नाउपाले समर्थन फिर्ता लिएकोबारे प्रधानमन्त्री ओली भन्छन्- मलाई थाहा छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिनेबारे प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा बैठकबाट सोमबार बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले कसैले अविश्वास नगरेकाले विश्वासको मत लिन नहुने बताएका हुन् । विश्वासको मत कहिले लिने तयारी छ भनी पत्रकारले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘कसले अविश्वास गरेको छ र विश्वासको मत चाहियो ?’

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएको छ नि भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘कहिले ?’ नागरिक उन्मुक्ति पार्टी विपक्षीको बेन्चमा बसेको छ नि ? भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘मैले हेरिनँ नि !’

सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानको धारा १०० (२) मा ‘सरकारको नेतृत्व गरेको राजनीतिक दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने’ प्रावधान छ।

नागरिक उन्मुक्ति पार्टीले आइतबार नै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको भनी सभामुख देवराज घिमिरेलाई पत्र बुझाएको थियो। सोमबारको बैठकदेखि उक्त पार्टी विपक्षीको बेन्चमा बसिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *