दिल्ली कार विस्फोटमा ‘अमोनियम नाइट्रेट’ प्रयोग भएको खुलासा, तीन जना पक्राउ

भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ कार बम विस्फोट भयो। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

हुन्डाई आइ२० कारमा साँझ ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको बताइएको छ। विस्फोटको तीव्रताले आसपासका सवारीसाधन र संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, विस्फोटमा अमोनियम नाइट्रेट प्रयोग गरिएको पाइएको छ।

कार प्रारम्भमा हरियाणाको गुरुग्राममा HR26 नम्बरमा दर्ता गरिएको थियो। जसका पहिलो मालिक मोहम्मद सलमान थिए। उक्त कार सातपटक किनबेच हुँदै अन्ततः डा. उमर नबी नामका व्यक्तिसम्म पुगेको बताइएको छ, जसले यस हमला सञ्चालन गरेको आशंका गरिएको छ। डा. मोहम्मद उमर कश्मीरका चिकित्सक हुन्, जो आतंकवादी संगठन जैश-ए-मोहम्मद सँग सम्बन्धित रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

घटनाकै दिन जम्मू-कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीको संयुक्त कारबाहीमा हरियाणाको फरीदाबादस्थित आवासीय क्षेत्रमा करिब २,९०० केजी विस्फोटक पदार्थ (शंकास्पद अमोनियम नाइट्रेट), ए-के ४७ र अन्य हतियार बरामद गरिएको छ। बरामद सामाग्रीमा ३६० केजी अमोनियम नाइट्रेट, ए-के ४७ र बेरेट्टा पिस्तोलहरू पनि समावेश थिए। यो बरामदगी उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ।

डा. आदिल कश्मीरका बासिन्दा हुन् र सहारनपुरमा चिकित्सकको रूपमा कार्यरत थिए। उनको बयानपछि ठूलो आतंकवादी सञ्जाल खुलासा भएको छ। यसै क्रममा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई पनि पक्राउ गरिएको छ। डा. शाहीनलाई जैश-ए-मोहम्मद को महिला विंगकी भारत प्रमुख नियुक्त गरिएको आशंका गरिएको छ।

दिल्ली प्रहरीले यो घटनालाई आतंकवादी हमला मानेको छ र गैरकानुनी क्रियाकलाप (प्रतिबन्ध) ऐन – UAPA अन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) र दिल्ली प्रहरीको विशेष शाखा ले संयुक्त रूपमा गरिरहेका छन्।

फरेन्सिक प्रमाण र प्रारम्भिक विवरणहरूले यो विस्फोट संगठित आतंकवादी समूहद्वारा नियोजित भएको पुष्टि गरेका छन्। भारतमा विगतमा मुम्बई २६/११ हमला, पुलवामा २०१९ र हालैको पहलगाम २०२५ हमलाजस्ता घटनाबाट निरन्तर आतंकवादविरुद्धको अग्रपंक्तिमा रहेको छ। यस घटनाले फेरि एकपटक देखाएको छ कि आतंकवादको शारीरिक उपस्थिति घटे पनि यसको वैचारिक र आर्थिक जाल अझै मजबुत छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *