पहलगाम आक्रमण: पाकिस्तान समर्थित आतंकवादको पर्दाफास

जम्मू-कश्मीरको शान्ति, स्थिरता र विकासतर्फ उन्मुख यात्रामाथि पुनः रक्तरञ्जित धब्बा लागेको छ। २६ जना निर्दोष पर्यटकहरूलाई उनीहरूको धर्मका आधारमा अलग्गै छुट्याएर गरिएको निर्दयी हत्या केवल एक आतङ्ककारी घटना मात्र होइन, यो योजनाबद्ध घृणा, संगठित हिंसा र सीमापार आतंकवादको भयावह नमुना हो। यस क्रूरताको पछाडि पाकिस्तान समर्थित आतङ्ककारी समूह द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) को संलग्नता प्रस्ट रूपमा देखिएको छ, जुन कुख्यात लश्कर-ए-तैयबा (एलइटी) को शाखा हो र अमेरिकाद्वारा विदेशी आतंकवादी संगठन (एफटीओ) का रूपमा सूचीकृत छ।

यो आक्रमण त्यतिबेला भयो, जब जम्मू-कश्मीरले सफल निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वतर्फ कदम चालेको थियो र आर्थिक विकास तथा पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति देखाइरहेको थियो। यस्ता सकारात्मक परिवर्तनहरूलाई कमजोर पार्न र भयको वातावरण सिर्जना गर्न लक्षित रूपमा यो नरसंहार गरिएको देखिन्छ।

जुलाई २८, २०२५ मा श्रीनगर नजिकैको पहलगाम क्षेत्रमा भएको उक्त आक्रमणमा संलग्न तीन पाकिस्तानी आतङ्ककारीहरूलाई सुरक्षा बलले पछि मारेसँगै घटनाको वास्तविकता अझ स्पष्ट भयो। उनीहरूमध्ये एक हबिब ताहिर, पाकिस्तान-अधिकृत कश्मीरको खैगाला नजिकको कोइयान गाउँका बासिन्दा थिए भने अर्का बिलाल अफजल पनि पाकिस्तानसँग प्रत्यक्ष सम्बन्धित थिए। यी पहिचानहरूले आक्रमणमा पाकिस्तानको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको प्रमाणलाई थप बलियो बनाएका छन्।

भारतविरुद्ध “गैर-राज्य अभिनेता” प्रयोग गर्ने पाकिस्तानको पुरानो रणनीति अझै पनि जारी छ। तर समयसँगै यसको स्वरूप झन् जटिल र प्रविधिमैत्री बन्दै गएको छ। आतङ्ककारी कोष अब परम्परागत माध्यमबाट मात्र होइन, डिजिटल वालेट र क्रिप्टोकरेन्सीमार्फत एन्क्रिप्टेड कारोबारमा सरेको देखिन्छ। यसले आतङ्कवादलाई पहिचान र नियन्त्रण गर्न अझ कठिन बनाएको छ।

त्यसैगरी, पाकिस्तानभित्र सक्रिय आतङ्ककारी संगठनहरू पुनः मुख्यधारामा फर्कँदै गएको संकेतहरू पनि देखिएका छन्। जैश-ए-मोहम्मद ले आफ्नो भर्ती अभियान विस्तार गर्दै “जमात-उल-मोमिनत” नामक महिला शाखा स्थापना गरेको छ भने लश्कर-ए-तैयबा ले तालिम प्रणालीलाई परिष्कृत गर्दै “वाटर विंग” जस्तो नयाँ संरचना विकास गरेको छ, जसले समुद्री क्षमतामा समेत ध्यान केन्द्रित गरेको देखिन्छ। यसका साथै, घृणात्मक भाषण, प्रशिक्षण शिविर र भारतविरुद्ध लक्षित गतिविधिहरू निरन्तर सञ्चालनमा छन्।

अन्तर्राष्ट्रिय स्तरमा पनि पाकिस्तानसँग सम्बन्धित आतङ्कवादी गतिविधिहरू उजागर भइरहेका छन्। अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को मार्च २५, २०२६ को प्रतिवेदनले पाकिस्तानलाई लामो समयदेखि सक्रिय आतङ्ककारी समूहहरूको सुरक्षित आधारस्थलका रूपमा स्पष्ट रूपमा चिनाएको छ। विश्वव्यापी आतङ्कवाद सूचकांक २०२६ मा पनि पाकिस्तान शीर्ष स्थानमा रहनुले यसको गम्भीरता झन् उजागर गर्छ।

हालैका घटनाहरूले यस प्रवृत्तिलाई थप पुष्टि गरेका छन्। पाकिस्तानी नागरिक आसिफ मर्चेन्ट (४७) लाई अमेरिकी राजनीतिज्ञहरूको हत्या गर्ने षड्यन्त्रमा दोषी ठहर गरिएको छ। त्यस्तै, मुहम्मद शाहजेब खान (२१) ले न्यूयोर्कस्थित एक यहूदी केन्द्रमा आइएसआईएस प्रेरित आक्रमणको प्रयास गरेको आरोप स्वीकार गरेका छन्। दक्षिण कोरियामा पनि लश्कर-ए-तैयबासँग सम्बन्धित एक पाकिस्तानी नागरिक पक्राउ परेका थिए।

यी सबै घटनाहरूले एउटै तथ्यलाई उजागर गर्छन्, पाकिस्तानले आतङ्कवादलाई केवल क्षेत्रीय रणनीतिका रूपमा मात्र होइन, विश्वव्यापी प्रभाव विस्तारको साधनका रूपमा प्रयोग गरिरहेको छ। यसले दक्षिण एसियामा मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायमा अस्थिरता, भय र असुरक्षा फैलाइरहेको छ।

पहलगाम नरसंहार केवल एक घटनामात्र होइन; यो विश्वलाई चेतावनी हो, यदि आतंकवादको जरा उखेलेर नफालिने हो भने, यसको विषालु प्रभाव सीमाभन्दा धेरै परसम्म फैलिन सक्छ। अब समय आएको छ, जब अन्तर्राष्ट्रिय समुदायले यस्तो राज्य, प्रायोजित आतङ्कवादविरुद्ध एकीकृत, दृढ र प्रभावकारी कदम चाल्नुपर्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *