थरूहट आन्दोलनदेखि नक्कली अपराधीसम्म

२०६५ चैत १ गते त्रिपुरेश्वरको एक होटलमा नेपाल सरकारका वार्ता टोली र थरूहट आन्दोलनकारीबीच वार्ताको तयारी हुँदै थियो। एउटा छोटो कद, कालो चश्मा लगाएको मान्छे सानो भ्यानबाट क्यामरा मिलाउँदै बाहिर निस्क्यो, ‘खै थारू नेतन कहोर कहोर बाट? का का हुइटा अन्तर्वार्ता लेह परल’ भन्दै त्यो मान्छे थरूहट आन्दोलनकारी र नेपाल सरकारबीच हुने वार्ता हलतर्फ लागे। तर, वार्ता टोली अझ आइपुगेका थिएनन्। पछि त्यो मान्छे बाहिर आएर हामीसँगै एकछिन गफगाफ गरे।

चितवन र दाङ जिल्लामा दुई-दुई जना गरी ४ वटा थरूहट आन्दोलनकारीले ज्यान गुमाइसकेका थिए। साथीहरूको मृत्युको खबरले हामी आन्दोलनकारीको मनभित्र विद्रोहका ज्वालाहरू दन्किरहेका बेला त्यो मान्छेको मिठास बोली र आफ्ना गीत-संगीत र फिल्मी कहानीले एकछिन भए पनि साथीहरूले ज्यान गुमाएको पीडा बिर्सिँदै उनको कुरामा लठ्ठ भए। पछि त्यो मान्छे कहीँ कतै थरूहट आन्दोलनमा देखिएन, न कुनै अधिकारिक समितिमा देखिए।

७ वर्षपछि २०७२ साल भदौ ७ गते जब टीकापुर घटना घट्यो,  एउटा कालो ज्याकेट लगाएको फोटो सोसल मिडियामा खुब भाइरल भएको थियो। नश्लीय मिडियाहरूले थरूहटको नाइके, त्यो घटनाको योजनाकार भनेर लेख्दै बोल्दै थिए, कुनै-कुनै मिडियाले आतंककारी भनेर लेख्न भ्याए। त्यो ब्यक्ति कोही नभएर त्यही पत्रकार जसले हामीलाई कमैया फिल्मको कथा सुनाउने रेशम चौधरी थिए।

सार्वजनिक सेवालाई समावेशी बनाउन केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश माओवादी नेतृत्व नेपाल सरकारले २०६५ साल माघ २१ गते जारी गरी, अध्यादेशअनुसार सर्वजनिक सेवामा समानुपातिक र समावेशी आधारमा आरक्षण दिन मधेसी समूहको सूचीकरणमा ९२ जातजाति र तराईका आदिवासी भूमिपुत्र थारूलगायत २१ वटा आदिवासी जनजाति र मुस्लिम समुदायहरूलाई सुनियोजितरूपमा मधेसीकरण गरेपश्चात थरूहट संयुक्त संघर्ष समिति २०६५ साल फागुन १६ गते पत्रकार सम्मेलन गरेर फागुन १८ गते साँझ तराईको सम्पूर्ण जिल्ला र काठमाडौं उपत्यकाको भब्य मसाल जुलुसले ताप र राप दिएपछि फागुन १९ गतेदेखि निरन्तर चैत १ गतेसम्म थरूहट तातीरह्यो।

पहिचानको जगमा निर्माण भएको नेपालको संघीय गणतान्त्रिक प्रचण्ड सरकारले थारूहरूलाई मधेसीकरण बनाउने निर्णय गरिसक्दासमेत माओवादी, एमाले, कांग्रेस, राप्रपा, तमलोपा विभिन्न पार्टीमा थारूको भोटबाट संविधानसभामा प्रतिनिधित्व गरिराखेका थारू सभासदहरूले त्यसविरुद्ध एक शब्द बोल्न सकेनन्। आफ्नो ज्यानका बाजी राखी थरूहट आन्दोलनको नेतृत्व गरिरहेका लक्ष्मण थारू, गोपाल दहित, भानुराम थारू, योगेन्द्र थारू, डिल्ली थारू, रुक्मिनी थारू, गंगा थारू, मीनराज थारू, सीएन थारू, ललित थारू केन्द्रीय नेतृत्व हाकिरहेका बेला थाकस जिल्ला शाखाले सहयोग गरे पनि केन्द्रीय समिति भने थरूहट संयुक्त संघर्ष समितिमा आउन सकेको थिएन। त्यसको मुख्य कमजोर भूमिका त्यतिबेलाका थाकसका महामन्त्री राजकुमार लेखीको थियो।

हामी मधेसी होइनौं, हामी तराईको भूमिपुत्र थारू हौं
‘एक मधेस एक प्रदेश’ मान्दैनौं थरूहट प्रदेश छाड्दैनौं। मूल मकसत बोकेर आफ्नो विशुद्ध पहिचान रक्षाका लागि गरिएको आन्दोलन यति सशक्त भयो कि गाउँ-गाउँबाट जनता उठे, जागे। उनीहरूको एउटै उद्देश्य थियो कि कसैको पहिचान अस्तित्व मेटाउन पाइँदैन। आफ्नो अधिकारक लागि ज्यान गुमाएका भूमिपुत्र थारूसँग अनन्त: सरकार झुक्यो।

आन्दोलन थेग्न नसकेर २०६५ साल चैत १ गते राति थरूहट आन्दोलनकारीसँग ६ बुँदे सहमति गर्‍यो। नेपालमा तराई छ, तराईमा आदिवासी थारू आदिम कालदेखि छन् भन्ने नेपाल सरकारले सहमति त गर्‍यो तर कार्यान्वयन कहिल्यै गरेन। थरूहट आन्दोलनकारीमाथि छ्लकपट धोका भएपछि हामी फेरि १२ दिने आमहडताल गर्‍यो तर दुर्भाग्य यसैबीच कटवाल प्रकरणमा प्रचण्ड सरकार ढल्यो।

पहिलो संविधानसभाले संविधान दिन सकेन
थरूहट संयुक्त संघर्ष समितिसँग गरेको सहमति नेपाल सरकारले कार्यान्वयन गर्न सकेन। सरकारले आन्दोलनकारीको मुद्दा सुनुवाइ गर्न नसकेपछि थारूहरू एकजुट भइ अब थारूहरूको नेतृत्वमा पार्टी खोल्नुपर्छ भनेर २०६६ साल असार महिनामा राष्ट्रिय भेला सम्पन्न गरे। त्यतिबेला ‘वीरगञ्ज घोषणा पत्र सन् २००९’ जारी गरिएको थियो। यस भेलामा थारू समुदायका अधिकार र थरूहट प्रदेशको मागलाई प्रमुख विषय बनाइयो। त्यो राष्ट्रिय भेलादेखि फेरि थारूहरूसँग राज्य र शासकहरू त्रसित भए।

त्यसपछि थारूहरूलाई कसरी रोक्ने, फुटाउने, फसाउने खेलमा प्रमुख पार्टीका शीर्ष नेताहरू लागिरहे। आधा थरूहट नेताहरूलाई मानसिकरूपमा घाइते बनाए पनि २०६८ साउन २७ गते थरूहट तराई पार्टी नेपालको घोषणा नेपालगञ्जको कभर्ड हलमा गरियो। २०७० सालको मंसिरमा हुने चुनावको तयारीसँगै संगठन बिस्तारमा लागिरहेका बेला थरूहट तराई पार्टी नेपालका संस्थापक अध्यक्ष लक्ष्मण थारू र योगेन्द्र थारूले पार्टी छोडी विजयकुमार गच्छदारको पार्टीमा प्रवेश गरे। यो थारू समुदायका लागि सबैभन्दा दुर्भाग्य थियो।

पार्टी बचाउन एकदमै गाह्रो थियो, त्यहीबेला भानुराम थारू, डा. गोपाल दहित, मिनराज थारूलगायत नेतृत्वहरूले जबर्जस्त पार्टी सम्हालिरहेका थिए। मधेसीहरूको नेतृत्वमा रहेको सद्भभावना पार्टीमा आबद्ध रहेका रेशम चौधरीलाई थारूहरूको नेतृत्व रहेको थरूहट तराई पार्टी नेपालमा महासचिवको प्रस्ताव गर्दा पनि उनी पत्याएनन्। उनी त्यतिबेला थरूहट आन्दोलनमा गुमनाम थिए, थरूहटको नेताभन्दा मधेसी नेताहरूसँग नजिक थिए, तिनीहरूकै पार्टीबाट दुई-तीन सय भोट आए पनि चुनाव लड्थे।

२०७० सालको चुनावमा थरूहट तराई पार्टी नेपाललाई थारूहरूले न्याय गर्न सकेनन्। समानुपातिकतर्फ ६२५२६ र प्रत्यक्षतर्फ ३८९७२ जम्मा भोट दिए। समानुपातिकबाट दुईवटा सांसदबाहेक प्रत्यक्ष कहीँ जिताउन नसकेको २० लाख आफूलाई दाबी गर्ने थारूहरूले थरूहट आन्दोलनको जगबाट थारूकै अधिकारका लागि खोलिएको पार्टीलाई विश्वास गर्न सक्दैनन् भने पार्टी कसरी बचाउन सकिन्छ, यसको दोष कहीँ कतै हाम्रै समुदायको पनि छ।

संविधान सभामा थरूहटका लागि लडिरहेका दुई जना सांसद गोपाल दहित र गंगा चौधरी राम्रै भूमिका खेलिरहेका अवस्थामा पछि माननीय गंगा चौधरीलाई फुटाएर बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीमा प्रवेश गराए। जसले गर्दा यो पार्टीको अवस्था एकदमै दयनीय भयो। पछि थरूहट तराई पार्टी नेपाललगायत ७ वटा पार्टी विजय गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बनाए, यो पार्टी चुनाव नलडी अन्तिममा काङ्ग्रेससँग एकीकरण गराए।

थारू समुदाय थारू नेतृत्वबाट पटक-पटक धोका पाएका छन्। आज ५ जना थरूहट सहिदहरूको बलिदानीबाट राजनीति गरिरहेका नयाँ पुराना थारू नेताहरू कहिल्यै त्यो सहिदलाई सम्झिँदैनन्। सहिद परिवारको हालखबर टाढाको कुरो हो, कतिपय थारू नेतालाई ती सहिदको नामसमेत याद छैन होला।

थरूहट तराई पार्टी नेपाल विलीन भए पनि, पुराना नेतृत्वहरू गुमनाम भए पनि मुद्दाहरू जीवित थियो। थारू समुदायहरूप्रति राज्यको विभेद, अन्याय, अत्याचार दिन प्रतिदिन बढ्दै थियो। तैपनि थारूहरूले हार मानेका थिएनन्। संविधान बन्ने प्रक्रियामा थियो। सबै समुदायले आफ्नो अधिकार सुनिश्चित गराउन खोज्दै थिए। थारूहरू पनि आफ्नो अधिकार खोज्दै आन्दोलनरत्त थिए। तर, दुर्भाग्यवस टीकापुरमा २०७२ भदौ ७ गते घटना घट्यो। यसले नेपालको राजनीतिलाई नै उथलपुथल बनाइदियो।

थरूहट संयुक्त संघर्ष समितिलाई परिमार्जित गरी थरूहट-थारूवान संयुक्त संघर्ष समिति बनाएर माओवादीलगायत काङ्ग्रेस र अरु दलका थारू सांसद र नेताहरूलाई जोडिएर गरिएको आन्दोलन जब टीकापुर घटना घट्यो, सबै अधिकारिक नेतृत्वहरू गुमनाम भए। कोही घटनाको जिम्मा लिन मानेन, त्यसपछि राज्य एउटा नक्कली अपराधी खडा गर्‍यो। एउटा निर्दोष ब्यक्तिलाई थरूहटको नाइके, योजनाकार, आतंककारी भनेर घटनाको पूरै बिल्ला भिराइदिए। सरकारले झुठो मुद्दा  लगाएर रेशम चौधरी, लक्ष्मण थारूलगायत धेरै थारू नेताहरूलाई जेल कोच्यो। राज्यले थारूलाई धेरै दुःख दियो।

टीकापुर राजबन्दीहरूलाई शारीरिक, मानसिक यातना धेरै दियो। यसले पूरै थारू समुदायलाई रुष्ट बनाएको थियो। गाउँ-गाउँबाट मात्र होइन, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा राज्यले थारूप्रति गरेको अन्यायको बारेमा विरोध हुन थाल्यो। राज्यको दमनबाट जनताको सहानुभूति बटुलिरहेका रेशम चौधरी भूमिगतबाटै चुनाव लडेर बहुमत भोटले चुनाव जिते। तर, राज्यका शासकहरूले संविधानसभा छिर्न दिएनन्, उल्टै डिल्लीबजार लगेर जेल कोचे। त्यही जेलबाट राज्यले दिएको यातनाविरुद्ध योजना बनाउँदै उनले नागरिक उन्मुक्ति पार्टी स्थापना गरे। यो पार्टी थरूहट तराई पार्टी नेपालकै दोस्रो रुप हो, चुनाव चिन्ह पनि ढकिया नै रोजे।

यसपटक थारूहरूले सकेसम्म नागरिक उन्मुक्ति पार्टीलाई न्याय गरे। पछिल्लो क्रममा जति पनि थरूहट नेताले संघर्ष र बलिदानी गरेका थिए, त्यसको सम्पूर्ण फाइदा रेशम चौधरीले उठाए, जुन उनको भाग्य थियो। चुनावअघि स्थापना भएको नागरिक उनमुक्ति पार्टी थरूहट आन्दोलनको जगबलमा स्थापित भयो। नपत्याउँदो तरिकाले उदीयमान भइरहेको रेशमको पार्टी देखेर फेरि ठूला दलका नेताहरू झस्किए।

रेशम चौधरीलाई जेल कोच्नु भनेको आफ्नै लागि खाल्टो खन्नु हो भनेर राम्ररी बुझेका ती नेताहरू आममाफी दिलाएर रेशमलाई जेलबाट निकाले। यो नै रेशम चौधरीको सबैभन्दा दुर्भाग्य सम्झौता थियो। यहीँबाट रेशम ती शासकहरूको घेरामा परिसकेका थिए। जब एउटा बिद्रोही, एउटा क्रान्तिकारी सत्ता र स्वार्थको लालचमा बिक्छ, तब उसको पतनका बाटोहरू फराकिलो हुँदै जान्छ। आखिर त्यही भयो।

जेलभित्र हुँदा रातदिन सहयोग गर्ने साथीभाइ संघसंस्थालाई बिर्सिएर उनलाई जसले अपराधी बनायो उनीहरूसँग हात मिलाए, मुद्दाभन्दा सत्ताको वरिपरि घुम्न थाले। रेशम चौधरी थारू समुदायको विश्वासको रूपमा हेरिरहेका राज्यबाट पीडित नेता थिए। उनीहरूबाट थारू समुदाय ठूलो आशा राखेको थियो, तर विश्वास जोगाउन सकेनन्। उनको आफ्नै दम्भ र घमण्डले आफैँलाई कमजोर बनाइदियो। यो आत्मसमीक्षा रेशम आफैंले गर्नुपर्छ।

परिवारवाद र पुँजीवादीको बिल्ला भिरेर भौगोलिक सांस्कृतिक पहिचानसहितको थरूहट आन्दोलनको भ्रम छरेर यो देशका उही सामन्ती नेताहरूसँग कन्धा मिलाइसकेकाले अब उनीबाट कुनै किसिमको थारूहरूको मुक्तिको बाटो खुल्नेवाला छैन।

लेखक थरूहट-थारूवान राष्ट्रिय युवाशक्तिका अध्यक्ष हुन्।




12 thoughts on “थरूहट आन्दोलनदेखि नक्कली अपराधीसम्म

  1. सरल,सटीक,निष्पक्ष र विस्तृत विवेचना गर्नुभएकोछ भाई तपाईँ लाई धन्यवाद 🙏 मेरो जहिले नि सोंच रहेको छ कि जातीयता को राजनीति उचित हुँदैन र नेतृत्व मा जाने व्यक्ति यसलाई पेट पाल्ने माध्यम बनाउनु हुँदैन तर तपाईँ को यो ले लेखले मेरो चेतनालाई घोंचेको छ म भित्र को “थारुलाई ब्यूँझाएको छ साथै मेरो जातीयता संबंधी सोंचलाई Back gear लगाउन बाध्य बनाएको छ। तपाईँ लाई पुनः धन्यवाद छ मेरो भाई 🙏

  2. सरल,सटीक,निष्पक्ष र विस्तृत विवेचना गर्नुभएको छ भाई तपाईँ लाई धन्यवाद 🙏 मेरो जहिले नि सोंच रहेको छ कि जातीयता को राजनीति उचित हुँदैन र नेतृत्व मा जाने व्यक्तिले यसलाई पेट पाल्ने माध्यम बनाउनु हुँदैन,थारुहरुको पछौटेपन, अशिक्षा र गरीबी कालान्तरमा शिक्षा, जागरुकता मात्र नभएर सरकारी आंशिक थारु-कोटाको समेत ले नै पार लगाउने छ तथापि तपाईँ को यो लेखले मेरो चेतनालाई घोंचेको छ म भित्र को “थारुलाई ब्यूँझाएको छ साथै मेरो जातीयता संबंधी सोंचलाई Back gear लगाउन बाध्य बनाएको छ। तपाईँ लाई पुनः धन्यवाद छ मेरो भाई 🙏

  3. जति सुकै चिल्ला गफ र दम्ब दिए पनि नेपालमा लडाउ र फुटाउको राजनितिबाट हामी थारु कैहिल्य अलग हुन सकेनौ । कहिले काँग्रसको नाममा, कहिले एमालेको नाममा, कहिले माउबादीको नाममा त कहिल फोरमको नाम । देशका नाश्लिय, पूजिँबाद, शोषक सामन्ति चिन्तन बोकेको शासकले पटक पटक मोहर भजाउँदै थारु माथी दामन, आत्याचार र शोषण गर्दै आए र भविष्यमा पनि उहि हविगत हुदै जाने हो, किन कि हामी थारुहरु स्वार्थ, कुर्सिका लागी विकि सकेको छौ । अखिर कहिल्यै सम्म….. चिल्ला गफको पछाडि लाग्ने हो । तन मन बचन बेचि सकेको विकुवा थारु जहिले नी पार्टिको झोले मात्र हुने हो भने…….अस्तित्व हराउँछ , कमैयाको कमैया…..त्यसकारण थारु माग मुद्धालाई स्विकार गर्दै सहिदको सम्मान गर्दै ना.उ.पा. आगाडी बढनु पर्छ, परिवारबादबाट माथी उडनु पर्छ …. सम्पूर्ण थारु सजग सचेत र आगाडी बढ्नु पर्छ ….. धन्यबाद थारुहत योद्धा सीताराम सर । सुतेको मन मष्स्तिक बुँभmाएकोमा….आगमी दिनमा पनि यस्तै उर्जावान लेख रचना आउने आसमा…….

  4. जातिय हक अधिकार, जातिय उत्थान लाई पार्टिकरण गर्नुनै सबै भन्दा ठुलो गल्ती हो । जातिय उत्थान र अधिकार जस्ता चिजहरुलाई पार्टी भन्दा परै राखेको खण्डमा मत्रै सम्भव हुन सक्छ । यस्ता थुप्रै उदाहरण हरु छन जो आफ्नो जातिको अधिकार को लागि बोलेका तर कुनै राजनितिक दलमा आबद्द भएकै कारण सो राजनितिक पार्टी कै अगुवाहरुले माफी मगाएका कारण किन जातिय कुरा उठाएको भनेर । यस्तो किसिमको परिपाती चल्दै गएको खण्डमा थारुहरुको अस्तित्व यो भन्डा पनि बेसि खराब न होला भन्न सकिन्न । रेशम जि को त कुरै छोडौ उहाँलाई मैले ब्यक्तिगत रुपमा २०५६ साल देखि चिन्दछु । उहाँले पहिचानबादी मुद्धा उठाए पनि उहाँम स्वर्थिपन र लालचपन छ ।
    जे भए पनि यो लेखले सत्यता बोकेको छ ।

  5. धन्यवाद सर । यथार्थपरक विश्लेषण को लागि । जे भए पनि रेशम चौधरीले आम माफी लिनुपर्ने थिएन भन्ने मेरो पनि भनाई हो ।

  6. यथार्थ, म पनि कुनैबेला सक्रिय पुर्बक लागेको थिए यो लेखमा उल्लेख गरेबमोजिम नेतृत्वले पटक पटक धोका दिए बिश्वास उठ्यो
    पछिल्लो उपज रेशम चौधरी हुन् तत् तत् उल्लेखित सबैले आत्मासमिक्षा गरेर उत्पीडित को न्याय हकाधिकारको लागि गोलबद्ध हुन जरुरि छ.

Leave a Reply to Ramdhani Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *