थारूको दसैं, जहाँ बकुल्लाको वाहन बनाइ पितृहरू स्वर्ग जाने मान्यता छ
हिन्दुधर्मलम्वीहरुको घर आँगनमा यतिबेला दसैँको उल्लास छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को उल्लास छ । थारु संस्कृतिका जानकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्–‘दसैँ र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो । तर सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्न, भिन्नै रहेको छ ।’
आम हिन्दु धर्मावलम्बीहरुले देवता र दानवहरु बीचको लडाईमा देवताहरुले विजय प्राप्त गरेको हुनाले बिजय उल्लासको साथ मान्यजनहरुबाट रातो टीका लगाउने र दुर्गा भवानीको पूजा गरी मनाउँछन् । तर उही तिथिमा थारु समुदायले आफ्नो पूर्खाहरुको दिवंगत आत्मले शान्ति पाओस् भनी पूर्खाहरुको सम्झनामा डसिया मनाउने प्रचलन रहँदै आएको कोपिला बताउँछन् ।
थारु समुदायमा असोज महिनाको औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ भएको छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएइको माटोको भाँडा)मा राख्ने प्रचलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भुईमा पनि राख्ने चलन छ । यो समुदायले आफ्नो कुलदेवतालाई डसियामा जमरा र बाबरी मात्रै चढाउँछन् । फूल चढाउने प्रचलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि कोपिलाको भनाइ छ । जुन संस्कार नै थारू जातिको मौलिक विशेषता भएको उनी अगाडि थप्छन् ।
‘थारु समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पूर्खाहरुको मृत्युको कारण छूट मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ’, डसियाको पूजा विधिवारे प्रकाश पार्दै कोपिला भन्छन्–‘भित्तामा बकुल्ला बनाउने । दिवंगत आत्मले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउन चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरु (तान्त्रिक)को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पूर्खाहरुको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।’
रक्त मिसाइ बनाएको बानढुप चढाइने
थारु समुदाय डसियामा आफ्ना कुलदेवतालाई चढाउनको लागि बनाइने ‘बानढुप’लाई पनि महत्वपूर्ण मानिन्छ । बानढूप भनेको गुर्वाहरुले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरै जसो थारूहरु दहित थर भएकाहरुकै चलाउँछन् । अन्य थरको गुर्वाहरुले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएकोमा बताइएको छ ।
५-७ पुस्ताका पितृ पूजा
यसैबीच थारु समुदायभित्र पिट्टर (पिण्ड) दिने प्रचलन रहदै आएको छ । थारुभित्रको दहित गोत्र भएका थारुहरुले पञ्चमीको दिन (२२ गते) र आम थारुहरुले नवमीका दिन पुर्खाहरुलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गर्छन् ।
थारु बुुद्धिजीवी महावीर दहितको अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दहिलगायत खाद्य सामग्री जोहो गरिन्छ । उनी भन्छन्–‘डेहुरार ‘पिट्टर’ दिने चलन अनुसार पुस्तान्तर अनुसार खानेकुरा राख्ने गरिन्छ । जस्तो कि, सात पुस्ताको पितृलाई सम्झिदा सात वटा टपरीमा र पाँच पुस्ताको पितृलाई पाँच टपरीमा खानेकुरा राखिन्छ । तर दहितथारु भित्र नौ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडि १८ वटा दुुनाहरुमध्ये नौ/नौ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’
Facebook Comment