थारू समुदायको आस्थाको धरोहर मरूवा/डेउठन्वाको लागि खोइ बजेट?
शत्रुघन चौधरी।
थारू समुदायको आस्थाको धरोहर र पहिचानको प्रतिकको रूपमा रहेका डेउठन्वा, मरूवा, ग्रामथान, डिहवार थान पूर्वी तराईको झापादेखि पशचिम कन्चनपुरसम्म हरेक थारू बस्तीमा स्थापना गरिएको हुन्छ। जहाँ थारूहरूका विभिन्न देवी देउताहरू राखिएका हुन्छन्।
डेउथानहरूमा स्थानीय परम्परा र संस्कृतिअनुसार विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको छ। यो हजारौं वर्षदेखि चलिआएको छ। यसरी पूजा गर्दा गाउँको सीमा रक्षा हुने, कसैलाई पनि रोगव्याधी नलग्ने, दैवी प्रकोपबाट जिउधनको रक्षा हुने, बालीनाली सप्रिने, बालीनाली किराकाँटीले हानी नोक्सानी नगर्ने, पशु चौपायाको रक्षा गर्ने जनविश्वास रहिआएको छ। यहाँका पूजा र संस्कारहरूले समुदायको एकता र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
हरेक पूजामा गुरूवाको महत्वपूर्ण भूमिका हुन्छ। जोसँग अथाह थारू गुरूवा ज्ञानको भण्डार हुन्छ। यसैगरी पूजाआजाका लागि गुरूवापछि बरघरको अहं भूमिका हुन्छ। प्रायजसो पूजा सामूहिकरूपमा गरिन्छ। विविध कारणले विखण्डित हुँदै आएको समाजलाई यस प्रकारका आस्थाका धरोहरले एकशुत्रमा जोड्ने काम गर्छ, अनुशासन कायम गर्छ, सभ्य सुसंस्कृत समाजको निर्माण गर्न मद्दत पुग्छ।
मरूवा, डेउठन्वा डिहवारलगायतका धरोहर कति संख्यामा छ भन्ने एकिन छैन। तर, हरेक थारू वस्तीमा कम्तीमा एउटा डेउठान स्थापना गरिने भएकाले हजारौंको संख्यामा रहेको सहजै अनुमान लगाउन सकिन्छ। पछिल्लो समय केही पालिकाले मरूवा, ठन्वा, डिहवार, ग्रामथान विकासकालागि केही बजेट बिनियोजन गरी मर्मत सम्भार तथा पक्की नयाँ निर्माण गरेको पाइन्छ। तर, अधिकांश मरूवा, ठन्वा, डिहवार उचित संरक्षणको अभावले बेवारिसे र अलपत्रजस्तै देखिन्छन्।
पूजाको समय त्यस क्षेत्रमा सरसफाइ गरिन्छ। अघिपछि बेवारिसेजस्तै हुन्छ। थारू समुदायको अति महत्त्वपूर्ण त्यस्ता धरोहरहरूमा केन्द्र सरकारले पनि खासै ध्यान गएको छैन। हरेकलाई आ-आफ्नो संस्कृति, परम्परा प्यारो लाग्छ। त्यसैले मरूवा ठन्वा बचाउनका लागि राज्यस्तरबाटनै पहल हुन जरूरी छ।
संघीय सरकारबाट संस्कृति र विकासका निमित्त गत आर्थिक वर्षमा ११ अर्ब ९१ करोड बजेट बिनियोजन गरिएको थियो। आगामी आर्थिक वर्ष २०८२/८३ मा संस्कृति मन्त्रायमा संस्कृति र विकासमा १३ अर्ब रकम विनियोजन गरिएको छ। अर्बौं बजेट संस्कृति विकासका नाममा छुट्याउँदा पनि थारू समुदायको आस्थाको धरोहर मरूवा, ठन्वा, डिहवार, ग्रामथान संरक्षण विकासका लाग बजेट बिनियजन गरेको सुनिँदैन।
कतै छुट्ट्याइएको छ भने अत्यन्त न्यून बजेट हुन्छ। आस्थाको धरोहरलाई बचाइ राख्नका लागि राज्यकोषबाट खर्च हुन जरूरी छ। कहाँ-कहाँ कति कति खर्च हुँदोरहेछ? सबैले आ-आफ्नो स्थानबाट खोजी गर्ने बेला आएको छ।
सही विश्लेषण