रवि लामिछानेको आलेख : आकांक्षी नेपाल र उदाउँदो भारतबीच साझेदारीको नयाँ सम्भावना

रवि लामिछाने

कुनै गैरदलीय पेशाकर्मी र राजनीतिक रूपमा नयाँ अनुहारहरूले स्थापना गरेको राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा झण्डै दुईतिहाइ संसदीय समर्थन हासिल गर्नु र विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित गराउनु राजनीतिक इतिहासमा सामान्य घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषयमा विश्व समुदायको चासो स्वाभाविक छ। एक हजार माइलभन्दा लामो खुला सीमा साझा गर्ने छिमेकी भारतका लागि यो चासो अझ स्वाभाविक हो।

नेपालको यो रूपान्तरणको कथा सडक हिंसा, सैनिक ‘कू’, विदेशी हस्तक्षेप वा संवैधानिक शून्यताबाट लेखिएको होइन। बरु यो शान्तिपूर्ण र लोकतान्त्रिक “मतपेटिका क्रान्ति” हो। विश्वका धेरै समाज ध्रुवीकरण, राज्यप्रतिको अविश्वास र भ्रष्ट राजनीतिबाट ग्रस्त भइरहेका बेला तथा गैरलोकतान्त्रिक विकल्पतर्फ आकर्षित भइरहेका बेला नेपालले लोकतन्त्र अझै पनि बहुलवादी समाजमा परिवर्तनको प्रभावकारी माध्यम हुनसक्ने प्रमाणित गरेको छ।

आजको नेपाल अनिश्चित भविष्यतर्फ होइन, समृद्ध र जीवन्त लोकतन्त्रको आकांक्षी यात्रातर्फ अघि बढिरहेको छ। हाम्रो मूल सिद्धान्त स्पष्ट छ—कडा सुशासन, जनताप्रति प्रत्यक्ष जवाफदेहिता र विकासमार्फत परिवर्तन।

नयाँ राजनीतिक यथार्थ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक यथार्थ हो। यसले जर्जर र जकडिएको राजनीतिक संरचनालाई चुनौती दिँदै युवापुस्तालाई परिणाममुखी राजनीतिमा आकर्षित गरेको छ। रास्वपाले प्राप्त गरेको मत केवल आक्रोशको अभिव्यक्ति मात्र होइन, परिवर्तनप्रतिको आशा पनि हो। यही कारण युवाशक्ति, समावेशी सोच र निष्कलंक छवि भएका व्यक्तिहरू जनमतबाट निर्वाचित हुन सके।

हामीसँग विदेश नीतिलाई नयाँ ढंगले अघि बढाउने सबैभन्दा ठूलो पूँजी छ, विगतको राजनीतिक बोझ छैन। पुराना वैमनस्यताले हामीलाई बाँधेको छैन। हामी सन्धि–सम्झौता र जनस्तरको सम्बन्धलाई सम्मान गर्छौं, तर अघिल्ला नेताहरूका अनौपचारिक समझदारी वा साना स्वार्थबाट मुक्त छौं। भारत र विश्वलाई हामी खुला हृदय, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डाका साथ हेर्छौं, नेपालको आर्थिक रूपान्तरण।

नेपाल र भारत केवल दुई देश होइनन्, हामी साझा सभ्यताका उत्तराधिकारी हौं। रामको कथा जनकपुर र अयोध्याको सम्बन्धबिना पूर्ण हुँदैन। पशुपतिनाथ र केदारनाथको सम्बन्धले आस्थालाई पूर्णता दिन्छ। लुम्बिनी र बोधगयालाई जोडेर मात्र महान् सभ्यताको आधारभूत सम्बन्धलाई साकार गर्न सकिन्छ।

तर हामी आत्मसन्तुष्ट हुन सक्दैनौं। सम्बन्धले अहिलेसम्म के हासिल गर्‍यो भन्नेमा मात्र सीमित नभई, के हासिल गर्न सक्थ्यो र अब के बन्न सक्छ भन्ने प्रश्नमा नयाँ सुरुआत गर्न चाहन्छौं।

सीमा मात्र होइन, अर्थतन्त्र जोड्ने समय

सीमापार हेर्दा हामी एउटा यस्तो भारत देख्छौं जसले पछिल्ला दशकमा आफूलाई उल्लेखनीय रूपमा रूपान्तरण गरेको छ। पुराना प्रशासनिक बन्धन तोड्दै भारत विश्वकै तीव्र गतिमा बढ्ने र ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। यो उपलब्धिको हामी सम्मान गर्छौं र विकासको साझेदार बन्न चाहन्छौं।

भारत प्रतिदिन झण्डै १५ किलोमिटर रेलमार्ग विस्तार गरिरहेको छ भने प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्ग १५० किलोमिटरभन्दा कम दूरीको मात्र छ। त्यो रेलमार्ग जोडिने दिनले व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। नेपाल केवल सीमा जोड्न चाहँदैन, त्यो रेलमार्गले सम्पूर्ण अर्थतन्त्रलाई गति दिन सकोस् भन्ने चाहना राख्छ।

हामी केवल नयाँ दिल्लीतर्फ मात्र हेर्दैनौं, भारतका विभिन्न राज्यहरूले गरेको विकासलाई पनि नियालिरहेका छौं।

भारतको उड्डयन क्षेत्रमा आएको परिवर्तन प्रेरणादायी छ। पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुका लागि सिधा उडान किन नहोस्? आन्ध्र प्रदेश र तेलंगानाले सूचना प्रविधिमा बनाएको सफल वातावरणबाट सिक्दै काठमाडौं–बेंगलुरु डिजिटल करिडोर किन निर्माण गर्न सकिँदैन? गुजरातको औद्योगिक पूर्वाधारले नेपाल–भारत सीमामा रासायनिक मल उद्योग स्थापना गर्न प्रेरणा दिन सक्दैन र?

हामी नेपालमा आईआईटी र एम्सजस्ता प्रतिष्ठित संस्थानहरू स्थापना भएको हेर्न चाहन्छौं। भारतीय आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयहरूलाई हामी भन्छौं, नेपाललाई नवप्रवर्तनको साझेदार बनाउनुहोस्। नवप्रवर्तन प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन केन्द्र र प्रविधि हब स्थापना गर्नुहोस्।

नेपालसँग प्रतिभाशाली युवाशक्ति, स्वच्छ ऊर्जा र बढ्दो डिजिटल प्रणाली छ। भारतको परिपक्व प्रविधि वातावरणबाट केही सहयोग प्राप्त भए नेपालले ठूलो छलाङ मार्न सक्छ। डिजिटल भुक्तानी, फिनटेक र सीमापार प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिन्छ।

विकास कूटनीतितर्फको मोड

रास्वपा नेपाल-भारत सम्बन्धलाई भूराजनीतिक विवादको भाषाबाट निकालेर विकास कूटनीतिको आधारमा अघि बढाउन चाहन्छ। हाम्रो लक्ष्य कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीका केन्द्रमा रूपान्तरण गर्नु हो। हामी यस्तो सम्बन्ध चाहन्छौं जसको प्रत्यक्ष लाभ दुवै देशका नागरिकको दैनिक जीवनमा देखियोस्।

नेपालको जलविद्युत् सम्भावना अब केवल घरेलु सम्पत्ति मात्र होइन, भारतको औद्योगिक विकासलाई ऊर्जा प्रदान गर्न सक्ने स्वच्छ स्रोत हो। त्यसैले खण्डित सीमापार व्यापारभन्दा एकीकृत ऊर्जा बजार निर्माण आवश्यक छ।

टमाटरको मूल्य वा औद्योगिक उपकरणको आवतजावत प्रशासनिक झन्झटले प्रभावित हुनुहुँदैन। आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) र उन्नत पारवहन करिडोरमार्फत सीमालाई अवरोध होइन, पुलमा रूपान्तरण गर्नुपर्छ।

हिमाली शृङ्खलादेखि जनकपुर, लुम्बिनी र बोधगयासम्मको धार्मिक तथा सांस्कृतिक पर्यटन सम्भावना परस्पर निर्भर छ। विश्वभरका पर्यटकलाई प्रशासनिक झन्झटबिना साझा सम्पदा अनुभव गर्न सक्ने पर्यटन सर्किट निर्माण गर्नुपर्छ।

हालै अहमदाबादमा भएको आईपीएल फाइनल हामीले प्रत्यक्ष हेरेका मात्र छैनौं, नेपाली खेलाडी र नेपाली रंगशालालाई पनि आईपीएलको संरचनासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोचिरहेका छौं।

विश्वासको जग बलियो बनाउन आवश्यक

कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायतका थुप्रै क्षेत्रमा सहकार्यको सम्भावना छ। तर यसको आधार भनेको विश्वास हो। मूल मुद्दाहरूलाई थाँती राखेर साँचो मित्रता निर्माण हुँदैन। हजारौं वर्ष पुरानो सभ्यतागत सम्बन्ध भएका छिमेकी राष्ट्रका रूपमा पछिल्ला समयमा उत्पन्न विवादहरू लामो समयसम्म लम्बिनु हुँदैन। ती विवाद ऐतिहासिक तथ्य र पारस्परिक समझदारीका आधारमा समाधान गर्न सकिन्छ।

परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अति-राष्ट्रवादी भाषालाई हामी अस्वीकार गर्छौं। यसको विकल्प तथ्यमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यावहारिक दृष्टिकोण हो। स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाको स्वाभाविक सुरक्षा कवच हो। राजनीतिक रूपमा अस्थिर नेपालले भारतलाई पनि चिन्तित बनाउँछ। त्यसैले नेपालको आर्थिक विकास भारतका लागि समेत रणनीतिक आवश्यकता हो।

ऐतिहासिक अवसर

इतिहासले बारम्बार अवसर दिँदैन, केवल छोटो समयका झ्यालहरू खोलिदिन्छ। सन् २०२६ को यो समय नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा अनुकूल अवसर हो। पछिल्ला ३० वर्षको अस्थिर र भ्रष्ट नेपाल अब इतिहास बनिसकेको छ। आज हामीसँग सचेत युवा मतदाताको बलियो जनादेश छ, जसले राजनीतिक सम्झौता होइन, व्यावसायिक कार्यसम्पादनको भाषा बोल्ने नेतृत्व रोजेको छ। हामी नीति निरन्तरता, पारदर्शिता र इमानदारीको प्रतिबद्धता व्यक्त गर्छौं।

रास्वपा नेतृत्व तयार छ, किनकि नेपाली जनता तयार छन्। विगतका आशंका होइन, साझा भविष्यका असीम सम्भावनामा आधारित साझेदारी निर्माण गरौं।

नेपाल-भारत सम्बन्धलाई पुनः सुदृढ गर्ने क्रममा हामीसँग एउटा महत्वपूर्ण स्मृति छ, ३ अगस्ट २०१४। त्यस दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद् मात्र सम्बोधन गरेनन्, नेपाली जनतासँग प्रत्यक्ष संवाद पनि गरे। उनले नेपाल-भारत सम्बन्ध हिमाल र गंगाजत्तिकै पुरानो रहेको उल्लेख गर्दै सीमाहरू अवरोध होइन, पुल बन्नुपर्ने साझा दृष्टिकोण प्रस्तुत गरेका थिए।

त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको छ। नदीहरूले पहाडसँग सम्झौता गर्दैनन्, आफ्नो बाटो आफैं बनाउँछन्। नेपाल र भारतले पनि त्यही बाटो खोज्नुपर्छ। विश्वास, आत्मीयता र व्यावहारिकताका साथ पुराना मतभेद हटाउँदै नयाँ सम्भावनाको पुल निर्माण गर्ने समय आएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानेको आलेखको अनुवाद।




Leave a Reply

Your email address will not be published. Required fields are marked *