थारूको दसैं, जसले ‘रगतको धूप’ दिएर पितृको सम्झना गर्छन्
विमला चौधरी/बीबीसी नेपाली सेवा
पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्।
थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो।
थारू समुदायमा दशैँमा आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने चलन छ।
थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्।
त्यसैले कुलदेवताअनुसार दशैँमा पूजा गर्ने चलन पनि फरकफरक रहेको उनको भनाइ छ।
उनले आफ्ना कुलदेवताबारे जानकारी दिँदै भने, ‘‘मेरो थर ‘भगोरिया’ हो। हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ।’’
यो समुदायमा विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउने चलन छ।
दशैँका गतिविधि
थारू समुदायका मानिसले फूलपातीदेखि पूजा सामग्री जुटाउन थाल्छन्। त्यस दिन घरमूली महिलाले पूजाका लागि परिकार बनाउने र पूजा सामग्री जोहो गर्ने गर्छन्। पूजामा प्रयोग हुने भाँडाकुँडालाई नजिकैको जलाशयमा लगेर सफा गरिन्छ।
थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्।
उनी भन्छन्, ‘‘हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ तर आफ्नै पुरोहित, ‘देशबन्ध्या गुर्बा’ र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्छौँ।’’
थारू समुदायको बसोबास भएको गाउँमा स्थापित ‘भूइँह्यार थान’का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ।
विभिन्न सातथरी फूलसहित ‘गुर्बा’ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्।
‘‘दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?’’ एकराजले भने।
त्यो धूप फूलपातीका दिन ‘घरगुर्बा’कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ।
महाअष्टमीलाई थारूहरूले ‘ढिक्रह्वा’ भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले ‘ढिक्रह्वा’ भनिएको उनको भनाइ छ।
महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ।
मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ।
अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्।
अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं ‘गुर्बा’ एकराज चौधरीले बताए।
थरअनुसार पितृलाई सम्झने तिथि पनि फरक
थारूहरूको घरको सबैभन्दा पूर्वउत्तर कोठामा देवताको थान हुन्छ। उक्त कोठालाई थारू समुदायले ‘डेउह्रार कोन्टी’ भन्छन्। ‘डेउह्रार कोन्टी’मा थरअनुसार फरकफरक देउताको प्रतिष्ठा गरिएको हुन्छ।
परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नगर्दासम्म ‘डेउह्रार कोन्टी’मा लगेर शव राख्ने चलन छ।
त्यसलाई ‘पाटम बैठिना’ भन्ने गरिन्छ। थारू ‘गुर्बा’ एकराजका अनुसार मृत्यु भएका पितृलाई उक्त समुदायले देवताकै दर्जा दिएर सम्मान र पूजा गर्ने गरेको छ।
उनी भन्छन्, ‘‘पाँचदेखि सात पुस्तासम्म र कसैले १२ पुस्तासम्मलाई दशैँमा स्मरण गरेर पूजा गर्ने गरेका छन्।’’
दशैँमा पितृको पूजा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको बिहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्छन्। यसलाई थारू समुदायले ‘पिट्टर डेना’ भन्छन्।
थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीको दिन पितृलाई सम्झेर पूजा गर्ने चलन रहेको छ।
दशैँमा नै पितृलाई सम्झिनु पर्ने खास कारण नरहे पनि पुर्खाले गर्दै आएको संस्कारलाई हालसम्म अधिकांश थारूले अनुसरण गर्दै आएको उनको भनाइ छ।
‘‘अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन् त्यो हामीलाई थाहा भएन तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ। त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ।’’
पितृलाई कसरी सम्झन्छन्?
थारू समुदायले पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने गर्छन्।
पितृहरूको सम्मानमा दशैँमा विशेष खालको चोखो मदिरा बनाउने गरिएको एकराज बताउँछन्।
नवमीको दिन पितृलाई माछा, मासको दाल, तोरी लगायतका परिकार र भात अर्पण गर्ने चलन रहेको उनले बताए।
‘‘पाँचवटा टपरीमा भात राखिन्छ भने तीन, पाँच वा सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,’’ एकराजले भने।
‘पिट्टर’ दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। पाँचवटा टपरीको भातमध्ये सबैभन्दा उत्तरतर्फ राखिएको भात खान मिल्दैन।
उक्त भात पितृका लागि भएकोले खान नमिल्ने मान्यता छ। त्यसमा सिन्का पनि राखिएको हुन्छ। त्यहाँ देब्रे हातले एकपटक मात्र पस्केर भात राखिन्छ।
‘‘पितृले भोजन गरेपछि दाँत कोट्याउनका लागि सिन्का राखिन्छ,’’ एकराजले भने, ‘‘पिट्टरको भात खाने बेला टपरीको भात यताउति सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यो टपरीमा नै चुठेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।’’
पितृलाई ‘पिट्टर’ दिएपछि ‘डिउह्रार’ कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू ‘पिट्टर’ खान आउँछन् भन्ने धार्मिक मान्यता छ।
‘‘पितृलाई भोजन गर्न सजिलो होस् भन्ने मान्यताका साथ झ्यालढोका बन्द गरेर एकछिन ‘डिउह्रार कोन्टी’ सुनसान बनाउनु पर्छ,’’ उनले भने।
पितृलाई दिएको ‘पिट्टर’लाई पछि नजिकको जलाशयमा लगेर विसर्जन गरिन्छ। त्यस बेला घरका महिलाहरू गीत गाउँदै जाने गर्छन् र नुहाएर शुद्ध भई नाचगान गर्दै फर्कन्छन्।
Facebook Comment