शिक्षा क्षेत्रलाई कायापलट गर्ने जानकी गाउँपालिकाका यी योजनाहरू

जानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित शिक्षक, अभिभावक र समुदायलाई सक्रिय सहभागितामा ल्याउने रणनीति तय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले “राम्रो सिकाइको लागि राम्रो शिक्षण, र राम्रो शिक्षणको लागि राम्रो विद्यालय” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै तीन महिनाभित्र सबै विद्यालयले गुणस्तर केन्द्रित सुधार योजना र शिक्षकहरूले शिक्षण–सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयनमा लैजाने व्यवस्था मिलाउने भएको छ।

सीप, नतिजा र उत्तरदायित्वमा आधारित शैक्षिक सुधार
कक्षा ५, ८, १० र १२ को शैक्षिक नतिजा सुधारका लागि विद्यालयमा COMMANDO CLASS, BOOSTER CLASS, CLASS TEST, र UNIT TEST जस्ता अतिरिक्त शैक्षिक गतिविधिहरू सञ्चालन गरिनेछ। साथै प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, प्रधानाध्यापक र शिक्षकबीच नतिजामा आधारित वार्षिक कार्यसम्पादन सम्झौता गरिने छ।

शिक्षकहरूको उत्प्रेरणा बढाउन “Teacher of the Year” पुरस्कार घोषणा गरिने छ भने उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गरिने छ। विद्यालयस्तरमा विज्ञान प्रदर्शनी, गणित सम्मेलन जस्ता शैक्षिक महोत्सव आयोजना गरिनेछ।

बालमैत्री कार्यक्रम र विद्यार्थीमैत्री पूर्वाधार निर्माण
विद्यालयमा “एक विद्यालय, एक नर्स” कार्यक्रममार्फत बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गरिने छ। उत्पादनसँग सिकाइ जोड्न “एक विद्यालय, एक करेसाबारी” कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। साथै विद्यालय वरपर १०० मिटर क्षेत्रभित्र जंकफूड, मादकपदार्थ र सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लागु गरिनेछ।

प्रारम्भिक वालविकास कक्षामा “खेल्दै सिक्दै अभियान” सञ्चालन गरिनेछ। बालमैत्री कक्षाकोठाका लागि शैक्षिक सामग्री व्यवस्थापन गरिने छ भने शिक्षक, कर्मचारी र विद्यार्थीका लागि योग, ध्यान र नैतिक शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यार्थी वृद्धि र शिक्षामा पहुँच विस्तारका कार्यक्रम
सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी अनुदान (Per Child Fund) प्राप्त गर्न पहल गरिनेछ। विद्यार्थी घटेको विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिने र शिक्षक–विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलान गरिने छ।

पाँच, आठ र एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई सशर्त अनुदान दिइनेछ भने “अध्यक्ष छात्रवृत्ति कार्यक्रम” मार्फत विपन्न र सिमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। SEE पास गरेका विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति पनि दिइनेछ।

प्रविधिमैत्री र हरित विद्यालय निर्माणतर्फ जोड
विद्यालयलाई स्मार्ट बनाउने उद्देश्यसहित ICT प्रविधिको प्रयोग प्रोत्साहन गरिनेछ। विद्यालयको सौन्दर्यकरण, हरित विद्यालय कार्यक्रम, शैक्षिक पूर्वाधार निर्माण तथा मर्मत–सम्भारमा लगानी गरिने छ। साथै, प्राविधिक तथा व्यावसायिक शिक्षा संचालनका लागि आवश्यक पहल गरिनेछ।

युवालाई समेट्ने र खेलकुदमार्फत प्रतिभा विकास गर्ने योजना
“युवा मैत्री स्थानीय तह प्रवर्द्धन कार्यक्रम” अन्तर्गत युवालाई स्थानीय कार्यक्रमहरूमा सहभागी गराइनेछ। प्रत्येक वडामा “एक वडा, एक खेल मैदान” अवधारणाअनुसार खेल मैदान निर्माणको पहल गरिनेछ। सुवर्णपुर खेलमैदानको स्तरोन्नति र विद्यालयका खेल शिक्षकको क्षमता विकासको साथै उत्कृष्ट विद्यार्थीलाई खेल तालिम प्रदान गरिनेछ।

गाउँपालिकाले “विद्यार्थीसँग अध्यक्ष” कार्यक्रमलाई पनि प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जनाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *