कांग्रेसको थारू संघलाई महाधिवेशन गर्ने अन्तिम मौका

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ। बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो। पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ। बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत उपस्थित थिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत मसान्तभित्रै महाधिवेशन गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताए। छलफलसँगै नेतृत्व तहबाट म्याद थप नगर्ने र तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न केन्द्रित हुने निर्णय गरेको उनको भनाइ छ। ‘भातृसंस्थाका महाधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशक समिति गठन गरिएको थियो। त्यसैको प्रगतिबारे नेतृत्व र निर्देशक समितिबिच छलफल भयो। तोकिएकै अवधिमा सम्पन्न गर्न पार्टीबाट हुन सक्ने सहयोगका विषयमा छलफल केन्द्रित भयो। केही साथीहरूले चुनौती दर्शाउनुभयो, तर धेरै साथीहरूले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।

गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपांग संघ, थारू संघ र लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन सुनिश्चित गर्न निर्देशन समिति बनाउने निर्णय गरेको थियो। केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशन समिति बनाउने निर्णय लिएको थियो। ‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृसंघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृसंघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशन समिति गठन गर्ने,’ निर्णयमा भनिएको छ।

‘भ्वाइस अफ नेपाल’मा भाग्य खोज्दै दृष्टिविहीन विकास थारू

प्रतीक्षा रिजाल/अनलाइनखबरबाट
बर्दियाका २४ वर्षीय विकास थारु जन्मजात दृष्टिविहिन हुन् । छालाको आँखाले उनी देख्दैनन् तर, मनको आँखामा उनी सपना देखिरहन्छन् । संगीतमा सफल बन्ने र नाम कमाउने उनको सपना हो ।

गायन यात्रामा अघि बढ्न उनलाई परिवारको कमजोर आर्थिक स्थितीले रोेकेन । गाउनमा उनी अब्बल छन् । सुमधुर स्वरले मन्त्रमुग्ध तुल्याउँछन् । संगीतप्रतिको लगाव र संघर्षले उनलाई ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ सम्म ल्याएको छ ।

३ जना कोचको कुर्सी घुमाउँदै गतसाता उनी यो रियालिटीको ब्लाइन्ड अडिसनमा छनोट भए । हिम्मत र इच्छाशक्तिले उनलाई भ्वाइसको स्टेजमा ल्याइपुर्‍यायो । प्लाटफर्म उनको लागि सांगीतिक करिअरलाई अघि बढाउने मौका पनि हो ।

यसै सन्दर्भमा विकासले अनलाइनखबरसँग संक्षिप्त संवाद गरे । उनले भने, ‘सिजन ४ देखि भ्वाइसमा आउने चाहना थियो, तर डिजिटल अडिसनका लागि मसँग सहयोग गर्ने कोही थिएन । अहिले यो अवसर पाउँदा मेरो लागि यो ठूलो जित जस्तै बनेको छ । आफूसँग भएको कलालाई लिएर अघि बढ्ने चाहना छ ।’

संगीतप्रतिको यो लगावले विकासलाई काठमाडौंसम्म ल्यायो । काठमाडौंका सडकमा पनि उनले गीत गाउन थाले । ग्यास सिलिन्डर समेत बेचेर यहाँको बाटोमा गीत गाउँदै हातमुख जोडे । ‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा काठमाडौँ आएको हो । परिवारमा मलाई पढाउन सक्ने क्षमता थिएन, सरकारको सहयोगले माध्यमिक शिक्षासम्म हासिल गर्न सकें’ भन्छन्, ‘सुरुमा धुप बेच्दै हिँडे पनि समस्याहरू आएपछि लगभग ४ वर्षदेखि बाटोमा गीत गाइरहेको छु ।’

बाटोमा गीत गाउनु दृष्टिविहिन विकासलाई सजिलो पक्कै होइन । ‘मानिसको व्यवहार र समाजका कयौं समस्या मलाई सधैँ पर्खिरहेका हुन्छन्’ उनले थपे, ‘कति मानिसले मानवीय व्यवहार नगरी गाली गर्ने, छतबाट पानि हल्दिने, कुकुर फुकाउने गर्छन् । हामी केही गर्न सक्दैनौं । यी सबै समस्याका बाबजुद पनि हामी हिम्मत गरेर गीत गाउँछौं ।’

उनी अहिले नारायणटारमा श्रीमतीसँग बस्छन् । श्रीमती पनि दृष्टिविहिन हुन् । दुबैले कठिन जीवन बाँचिरहेका छन् । भ्वाइसको स्टेजमा अडिसन दिन जाँदा विकास श्रीमतीसँगै गएका थिए । उनीहरू दुबैले गीत गाएर प्रतिभा प्रस्तुत गरे ।

काठमाडौँ महानगरले बाटोमा बसेर गीत गाउन रोक लगाउने कार्यले आफूहरूलाई असर गरेको उनले बताए । ‘यसले हामीजस्ता कलाकारलाई समस्या भएको छ’ भन्छन्, ‘सरकारले बाटोमा गीत गाउन नदिने निर्णय गरेको छ, यो हाम्रो लागि समस्या हो । हामीलाई गाउने अवसर दिने व्यवस्था र रोजगार दिने उपाय भए राम्रो हुन्थ्यो ।’

बाटोमा गीत गाउँदा स्पिकर लगिदिने, गाली गर्ने गरिएको उनले बताए । ‘यो सबै गर्नभन्दा कुनै रेस्टुरेन्टमा गीत गाउने व्यवस्था गरिदिए हामीलाई सजिलो हुन्थ्यो । पेट पाल्ने एकमात्र साहाराबाट पनि बन्चित गरिदिँदा धेरै समस्या भोग्नुपरेको छ’ उनले भने ।

उनले सरकारसँग अनुरोध गरे, ‘हामीले गर्न सक्ने कामको व्यवस्था गरिदिनुस । हामी काम गर्न तयार छौं, तर हाम्रो पेट पाल्नको लागि सहयोगी उपाय दिनुहोस् ।’ यतिबेला विकासले कोच मेलिना राईको टीमबाट प्रतिस्पर्धा गर्दैछन् ।

पेट्रोलको मूल्य वृद्धि, डिजेल र मट्टितेलको ४ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ।

बन्धु थारुको हत्यारा २१ वर्षपछि पक्राउ, यस्तो थियो हत्याको कारण

२१ वर्ष पहिले एक व्यक्तिको हत्या भएको घटनामा आरोपितमध्य दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बर्दियाको साविक मानपुर टपरा गाविस वडा नं. ७ र हालको राजपुर नगरपालिका-८ सडवा गाउँका २८ वर्षीय बाधुराम भनिने बन्धु थारुको २१ वर्ष पहिला हत्या भएको थियो।

हत्या गरिएका थारुको आफ्नै औषधि पसल थियो। औषधि पसलदेखि झन्डै ६०० मिटर टाढा लगेर घाँटी रटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार २०६० साल जेठ १५ गते राति १० बजे बन्धुको हत्या भएको थियो।

बन्धुको हत्याको घटनापछि जेठ १८ गते छिमानन्द थारुले औषधि पसलमै काम गर्ने दुई जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। छिमानन्दको जाहेरीका आधारमा २१ वर्षपछि नवलपरासी जिल्लाको कावासोती नगरपालिका-१५ का ७८ वर्षीय कंभुनारायण महतो र ४५ वर्षीय राजु थारु भनिने रामनारायण महतो पक्राउ परेका हुन्।

माघ २६ गते बर्दिया जिल्ला अदालतबाट महतोद्वयलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि नवलपरासी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी बर्दिया ल्याइएको हो । उनीहरुमाथि अनुसन्धान जारी रहेको डिएसपी घर्तीले बताए।

डिएसपी घर्तीका अनुसार बन्धु थारुको हत्या हुनुको पछाडि श्रीमतीसंगको अबैध प्रेम सम्बन्ध कारक मानिएको देखिन्छ । ‘अवैध प्रेम सम्बन्धका कारण पसलमै काम गर्ने दुई जना मिलेर साहुलाई एकान्तस्थलमा पुर्‍याएर रातिमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुल्छ,’ डिएसपी घर्तीले भने ‘ धेरै पुरानो घटना भएका कारण हामी पुरानो फाइलहरु खोल्ने र घटना बुझ्ने क्रममै छौं।’

हत्यापछि उनीहरु बर्दिया छोडेर नवलपरासीमा गई उतै बस्न थालेका थिए । विगतको सम्बन्धकै कारण महिलाको सहयोगमा उनीहरुको स्थान पत्ता लगाउन र पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ।

मधेससका मुख्यमन्त्री भन्छन्- थारू भाषालाई पनि समेटेर विधेयक ल्याउँदै

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार गरेको मधेस प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी परामर्श गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरे।

उनले प्रदेश सरकारले सबै भाषा संस्कृतिको सम्मान गर्दै आएको भन्दै यसअघि सदनमा पेस गरिएको भाषा विधेयकमा प्रदेशसभा सदस्यहरूले त्रुटि औंल्याएपछि प्रदेश सरकारले उक्त विधेयक तत्काल फिर्ता लिएको बताए। उनले विधेयकमा देखिएका त्रुटिहरूबारेमा विज्ञ र सम्बन्धित सरोकारवालासँगको छलफलपछि मात्रै विधेयक संसदमा टेबल हुने बताए।

कार्यक्रममा मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले यसअघि भाषा विधेयक प्रदेश सरकारको मन्त्रिपरिषदमा जाँदा मधेस प्रदेशमा तिन प्रतिशतभन्दा बढी बोलिने थारू सहितका भाषाहरूलाई समावेश गर्न आफुले सुझाव दिदाँ पनि वास्तै नगरी शिक्षा तथा संस्कृति मन्त्रीले विधेयक ल्याएपछि चौतर्फी विरोध भएको भन्दै प्रदेशको मन्त्रिपरिषदले नै पठाइ सकेपछि आफ्नो मन्त्रालयले दर्ता गराउन बाध्य भएको जानकारी गराए।

उनले उक्त विधेयकमा सरकारी कामकाजको भाषाको रूपमा नेपाली, मैथली, भोजपुरी जस्तै थारूभाषालाई समेत समावेश गर्न पुनः सुझावसहित विधेयकलाई आफूले सदर गरेको जानकारी गराए। कार्यक्रममा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालको विविधतालाई संरक्षण र सम्वर्धन गर्न संघीयता आएको भन्दै संघीयता कार्यान्वयको महत्त्वपूर्ण पक्ष भाषा समेत रहेको बताए। उनले संघीयता कसरी कार्यान्वयन भएको छ भने कुरा महत्त्वपूर्ण रहेको भन्दै पहिचान सहितको संघीयता आवश्यक भएको बताए।

मुख्यत तीन वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगले भने पनि अन्य भाषालाई राख्नै नहुने कहीँ कतै नभनेको बताए। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दसवटै राजनीतिक दलका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले यस अघि कसैसँग छलफल नै नगरिकन हचुवाको भरमा विधेयक ल्याएपछि आफूहरू विरोध गर्न बाध्य भएको बताए। उनीहरूले सबै भाषा संस्कृतिको सम्मान हुने किसिमले भाषा विधेयक ल्याउनका लागि प्रदेश सरकारसँग माग गरे।

कांग्रेसको अनुसन्धान निर्देशकमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन्। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र अनुसन्धानतर्फ निर्देशकमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका हुन्।

प्रतिष्ठान प्रमुख उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकहरू नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कमलरी राख्ने एमाले सांसदलाई कारबाही गर्न रास्वपा सांसद चौधरीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको छ। नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो विषयमा रास्वपाका सांसद अशोक चौधरीले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध गरे । ‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो र निर्दोषलाई शूली चढाउने शासकको रूपमा इतिहासमा दर्ज हुँदैछ,’ चौधरीले भने ।

उनले बालिकाको उद्धार गरे पनि दोषीलाई कारबाही किन नगरेको भन्ने प्रश्न गरे । ‘कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरूलाई आशा दिलाएको थियो । तर, विडम्बना । आज यही सरकारको छत्रछायाँमा एक सांसदले दाङकी थारु नाबालिकालाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौँ महानगरपालिकाले उद्धार गर्‍यो, तर कारबाही ? शून्य !,’ चौधरीले भने ।

दोषीलाई कारबाही नगर्ने हो भने कमलरी प्रथा पुनः स्थापित भएको घोषणा गरिदिन माग गरे । ‘यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मूकदर्शक बनी बस्छ भने नेपाल सरकारले खुलेरै घोषणा गरिदियोस्, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर,’ उनले भने ।

उनले वर्तमान सरकार आफ्ना नेता कार्यकतालाई बचाउनलाई, भ्रष्ट्राचारीलाई जोगाउनलाई,दलाल ठग बिचौलियालाई उन्मुक्ति दिनलाई बनेको बताएका छन् ।

‘कमलरी’ राख्ने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

नाबालिगलाई घरेलु कामदार (कमलरी) बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो।

माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्। सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो। उक्त विषयमा सूचना माग गर्ने क्रममा यस्तो जानकारी गराएको हो। अब यसको अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने जानकारी समेत सरकारी वकिलको कार्यालयबाट गराइएको हो। उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ। उच्चले २२ गते निर्णय सदर गर्दै २३ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।

लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो। आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौं महानगरमा सम्पर्क गरेकी थिइन्। सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियो।

परिवारलाई पढाइदिने भन्दै काठमाडौं ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो। बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरूद्ध गत जेठ ३० गते बालिकामाथि श्रम शोषण तथा दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।

ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरीमाथि विद्यार्थी नेताको आक्रमण, दुई जना पक्राउ पर्दा अखिल नेता फरार

काठमाडौंको ठमेलमा दुई प्रहरी कुटिएका छन्। विद्यार्थी नेताहरूबाट उनीहरू कुटिएका हुन्। कुटाइ खानेमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सवार मोटरसाइकल लडाउँदै विद्यार्थी नेताहरूले कुटपिट गरेका थिए। उनीहरूको लौरोसमेत फालिदिएका थिए।

ठमेलमा ड्युटी खटिएका उनीहरूमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन्। उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन्। पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष हुन्। उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो।

कुटपिटका मुख्य योनजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरीको भनाइ छ। जोशीसहित ६/७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो। जोशी अनेरास्ववियुका नेता हुन्। उनी अहिले फरार छन्।

एक हजारमा सुरू भएको शान्ताको आचार, युरोप-अमेरिकासम्म हुन्छ बिक्री

दुर्गालाल केसी/कान्तिपुर दैनिक साभार
८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन्। एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन्। उनलाई अचारको माग पुर्‍याउनै हम्मे परिरहेको छ।

आफ्नै नामबाट अचार उद्योग खोलेकी शान्ताले अचारको नाम पनि ‘शान्ताको अचार’ भनेर राखेकी छन्। स्थानीय किसानबाट किनेका कृषि उपजबाट उनले अचार बनाउँछिन्। ‘स्थानीय जैविक सामग्रीबाट अचार तयार गरिन्छ। यो स्वादिलो अचारले नेपालको समृद्ध पाककला परम्पराको झल्को दिन्छ,’ उनले भनिन्, ‘नेपालको असली स्वाद खोज्नेका लागि यो उत्तम रोजाइ बनेको छ। त्यसकारण विदेशमा पनि धेरै नै माग छ।’

जीवनमा अनेक संघर्ष र उतारचढाव व्यहोरेकी शान्ताले राजनीति गर्दागर्दै आत्मनिर्भर हुने उपाय खोजिन्। उनले आफू मात्रै नभई अन्य महिलालाई पनि आत्मनिर्भर बनाउने सोचका साथ अचार बनाउने उद्यम थालेकी हुन्।

‘महिलाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन पनि यो उद्योग खोलेकी हुँ,’ उनले भनिन्, ‘महिलालाई सीप र रोजगारको अवसर दिई उनीहरूको जीवन परिवर्तन गर्न खोजेकी छु।’ उनको उद्योगमा हाल १८ जना महिलाले काम गरिरहेका छन्। शान्ता आफैं पनि बिहानैदेखि राति अबेरसम्म अचार बनाउने काममा खटिइरहेकी हुन्छिन्। कहिलेकाहीं राजनीतिक कार्यक्रम र बैठकहरूमा दौडधुप गर्नुपर्ने उनका लागि राजनीतिक जीवनसँगै व्यवसाय सम्हाल्न सहज भने छैन। राजनीतिक कार्यक्रम नहुँदा उनी दिनभर पनि अचार बनाउन तल्लीन हुन्छिन्। शान्ताले अचार बनाए पनि बिक्रीवितरणका लागि कतै ‘बिक्री कक्ष’ भने राखेकी छैनन्।

घरमै उत्पादन गरेको अधिकांश अचार भाटभटेनी सुपर मार्केटमा दिन्छिन्। त्यसबाहेक अन्य ठाउँमा पनि मागका आधारमा दिँदै आएकी छन्। अलि ठूलो मात्रामा अस्ट्रेलिया, कतार, अमेरिकासहित युरोपेली देशमा जान्छ। अब केही समयपछि कतारमा अचारको बिक्रीकक्ष खोल्ने तयारी भइरहेको उनले बताइन्।

कतिपयले राजनीतिलाई व्यापारको थलो बनाइरहँदा उनले भने यसलाई विशुद्ध जनसेवाका रूपमा लिएर व्यापारका लागि उद्यम गरिरहेको सन्देश दिएकी छन्। ‘राजनीति सेवा हो, राजनीतिमा व्यापार हुँदैन। नेता आत्मनिर्भर हुनुपर्छ ता कि गलत काममा नजर नजाओस्,’ उनले भनिन्, ‘मैले यो सन्देश दिन पनि उद्यम गरेकी हुँ। अर्को कुरा, मेरो आम्दानीको अरू कुनै पनि स्रोत छैन। यो मेरो बाध्यताको पेसा पनि हो।’

आफूले जीवनमा सिकेको सीपलाई व्यवसायमा बदल्ने सोचका साथ व्यवसाय थालेको उनले बताइन्। ‘प्रायः महिलाको अचार बनाउने सीप हुन्छ। त्यो सीपलाई व्यवसायमा बदल्न सकेमा महिलालाई अत्मनिर्भर हुन सजिलो हुन्छ,’ उनले भनिन्, ‘म एक हजार महिलालाई रोजगारी दिने सोचमा छु। महिलाको सीपलाई आत्मनिर्भरताको माध्यम बनाउन चाहन्छु।’

यही उद्देश्यका साथ महिला सशक्तीकरण र आत्मनिर्भरताको नारा दिएर उनले महिलालाई अचार बनाउने तालिम पनि दिइरहेकी छन्। ‘तालिमबाट महिलाले व्यवसाय गरून् र आयआर्जन बढाऊन् भन्ने मेरो चाहना छ,’ उनले भनिन्, ‘तालिम लिएर धेरैले मेरै उद्योगमा काम गरिरहेका छन्। घरमै उत्पादन गरेर पनि बेच्न सकिन्छ। अचारको माग राम्रो छ।’

उनले अमला, आँप, टिमुर, लसुन, अकबरे खुर्सानी, भेडे खुर्सानी, मुला, मासुलगायत विभिन्न सामग्रीबाट अचार बनाउनुका साथै भुटेको मकैसमेत बेच्ने गरेकी छन्। घरेलु मसलाबाट हातैले बनाइएका कारण शान्ताको अचारमा घरकै स्वाद पाइने भन्दै उपभोक्ताबाट उच्च माग हुने गरेको उनले बताइन्।

‘शान्ताको अचार’ उद्योगमा शाकाहारी र मांसाहारीका लागि गरेर २२ प्रकारका अचार बन्छन्। शाकाहारी अचारमा अकबरे खुर्सानीको तीन थरी, लप्सीको दुई थरी, अमला, गुन्द्रुक, भटमास, टिमुरको छोप, च्याउ, बयर, लसुन, आँप, मुला, कागती, मिक्स, धूलो टिम्मुरको छोपलगायतका बन्छन्।

मांसाहारीका लागि कुखुरा, माछा, खसी, राँगा, बंगुरका मासुको अचार बन्छन्। शाकाहारी र मांसाहारीका लागि उनले छुट्टाछुट्टै भाँडाको प्रयोग गर्ने गरेको बताइन्। ‘मासुको अचारको पनि राम्रो माग छ। उपभोक्ताको चाहना र मागअनुसार विभिन्न प्रकारका मासुको अचार बनाउँछौं,’ उनले भनिन्, ‘मासुको सुकुटी देश, विदेशमा धेरै माग छ। त्यसकारण भेजसँगै ननभेजलाई पनि महत्त्व दिएका छौं।’

शान्ता अचारका लागि आवश्यक पर्ने कच्चा पदार्थ गाउँगाउँमा गएर संकलन गर्छिन्। सबैजसो सामान कृषि र पशु उत्पादनसँग सम्बन्धित भएकाले किसानका घर, खेतमै गएर संकलन गर्छिन्। आजभोलि कतिपय किसान आफैं पनि कृषि र पशुजन्य उत्पादन लिएर बेच्न आउँछन्। ‘यसले गर्दा एकातिर किसानको उत्पादनले पनि गाउँमै बजार पाएको छ भने अर्कोतिर किसानलाई खेती गर्न प्रोत्साहन मिलेको छ,’ उनले भनिन्, ‘सकभर गाउँकै उत्पादनलाई महत्त्व दिने गरेका छौं। किसानहरू आफैं अचारका लागि बिक्री गर्न उत्साहित हुनुहुन्छ।’

शान्ता लामो समय काठमाडौं बस्नुपर्‍यो भने पनि त्यहीं अचार बनाउन थालिहाल्छिन्। त्यस्तो बेला सकेसम्म किसानसँगै सम्पर्क गरेर सामान किन्छिन्। तरकारी मण्डीबाट सामान किन्दा महँगो पर्ने भएकाले उनले किसानबाटै किन्ने गरेकी छन्। नपुगेको अवस्थामा मात्रै तरकारीका थोक बिक्रेताबाट किन्छिन्। ‘जतागयो उतै अचार बनाउँछु। तालिम दिएर अन्य दिदीबहिनीहरू पनि तयार गरेको छु,’ उनले भनिन्, ‘जसले गर्दा दाङ, काठमाडौं जता जाँदा पनि काम गर्न सहज भएको छ। जता हुँदा पनि अचार उत्पादनको काम रोकिँदैन।’

शान्ताको अचार ३ सय ५० ग्रामको १ सय ८० देखि १ हजार ६ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ। नेपालमा बिक्री गर्दा लेबलमा लेखेको मूल्यमा व्यापारीलाई २० देखि ३० प्रतिशतसम्म छुटमा बिक्री गर्ने गरेको शान्ताले बताइन्। ‘विदेशमा बिक्री गर्दा छुट कम हुन्छ। प्रायःजसो नेपालको होलसेल मूल्यमा विदेशमा फुटकर बिक्री हुने गरेको छ,’ उनले भनिन्, ‘देशअनुसार पनि मूल्य फरक पर्छ। नेपालमा भन्दा विदेशबाट नै बढी फाइदा हुन्छ।’

उद्योगमा काम गर्ने महिलाहरूले कामका आधारमा मासिक १५ देखि ५० हजार रुपयाँसम्म पारिश्रमिक पाउँछन्। ‘मागअनुसार अचार तयार हुने भएकाले कहिले धेरै नै काम गर्नुपर्ने हुन्छ भने माग कम हुँदा उत्पादन पनि कम नै गर्नुपर्छ,’ शान्ताले भनिन्, ‘आफ्नो परम्परागत सीपका आधारमा दिदीबहिनीहरूले राम्रो पारिश्रमिक पाउनुभएको छ।’

अचार उद्योगमा तरकारी काट्नेदेखि प्याकिङ र लेबल लगाउनेसम्मका विभिन्न मेसिनहरू पनि छन्। मसला पिस्ने, लसुन फोक्ने, मुला काट्ने, र्‍यापिङ गर्ने, लेबलिङ गर्ने र सिल गर्ने काम मेसिनबाटै हुने गरेको शान्ताले बताइन्। भनिन्, ‘अचारलाई उद्योगका रूपमा विकास गर्न थालेपछि ठूलो मात्रामा उत्पादन गर्न मेसिनको प्रयोग नगरी नहुने रहेछ।’
उनले एक हजार रुपैयाँको कुखुराको मासु किनेर अचार बनाउन सुरु गरेकी थिइन्। माग राम्रो भएपछि उनले अन्य विभिन्न खालका अचारमा पनि हात हालिन्। अहिले उनले अचारबाट मासिक २० हजार रुपैयाँसम्म कमाइ गर्दै आएको बताइन्। ‘आफूले धेरै कमाउनेभन्दा पनि अरू महिलालाई रोजगारी दिँदै आफ्नो खर्च धान्ने मात्रै लक्ष्य छ,’ उनले भनिन्।

शान्ताले जीवनमा धेरै हन्डर खाइसकेकी छन्। त्यसकारण पनि उनले चुनौतीको सामना गर्न सिकेकी हुन्। काम गर्नुपर्छ भन्ने भावनाले उनलाई उद्यमी बन्न सहज भएको छ। ‘जीवनमा धेरै कामहरू गरेकी छु। मिहिनेत, जाँगर र केही गर्छु भन्ने सोच भयो भने महिलाले पनि धेरै काम गर्न सक्दारहेछन् भन्ने कुरा महसुस गर्दै छु,’ उनले भनिन्, ‘यही कारणले सपनामा पनि नदेखेको परिवर्तन मैले आफ्नै जीवनमा देख्न पाएकी छु। अर्काको घरको जुठो भाँडा माझ्दामाझ्दै सांसद हुन्छु भन्ने कहिले सोच्नु? यस्ता नसोचेका अनेकन काममा म जोडिन पाएकी छु।’

छोराछोरी ८/१० वर्षको हुँदा श्रीमान्ले छोडे। एक्लै सन्तान हुर्काउँदै राजनीति गर्न र जीवन चलाउन सहज थिएन। भूमि अधिकारको आन्दोलनमा लुकीलुकी सहभागी हुँदाहुँदै उनी सडक संघर्षबाट स्थापित भएकी हुन्। सडकबाटै उनी सांसद हुन पुगिन्। यही आन्दोलनकै क्रममा उनी २०६४ सालमा एमालेका तर्फबाट समानुपातिक सभासद भई प्राकृतिक स्रोतसाधन समितिको सभापतिसमेत भइन्।

‘अभावले धेरै कुरा सिकाउँदो रहेछ,’ उनले भनिन्, ‘केही नहुनेले पनि हिम्मत गर्‍यो भने धेरै कुरा गर्न सक्दो रहेछ। समयले सबै सिकाउँदो रहेछ।’ उनी अहिले एमालेको पोलिटब्युरो सदस्य छिन्। राजनीतिक जिम्मेवारी वहन गर्दै उनले अचार व्यवसायलाई निरन्तरता दिएकी छन्।