महाधिवेशनले क्रान्तीको ठोस खाका ल्याउँछ : वैद्य
काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनपछि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस खाकासहित आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन्। उनले एमाओवादी नेताहरुले जनयुद्धको भावना विपरीत पार्टीलाई संसदवादको आहालमा डुबाएको आरोप लगाए। माओवादीको प्रचार राज्य समिति, बुद्धिजीवी राज्य समिति र सांस्कृतिक राज्य समितिको अधिवेशनलाई आज पार्टी कार्यालय बुद्धनगरमा सम्बोधन गर्दै अध्यक्ष वैद्यले आगामी पुस २५ गतेदेखि सुरु हुने पार्टीको सातौं महाधिवेशनले क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने गरी कार्ययोजना ल्याइने बताए।
क्रान्तिको सम्भावना हुँदाहुँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएपछि क्रान्तिका बाँकी कार्यभार पूरा गर्न आफूहरु नयाँ पार्टी गठन गरी अगाडि बढेको वैद्यको भनाइ थियो।
कार्यक्रममा माओवादी सचिव देव गुरुङले नेपालमा साम्राज्यवाद र विस्तारवाद हावी रहेको बताए। उनले पार्टीको चुनवाङ् बैठकमा एमाओवादी पार्टी नेतृत्वले गणतन्त्र स्थापनासम्मका लागि मात्रै लोकतान्त्रिक गणतन्त्रको रणनीति लिने भनेकामा अहिले त्यसलाई कार्यनीति बनाइएको बताए। रासस
Facebook Comment