव्यक्तिको स्वतन्त्रता सीमित गरिन्छ। पत्रकार, अनुसन्धानकर्ता, र मानव अधिकारकर्मीहरूले सरकारले गर्ने दमनको भण्डाफोर गरेबापत कारावासको सामना गरिरहेका छन्। यद्यपि यस्तो निरन्तर दमनबीच पनि भूमिगत गतिविधिहरू कायम छन्, जसले स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति चिनियाँ जनताको अटुट प्रतिबद्धता झल्काउँछ।

सीसीपीले अभिव्यक्ति स्वतन्त्रतामा कठोर नियन्त्रण कायम गर्दै तियानमेन घटनाको सार्वजनिक सन्दर्भलाई पूर्ण रूपमा हटाउने प्रयास गरिरहेको छ। विदेशी सञ्चार माध्यमको रिपोर्टहरू अवरुद्ध गरिएका छन्, स्वतन्त्र प्रकाशकहरू बन्द गरिएका छन्, र सामाजिक सञ्जालमा भएका छलफलहरू हटाइएका छन्। यस प्रकारको दमनकारी रणनीतिले सीसीपीको एकमुखी सूचना नियन्त्रण र प्रतिरोधको सम्भावनालाई जति सक्दो दबाउने प्रयास स्पष्ट देखिन्छ।

तर, सरकारको दमनकारी रणनीतिका बाबजुद, चिनियाँ जनतामाझ स्वतन्त्रताको चाहना अझै बलियो रूपमा जीवित छ। भूमिगत अभियन्ताहरूले जुन ४ को दिनलाई गोप्य तरिकाले मनाउँदै आएका छन्। युवाहरूले VPN प्रयोग गरी सेन्सरशिपलाई छल्दै निषेधित सामग्रीहरूमा पहुँच बनाउँछन्। सीसीपीले ऐतिहासिक स्मृतिहरू मेटाउन खोजेपनि, लोकतान्त्रिक परिवर्तनको माग रोकिएको छैन।

अभिव्यक्ति स्वतन्त्रता र ऐतिहासिक सम्झनामा सीसीपीको कठोर नियन्त्रणले लोकतान्त्रिक आदर्शप्रतिको उसको डर झल्काउँछ। तर, चिनियाँ जनताको साहस र लचिलोपनले सत्य र स्वतन्त्रताप्रतिको चाहना दबाउन नसकिने स्पष्ट गर्छ।

२०२२ को अन्त्यतिर देखा परेको श्वेतपत्र आन्दोलन सीसीपीको शून्य-कोभिड नीतिविरुद्धको मौन तर बलियो विरोध थियो। विद्यार्थीहरूले खाली कागजका पानाहरू प्रदर्शनमा देखाउँदै सेन्सरशिपको प्रतीक प्रस्तुत गरे। यो आन्दोलन १९८९ को तियानमेन आन्दोलनसँग गहिरो रूपले सम्बद्ध देखिन्छ, जहाँ विद्यार्थीहरूले राजनीतिक सुधार र लोकतान्त्रिक स्वतन्त्रताको माग गरेका थिए।

यी दुबै आन्दोलनहरू युवाहरूको अगुवाइमा भएका थिए, जसमा सहभागीहरूले व्यक्तिगत सुरक्षालाई जोखिममा राखेर अधिनायकवादी शासनलाई चुनौती दिएका थिए। तियानमेन आन्दोलनले सैनिक हिंसाको सामना गर्‍यो भने श्वेतपत्र आन्दोलनका अभियन्ताहरू सामूहिक गिरफ्तारी र निगरानीको चपेटामा परे। दशकौं लामो दमनपछि पनि चिनियाँ युवामाझ लोकतन्त्रको चाहना मरेको छैन।

सरकारले तियानमेन स्क्वायर वरिपरि कठोर सुरक्षा व्यवस्था लागू गरेको छ, प्रमुख सडकहरूमा सुरक्षाकर्मी तैनाथ गरिएका छन्, र स्क्वायरमा जान प्रतिबन्ध लगाइएको छ। साथै, सरकारद्वारा सामाजिक सञ्जालमा तियानमेनको उल्लेख हटाइँदैछ र विदेशी पत्रकारहरूको गतिविधिमा समेत प्रतिबन्ध लगाइएको छ। यी उपायहरूले ऐतिहासिक स्मृतिलाई मेटाउन गरिएको नियोजित प्रयासको झल्को दिन्छ।

तियानमेन क्र्याकडाउनको ३५औँ वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू तीव्र देखिए। ताइवानले लिबर्टी स्क्वायरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्‍यो भने अमेरिका लगायतका पश्चिमी मुलुकहरूले चिनियाँ सरकारले गरिरहेको दमनको कडा आलोचना गरे। मानव अधिकार संगठनहरूले चीनलाई जवाफदेही बनाउने र इतिहासलाई स्वीकार गर्न आह्वान गरेका छन्। यसरी अन्तर्राष्ट्रिय समुदायको सक्रियता न्याय र पारदर्शिताका पक्षमा जारी संघर्षलाई उजागर गर्छ।

चिनियाँ सरकारले भने तियानमेन क्र्याकडाउनलाई देशको आन्तरिक मामिला भन्दै औचित्य दिन खोजेको छ। उनीहरूले १९८९ को घटनासम्बन्धी “स्पष्ट निष्कर्ष” रहेको दाबी गरे पनि विस्तृत जानकारी दिन अस्वीकार गर्छन्। सीसीपीले आन्दोलनलाई लोकतन्त्रप्रतिको प्रयासको सट्टा “राजनीतिक अस्थिरता” को रूपमा चित्रण गर्दै सेन्सरशिप कडा बनाएको छ।

हङकङमा स्मरणोत्सवहरूमा भएको दमनले राष्ट्रिय सुरक्षा कानुनको प्रभावलाई देखाउँछ, जसले अभिव्यक्ति र भेला हुन पाउने अधिकारलाई निरन्तर खुम्च्याइरहेको छ। चिनियाँ सेन्सरशिपको कारण नयाँ पुस्ता तियानमेन क्र्याकडाउनको बारेमा थोरै वा केही पनि जान्दैन। तथापि, हङकङका नागरिकहरूले जोखिम मोलेरै वार्षिकोत्सव मनाउने कार्य जारी राखेका छन्।

तियानमेन हत्याकाण्डको स्मरणले आज पनि स्वतन्त्रता र ऐतिहासिक सत्यप्रति प्रतिबद्धता कायमै रहेको देखाउँछ। बेइजिङमा कडिएको सुरक्षा र हङकङमा भएका गिरफ्तारीहरूले दमन र सत्ताविरुद्धको सङ्घर्ष अझ जारी रहेको सन्देश दिन्छन्। सेन्सरशिपबीच पनि मानव अधिकार र राजनीतिक स्वतन्त्रताका लागि आवाज उठाउनेहरूको साहसले न्यायको लागि जारी रहेको लडाइँलाई उजागर गर्छ।

१८ वर्षपछि बैंग्लोरले जित्यो आइपीएलको उपाधि

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेको छ। पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले उपाधि उचालेको हो। १८ वर्षको आइपीएल इतिहासमा पहिलोपटक च्याम्पियन बन्दै आरसीबीले आफ्नो उपाधि प्यास मेटाएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले १९० रन बनाएको थियो। १९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमात्र बनायो।

पञ्जाबका लागि शशांक सिंहले सर्वाधिक ६१ रनको अविजित पारी खेले। अन्तिम समयसम्मको लागि पनि उनी एक्लै टिमको लागि लडिरहे। जोश इङ्लिसले ३९ रन बनाए। ओपनरद्वय प्रियाशं अर्या र प्रभसिम्रन सिंहले क्रमशः २४ र २६ रन बनाए। पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले फाइनलमा खेल्न सकेनन्। उनी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए।

अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि २९ रन चाहिएको अवस्थामा आरसीबीले ६ रन डिफेन्ड गर्दै आरसीबीले १८ वर्षपछि उपाधि जित्यो। यो उपाधिले विराट कोहलीको जर्सी नम्बर १८ लाई प्रमाणित गरेको छ। आरसीबीका लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २-२ विकेट लिए। यश दयाल, जोश ह्याजलवुड र रोमारियो सेपहार्डले समान १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको थियो। आरसीबीका लागि ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले १६ रन बनाउँदै पञ्जाबका कप्तान श्रेयस अय्यरको हातमा क्याच भए।

६ ओभरमा १ विकेटको क्षतिमा आरसीबीले ५५ रन बनाएको थियो। तेस्रो क्रममा आएका मयंक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाए। रोमियो सेपहार्डले १७ रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

पञ्जाबको बलिङमा काइल जेमिसन र अर्शदिप सिंहले ३-३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले १-१ विकेट लिए।

आतंकवादविरुद्ध नेपाल र भारतका थारूहरू एक भएर उभिने

थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले आतंकवादविरुद्ध उभिने निर्णय गरेको छ। जनकपुरमा चलेको दुई दिने सम्मेलनले आतंकवादको कुनै पनि घटना स्वीकार्य नहुने निर्णय गरेको हो।

नेपाल र भारतका थारुहरु सहभागी रहेको सम्मेलनले गत २२ अप्रिलमा पहलगाममो भएको घट्नाको निन्दा पनि गरेको छ। सम्मेलनले नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने आतंकवादी घुसपैठलाई निगरानी पनि गर्ने प्रतिवद्धता जनाएको छ।

‘२२ अप्रील २०२५ भारतीय भूमी काश्मीरको पहलगाममा आतंकी हमला गरी निर्दोष २६ जनाको हत्या गरेको सन्दर्भमा आतंकवादको कुनै पनि घटना स्वीकार्य छैन। उक्त घटना खेदपूर्ण रहेको ठहर गर्दै आगामी दिनमा समेत यस खाले घटनाको निन्दा गर्नेछौं,’ घोषणा पत्रमा भनिएको छ, ‘भारतीय सीमा वारपार बसोबास गर्दै आएका थारु यस क्षेत्रको सुरक्षामा आफैं तैनात भई जुन कुनै आतंकी हमलाविरुद्ध खडा रहने वचनवद्ध छौं। साथै थारुको बसोबास रहेका नाकाबाट भइरहने आतंकवादी घुसपैठलाई नियन्त्रण एवं निगरानी गर्न सिंगो सामाजिक संरचनामार्फत पहलकदमी लिनेछौं।’
त्यस्तै नेपाल र भारतका थारुहरुको भाषिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं ऐतिहासिक पृष्ठभूमिलाई थारु अन्तर्राष्ट्रिय महासभामार्फत सम्बर्द्धन र विकास गर्ने प्रतिवद्धता जनाइएको छ।

यस्ता छन् घोषणा पत्र
१- २२ अप्रील २०२५ भारतीय भूमी काश्मीरको पहलगाममा आतंकी हमला गरी निर्दोष २६ जनाको हत्या गरेको सन्दर्भमा आतंकवादको कुनै पनि घटना स्वीकार्य छैन भनि हामी नेपाल र भारतका थारू सम्मिलित संस्था थारु अन्तर्राष्ट्रिय महासभा घोषणा गर्दछौं। साथै उक्त घटना खेदपूर्ण रहेको ठहर गर्दै आगामी दिनमा समेत यस खाले घटनाको निन्दा गर्नेछौं।

२- भारतीय सीमा वारपार बसोबास गर्दैआएका थारु यस क्षेत्रको सुरक्षामा आफैं तैनात भई जुन कुनै आतंकी हमलाको विरुद्ध खडा रहने वचनवद्ध छौं। साथै थारुको बसोबास रहेका नाकाबाट भइरहने आतंकवादी घुसपैठलाई नियन्त्रण एवं निगरानी गर्न सिंगो सामाजिक संरचनामार्फत पहलकदमी लिनेछौं।

३- नेपाल र भारतका हामी थारु भाषिक, साँस्कृतिक, मनोवैज्ञानिक एवं ऐतिहासिक पृष्ठभूमि र साझा भूगोलमा एक मत बन्दै थारु अन्तर्राष्ट्रिय महासभामार्फत सम्बर्द्धन र विकास गर्न समन्वयकारी भूमिका निर्वाह गर्न अग्रसर हुन्छौं।

४- अन्तर्राष्ट्रिय कानुन विशेषतः आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ लगायतका अन्य महासन्धि, अभिसन्धिमा उल्लेखित विभिन्न अधिकार प्रत्याभूत गर्न पहल, लविङ्ग निरन्तर गर्नेछौं ।

५- थारुको मौलिक ज्ञान, परम्परा, कानुनी बहुलता लगायत विश्वदृष्टिबारे ठोस अनुसन्धान गर्न एक साँस्कृतिक अनुसन्धान केन्द्र स्थापना आवश्यक देखिएकाले दुवै देशको सरकारसँग पहल गर्ने भयौं। परियोजना अगाडि बढाउन यो महासभा प्रयासरत छन्।

६) थारु अन्तर्राष्ट्रिय महासंघको नेपाल च्याप्टर गठन गर्न निर्णय पारित गरिएको र तदर्थ समितिका संयोजकमा श्री श्रवण थारु रहने निर्णय सर्वसम्मतिले पारित भएको जानकारी गराउँदछौं।

नाउपालाई अर्को झट्का, बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अर्को झट्का लागेको छ। पार्टीका बाँके अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाँच दिनअघिमात्र कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए।

अहिले चन्तराम पुरानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले चन्तरामलाई पार्टीमा भित्र्याएका हुन्। चन्तराम गत २०७९ को संसदीय निर्वाचनमा बाँके क्षेत्र ३(१)बाट चुनाव पनि लडेका थिए। उनले ९, ५४७ मत ल्याएर तेस्रो बनेका थिए।

पछिल्लो समय नाउपाका नेता-कार्यकर्ताहरू पार्टी नेतृत्वप्रति असन्तुष्ट छन्। पार्टी संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच चलेको टकरावका कारण नेता-कार्यकर्ताहरूमा असन्तुष्टि छाएको हो। हालैमत्र पार्टीका केन्द्रीय सचिव ललित तम्राकारले पनि पार्टीबाट अलग भएको घोषणा गरेका थिए।

जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलन सुरू

मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।

सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता रहेको छ।

‘मिलेर हामी धेरै कुरा पाउन सक्छौं’ मूल नारा राखिएको सम्मेलनमा दुई देशका थारू अगुवाहरूले थारु समुदायको हकहित र दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ।

एमालेको ‘म झोले’ अभियान के हो ?

‘पार्टी वा नेताको झोले कार्यकर्ता’ भन्ने शब्द निकै बदनाम थियो, २०४६ सालपछि । अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ कार्यकर्ताका रूपमा चित्रण गरिन्थ्यो । त्यसपछि ‘झोले’ भन्ने शब्द केही समय ओझेलमा पर्‍यो । तर पछिल्लो समय यो शब्द फेरि प्रयोग हुन थालेको छ ।

जेठ १५ मा गणतन्त्र उत्सवका दिन एमालेको जुलुस भइरहेका बेला ट्राफिक जाममा परेका सर्वसाधारणले एमाले कार्यकर्तालाई ‘झोले’ भन्दै विरोध गरे । राजावादीहरूको जुलुसमा पनि ‘एमालेको झोले शब्द’ प्रयोग गरियो । सामाजिक सञ्जालमा पनि एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थाल्यो । त्यसले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आक्रोशित बनायो । एमालेले सोमबारदेखि ‘म झोले’ भन्ने अभियान नै चलाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्दै पोस्टर बनाएर एमाले नेता तथा कार्यकर्तामाथि लागेको आरोपको प्रतिवाद गरेका छन् । ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ ।’

ओलीले ‘म झोले हो’ भन्ने अभियानमा एमाले नेताहरू सहभागी भएका छन् । उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सूचना तथा विज्ञान प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेता महेश बस्नेतलगायतका थुप्रै नेता ‘म झोले अभियान’ मा सहभागी भएका छन् । यो अभियानमा नेता सहभागी हुने बढ्दै छ ।

शनिबार एमालेनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले आफू एमालेको ‘झोले’ भएको सगौरव प्रस्तुत गरेका थिए । ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कयौं गुणा उत्तम चरित्र हो । म नेकपा एमालेको झोले हो, म यो देशको झोले हो । प्रतिक्रियावादीलाई चित्त बुझ्यो ?,’ उनको थप भनाइ थियो, ‘म कबुल गर्छु झोले हो । झोला राम्रा कुरा बोक्न बनेका हुन् । दलाली कुरा हालेर बोक्छन् झोलामा । राम्रा कुरा बोक न झोलामा । म जनताको झोला बोकेर, जनताको झोला, राष्ट्रको झण्डा बोक्ने, परिवर्तनको झण्डा बोक्ने झोले हु । मैले सामन्तको झोला बोकेको छैन । मैले इतिहासलाई बाङ्गोटिङगो भनेर मर्काएको छैन ।’

उनले राजावादीहरूलाई देशको झोला बोक्नुभन्दा दास हुनु उचित लागेको बताए । ‘प्रभुको दास हुँ भनेर कबुलियतनामा गर्न हुने । ती झोले नहुने ? योभन्दा गुलामीको पराकाष्ठा के हुन्छ ?’ ओलीको भनाइ थियो ।

एमालेको झोले अभियान किन त ? एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘झोले अभियान’ प्रतिकात्मक अभियान भएको बताए । देश, जनता र पार्टीका लागि झण्डा र झोला बोक्नु गौरवको विषय भएको उल्लेख गर्दै उनले झोला अभियान सामाजिक सञ्जालमा जारी रहने बताए । ‘देश, जनता र पार्टीका लागि झोला बोक्नु गौरवको विषय हो । त्यही गौरवलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् सुरु गर्नु भएको हो’ उनले भने, ‘प्रतिगमनकारीहरूको विरुद्ध यो प्रतिकात्मक अभियान हो ।’

इकान्तिपुरबाट साभार

सर्वोच्चका अधिकृतलाई थुनामै राख्नुपर्ने मागसहित रेशम चौधरी पुगे उच्च अदालत

फर्जी कागजात बनाई आफूलाई थुनामा पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न नहुने माग राख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी उच्च अदालत पाटन पुगेका छन्।

चौधरीले विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन्। थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्नेमा धरौटीमा छाडिएको भन्दै चौधरीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन्।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाअन्तर्गत कार्यरत शाखा अधिकृत विष्टले रेशम चौधरीलाई पक्राउ गर्नु भन्ने पत्र बनाइ आफूले प्रहरीलाई पत्र बुझाएका थिए। त्यही पत्रका आधारमा पक्राउ परेका चौधरी पछि यथार्थ विवरण खुलेपछि केही घण्टामै रिहा भए।

आफूलाई अनाहकमा पक्राउ गराउन शाखा अधिकृत विष्टले किर्ते कागजात तयार गरेको भन्दै नाउपाका संरक्षक चौधरीले पनि जिल्ला प्रहरी परिसरमा विष्टविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले सर्वोच्च अदालतको पत्र अनि नाउपा अध्यक्ष विष्टको जाहेरीका आधारमा मुद्दा अघि बढाएको थियो।

मुद्दा चलेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीनबन्धु बरालले ५ जेठ, २०८२ मा सर्वोच्च अदालतका शाखा अधिकृत विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेका थिए। धरौटी बुझाएपछि रिहा भएका विष्टलाई सर्वोच्च अदालतले निलम्बन गरेको छ।

चौधरीले विभिन्न सातवटा आधार देखाई विष्टलाई थुनामै पठाउनुपर्ने माग गरेका छन्। शाखा अधिकृत विष्टले सर्वोच्च अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरेकाले उनलाई धरौटीमा छाड्न नहुने चौधरीको जिकिर छ।

एकजना जिम्मेवार सरकारी कर्मचारीले जानाजान सरकारीले लेटरप्याडको दुरुपयोग गरी आफूलाई थुनामा पठाएको र त्यसले अदालतको जनआस्थामा समेत आँच पुगेको भन्दै उनले विष्टलाई थुनामै राख्नुपर्ने माग गरेका छन्। शाखा अधिकृत महिमानसिंह विष्टले प्रहरीसँग र अदालतमा गरेको बयानमा समेत आफूले गरेको काम स्वीकारेर ‘साविति भएको हुनाले’ धरौटीको सुविधा दिन नहुने निवेदनमा उल्लेख छ।

अदालतमा विचाराधीन मुद्दाका बारेमा आफू गलत व्याख्या गरेको, सुरक्षाकर्मीहरूलाई झुक्याएको र पार्टी एकता कार्यक्रममा आफूलाई पक्राएको भन्दै चौधरीले लहड र गैरजिम्मेवारपनका कारण पनि विष्टलाई थुनामै राख्नुपर्ने माग गरेका हुन्।

आफूलाई पक्राउ गर्ने घटनाले सर्वोच्च अदालतको साख गिरेको अनि सात वर्षसम्म कैद हुनसक्ने मुद्दामा धरौटीमा छाड्नु गलत हुने भन्दै चौधरीले तथ्य, कानूनी व्यवस्था, फौजदारी न्यायका सिद्धान्त अनुसार पनि उनलाई धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै थुनामा पठाउन माग गरेका हुन्।

चीनमा बढ्दो घरबारविहीनता र यसको प्रभाव

चीन, जुन द्रुत आर्थिक वृद्धि र शहरी आधुनिकीकरणका लागि परिचित छ, अहिले एक गम्भीर संकटको सामना गर्दैछ—घरबारविहीनता। यो समस्या युवादेखि वृद्धसम्म फैलिएको छ। बेइजिङ, तियानजिन, यिउ, सांघाई, ग्वाङ्झाउ, शेन्जेन, चेङ्दु, वुहान, डोङगुआन र चोङकिङजस्ता प्रमुख शहरहरूमा हजारौं मानिसहरू पुलमुनि, फुटपाथ, पार्क र पसलका ग्यालरीमा रात बिताउन बाध्य छन्। स्थायी आवासबाट वञ्चित यी व्यक्तिहरू न्यून स्रोत र अस्पष्ट भविष्यबीच जीवनयापन गर्न संघर्षरत छन्।

विशेषतः, आफ्नो गृहनगर छाडेर अवसरको खोजीमा शहर आएका युवाहरूबीच अस्थिरता र असुरक्षा झनै तीव्र गतिमा फैलिएको देखिन्छ। यो बढ्दो घरबारविहीनता न केवल व्यक्तिगत पीडाको कारण बनेको छ, तर देशको समग्र सामाजिक र आर्थिक स्थायित्वमा समेत गहिरो असर पारिरहेको छ।

चीनमा घरबारविहीनता बढ्नुमा विभिन्न कारणहरू छन्। ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक असमानता तीव्र बन्दै गएको छ, जसले धेरैलाई राम्रो जीवनको खोजीमा शहरहरूतर्फ पलायन गराएको छ। तर, शहरी जीवनको महँगी, विशेषतः आवास भाडाको अत्यधिक वृद्धि, न्यून आम्दानी भएका कामदारहरूका लागि असह्य बन्दै गएको छ। रोजगारी पाउन गाह्रो हुँदै जाँदा वा कमाइ मुद्रास्फीतिसँग मेल नखाँदा, धेरैले स्थायी आवास गुमाएका छन्।

यसबाहेक, बेरोजगारी, रोजगारी बजारको अस्थिरता, तथा स्वचालन र औद्योगिक संरचनामा आएको परिवर्तनका कारण विशेषतः नयाँ स्नातक युवाहरू रोजगारी पाउन असमर्थ छन्। आर्थिक दबाबका कारण उनीहरू घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन्, जसले अन्ततः उनीहरूलाई सडकमा पुर्‍याउँछ।

द्रुत शहरीकरणले शहरहरूलाई आर्थिक केन्द्र बनाएको भए पनि, शहरी अवसरहरू सबैका लागि साकार हुने गरेका छैनन्। शहर आएका आप्रवासीहरू कम तलबका अस्थायी काममा अड्किन्छन्, जहाँ उनीहरूले जीवनयापनका लागि संघर्ष गर्नुपर्छ। घरजग्गाको मूल्य वृद्धिले पनि सामान्य आवासको पहुँचबाट धेरैलाई बाहिर राखेको छ।

घरबारविहीन जनसंख्याको एक ठूलो हिस्सा वृद्ध नागरिकहरू हुन्, जो पेन्सन वा पारिवारिक सहयोगविना जीवन बिताइरहेका छन्। अर्कोतर्फ, युवाहरू पनि प्रतिस्पर्धी रोजगार बजार र आर्थिक दबाबका कारण घरबारविहीन बन्दै गएका छन्। यो अवस्था विशेष गरी मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ।

बढ्दो घरबारविहीनता विशेषतः युवाहरूमा मनोवैज्ञानिक संकट निम्त्याउँदैछ। निराशा, चिन्ता, अनिश्चितता र असफलताको भावना उनीहरूमा तीव्र छ। आकांक्षाले भरिएका शहरहरूमा पुगे पनि त्यहाँका कठोर वास्तविकताले उनीहरूलाई गरिबी र सामाजिक बहिष्कारमा पुर्‍याउँछ। स्थायी जागिर र सुरक्षित आवासको अभावले डिप्रेसन, तनाव र आत्महत्यासम्मका विचार उत्पन्न गराउँछ।

सामाजिक सहयोग प्रणालीको अभावले उनीहरूको पीडालाई अझै चर्काएको छ। जब तिनीहरूलाई राज्य वा समुदायबाट सहयोग मिल्दैन, उनीहरू झनै अलग र असहाय महसुस गर्छन्। यसले गरिबी, सामाजिक बहिष्कार र भावनात्मक संकटको चक्रलाई निरन्तरता दिन्छ।

घरबारविहीनता केवल सामाजिक वा मानवीय मुद्दा होइन, यो एक गहिरो आर्थिक चुनौती हो। आवास अभावले उपभोक्ता खर्च घटाउँछ, जसले आर्थिक वृद्धिमा प्रत्यक्ष असर पार्छ। कमजोर र असुरक्षित कार्यबलले उत्पादकत्व घटाउँछ। जब मानिसहरू आधारभूत आवश्यकता—आवास, खाना, स्वास्थ्य सेवाबाट वञ्चित हुन्छन्, उनीहरू श्रम बजारमा सहभागी हुन सक्दैनन्।

साथै, घरबारविहीन जनसंख्या बढ्दै जाँदा स्थानीय सरकारहरूमा आश्रय, खाद्यान्न तथा स्वास्थ्य सहयोगका क्षेत्रमा वित्तीय दबाब पनि बढ्दै जान्छ। यो अवस्था दीर्घकालीन रूपमा सामाजिक असन्तोष र आर्थिक अस्थिरताको कारक बन्न सक्छ।

यो संकट समाधान गर्न बहुआयामिक दृष्टिकोण आवश्यक छ। सरकारले कम आय भएका वर्गका लागि किफायती आवास कार्यक्रम विस्तार गर्नुपर्छ। भाडा नियन्त्रण र आवास नीतिहरू सुधार गरी सबैका लागि पहुँच योग्य बनाइनुपर्छ।

युवाहरूका लागि रोजगारी सिर्जना, तलब स्थिरता र सीप विकास कार्यक्रमहरू आवश्यक छन्। साथै, घरबारविहीनताबाट प्रभावित व्यक्तिहरूका लागि मानसिक स्वास्थ्य सहयोग र सामाजिक कल्याण कार्यक्रमहरू एकीकृत गरिनुपर्छ। परामर्श, वित्तीय सहायता, र व्यावसायिक प्रशिक्षणले उनीहरूलाई समाजमा पुनः एकीकृत गराउन मद्दत पुर्‍याउन सक्छ।

चीनमा बढ्दो घरबारविहीनताको संकटले नीति निर्मातादेखि समग्र समाजलाई नै गम्भीर चुनौती दिएको छ। यदि समयमै समाधान नगरिएमा, यसले दीर्घकालीन रूपमा आर्थिक, सामाजिक र मानवीय संकट निम्त्याउनेछ। विशेषतः, सुरक्षित भविष्यविनाका युवाहरूको व्यथा र पीडाले तत्काल हस्तक्षेपको आवश्यकता औंल्याउँछ।

राष्ट्रको समृद्धि आफ्ना नागरिकको जीवनस्तरको मूल्यमा हुनु हुँदैन। किफायती आवास, स्थिर रोजगार र सामाजिक सहयोग प्रणालीको सुनिश्चिततामार्फत मात्र चीनले यो संकटमाथि विजय हासिल गर्न सक्छ र घरबारविहीनता उस्को शहरी परिदृश्यको स्थायी विशेषता बन्नबाट जोगाउन सक्छ।

