थाकस सुनसरी र दाङका महट्वाँ-भल्मन्साहरूले गरे पहलगाम घटनाको निन्दा, सुदीपलाई न्याय दिन माग

थारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो।
सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले घटनामा मारिएका बुटवलका सुदीप न्यौपानेको न्याय दिलाउन मागसमेत गरे।
‘पहलगाममा आतंकवादी हमलाबाट अमानवीय र विभत्स हत्या गरिएकोमा घोर निन्दा गर्न चाहन्छौं। आतंकारीहरूविरुद्धको लडाईँमा सम्पूर्ण समाज एक भएर लड्न आह्वान गर्दछौं। भारतीय जनता र सरकारलाई आतंकारीहरूविरुद्धको लडाईँमा सधैं हाम्रो साथ र समर्थन रहने प्रतिवद्धता जनाउन चाहन्छौं,’ जिल्ला सभापति सगेन चौधरीले भने।
त्यस्तै थारू महट्वाँ-भल्मन्साको अगुवाईमा दाङको तुल्सीपुरमा पहलगाम हमलामा मारिएकाहरूको सम्झनामा दीप प्रज्जवलन गरिएको थियो। सहभागी थारू समुदायका व्यक्तिहरूले आतंकवाद र धार्मिक अतिवादविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले मृतक न्यौपानेको न्यायका लागि विश्व समुदायसँग अपील गरेका थिए। यसअघि थारू कल्याकारणकारिणी सभा देउखुरी, थारु जागरण महिला समाजलगायतले पनि घटनाको निन्दा गरेका थिए।
Facebook Comment