यी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो।

छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्।

स्नातक तहमा अध्ययनरत सिरहाका कृष्णकान्त चौधरी, सप्तरीका पियुस चौधरी, दाङका अशोक चौधरी, सप्तरीका आदर्श चौधरी, नवलपरासीका विवेक चौधरी, कपिलवस्तुका अभिषेक थारु, दाङकी बन्दना चौधरी र महोत्तरीकी अमिशा सिंह रहेका छन्।

त्यस्तै प्लस टुमा अध्ययनरत सप्तरीकी युनिसा चौधरी, सप्तरीकै स्नेहा चौधरी, बर्दियाका विनायक चौधरी, दाङकी सुमिना चौधरी, पर्साकी इशु चौधरी, कैलालीकी दीपिका चौधरी, कैलालीकै ममता चौधरी, बाँकेकी सोनिया थारु, सप्तरीका राहुल चौधरी, नवलपरासीकी प्राप्ति चौधरी, रुपन्देहीकी तमन्ना थारु र रौतहटका हेमन्त चौधरी रहेका छन्।

त्यस्तै विशेष छात्रवृत्तिको रूपमा रहेको टीएफए नामांकित अन्तर्गत सरोज चौधरी छात्रवृत्ति पाउनेमा कञ्चनपुरका अशोक चौधरी र कैलालीकी करुना चौधरी रहेका छन्। त्यस्तै हिमालय ग्रिल छात्रवृत्ति पाउनेमा बर्दियाका दीपक थारु र दाङकी हेमाश्मा चौधरी रहेका छन्। त्यस्तै बसन्ती देवी चौधरी छात्रवृत्ति पाउनेमा बाँकेका प्रकाश थारु रहेका छन्।

‘सरोज चौधरी छात्रवृत्ति’ त्रिभुवन चौधरी, ‘हिमालयन ग्रिल छात्रवृत्ति’ अम्रित महतो, र ‘बसन्ती देवी चौधरी छात्रवृत्ति’ गणेश चौधरीद्वारा स्थापना गरिएको हो। टीएफएका अनुसार स्नातक तहतर्फ छात्रवृत्ति पाउनेले प्रतिव्यक्ति ३०,००० रुपैयाँ, प्लस टु तहतर्फ २०,००० रुपैयाँ र नामांकिततर्फ प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरिनेछ।

टीएफए छात्रवृत्ति कार्यक्रमका लागि नेपालका ५०० भन्दा बढी विद्यार्थीले आवेदन दिएको सचि ज्ञानेन्द्र चौधरीले बताए। यो अघिल्लो पटकभन्दा आठ गुणाले धेरै भएको सचिव चौधरीको भनाइ छ।

टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले आवेदन मूल्यांकन गर्दा शैक्षिक योग्यता र आर्थिक अवस्था मुख्य आधार बनाइएको बताए। छात्रवृत्ति कार्यक्रम टीएफएमा आबद्ध सदस्य र शुभचिन्तकहरूबाट प्राप्त सहयोग र दानको माध्यमबाट सम्भव भएको अध्यक्ष चौधरीको भनाइ छ।

टीएफएले थारू समुदायका होनहार, मेहनती तथा आर्थिकरूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा सहयोग पुर्‍याउने उद्देश्य राखेको बताएको छ।

नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्।

प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।

रानाले आजमात्रै सामाजिक सञ्जालमार्फत नाउपाबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले नाउपा अध्यक्षलाई सम्बोधन गरेर पार्टीमा नैतिकता र राजनीतिक संस्कार नदेखिएको आरोप लगाएका छन्।

नाउपाले स्थापनाको मूल मर्म र उद्देश्य विपरीत परम्परागत संसदीय दलहरूको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तीकृत समुदायको विश्वासमाथि कुठाराघात गरेको आरोप लगाएका छन्। उनले नाउपा समुदायप्रति इमान्दार पनि हुन नसकेको बताएका छन्। ‘मैले इमान्दारितासाथ जनताको अधिकारका पक्षमा लड्दै आइरहेको छु। तर, पार्टीका पछिल्ला गतिविधिहरूका कारण नैतिकता र राजनीतिक इमान्दारित र संस्कारका कारण पार्टीमा बसिराख्न उचित नहुने ठाने,’ उनले राजीनामा पत्रमा लेखेका छन्।